सेयर लगानीकर्ता निराश «

सेयर लगानीकर्ता निराश


अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालेपछि सेयरका लगानीकर्ता निराश देखिन थालेका छन् ।
बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको संकटले ल्याएको लगानीयोग्य रकमको संकुचन र नियामक निकायका नीतिले गर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।
तिहार विदापछि खुलेको बजार यो साताभर लगातार ओरालो लाग्यो । कात्तिक १७ गते २८४८ अंकमा पुगेर बन्द भएको सेयर बजार सूचक (नेप्से) कात्तिक २५ गते बिहिबार २६९० अंकमा झरेको छ । साताभरमा तीन दिनको कारोबारमा बजार एक सय ५८ अंकले घटेको छ ।
कोभिडको महामारी र निषेधाज्ञाको अवधिमा पनि खुल्ला रहेको सेयर बजार आम सर्वसाधारणदेखि उद्योगी व्यवसायीका लागि लगानी गर्ने उपयुक्त ठाउँ बनेको थियो । जसको कारण साउन अन्तिममा नेप्से सूचक ३२ सय अंकमा पुगेर रेकर्ड बनाएको थियो ।
पछिल्लो समयमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकलगायत नियामक निकायले लिएका नीति र देशका आर्थिक सूचकहरु समेत नकारात्मक हुँदा सेयर बजारमा नकारात्मक प्रभाव परिरहेको छ ।
कोभिड महामारीमा राम्रो वित्तीय सूचक नभएका कम्पनीको समेत सेयर मूल्यमा अस्वभाविक चलखेल भएको भन्दै नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको नाम सार्वजनिक ग¥यो । जसका कारण केहि दिन सेयर बजार प्रभावित हुन पुग्यो ।
यसैगरी कोभिड महामारीमा लगानी विस्तार गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरु आफैं सेयर कारोबारमा सक्रिय हुन थालेपछि राष्ट्र बैंकले अल्पकालिन सेयर कारोबारमा कडाइ ग¥यो । यसैगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गर्ने उद्देश्यले एक व्यक्तिले अधिकतम ४ वटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र सेयर धितो कर्जा लिन सक्ने व्यवस्था गरेको छ ।
मौद्रिक नीतिको यो व्यवस्थालाई लगानीकर्ताले राष्ट्र बैंकको सेयर बजारलाई घटाउने नीतिका रुपमा अथ्र्याउँदै आएका छन् । तर, गभर्नर महाप्रसाद अधिकारीले भने सार्वजनिक कार्यक्रममा नै सेयर बजारको सूचक राष्ट्र बैंकको विषय नभएको र आफूहरुले बैंकको ऋण जोखिमको विषय मात्र हेरेको स्पष्टिकरण दिँदै आएका छन् ।
यसैगरी चालु आवको मौद्रिक नीतिले नै बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेपछि बजारमा तरलताको अभाव भई बैंकहरु कर्जा दिन नसक्ने (क्रेडिट क्रन्च) को अवस्थामा पुगेका छन् । जसको प्रभाव पनि सेयर बजारमा परेको लगानीकर्ता बताउँछन् ।
नेपाल बैंकर्स संघका अनुसार पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । कात्तिक १२ गतेसम्म वाणिज्य बैंकहरुमा ४२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिक १७ गते ४२ खर्ब ३८ अर्बमा झरेको छ । निक्षेप घटेपछि एक सातामा वाणिज्य बैंकहरुको ऋण लगानी भने ७ अर्बले बढेर ४० खर्ब २५ अर्ब पुगेको छ । निक्षेप संकलन र कर्जा लगानी वृद्धिको असन्तुलनका कारण पनि बैंकमा तरलता अभाव बढिरहेको छ ।
यसैगरी उच्च व्यापारघाटा र शोधानान्तर घाटा, घट्दो रेमिट्यान्स आय र बढ्दो मूल्यवृद्धिका कारण पनि बैंकको व्याजदर समेत बढ्न थालेको छ । आर्थिक अवस्था र नियामकका नीतिले सेयर बजारमा नकारात्मक प्रभाव परेपनि बजार फेरि पहिल्यैको अवस्थामा फर्किने आशा कायमै रहेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । “नियामक निकायका पछिल्ला नीति, क्रेडिट क्रन्च र आर्थिक सूचकका कारण लगानीकर्तामा निराशा देखिएको छ” उनले भने, “तर, यो अवस्था क्षणिक हो, हामी आशाको दियो निभ्न दिँदैनौं ।” तरलताको अभाव, क्रेडिट क्रन्चको समस्या समाधान गर्न तथा सेयर धितो कर्जाको समस्या हटाउनका लागि मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुने आशा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्