एमालेले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन, महाभियोगको प्रस्ताव पनि ल्याउँदैनः खगराज अधिकारी «

एमालेले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन, महाभियोगको प्रस्ताव पनि ल्याउँदैनः खगराज अधिकारी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको टिप्पणी गरेका छन् । उनले भने, ‘परमादेशबाट बनेको सरकार हो, यो सरकारले संवैधानिक काम गर्छ भन्ने तपाईँहरूलाई विश्वास लाग्छ ? सरकार त उल्टो अहिले दिशामा हिँडिरहेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले भने, ‘एमालेले उहाँको राजीनामा पनि मागेको छैन, र महाभियोगको प्रस्ताव पनि ल्याउँदैन् । यसबारेमा छलफल गर्ने अवस्था छैन् । न्यायाधीशहरूले राजनिित गर्ने, कुनै दलको भाका र भाषा बोल्ने काम गर्नुहुँदैन् । उनले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने पनि स्पष्ट पारे । उनले भने, ‘अब पनि अध्यक्ष त केपी ओली नै हो नि, यसमा शंका छ र ? अध्यक्षमात्रै होईन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ । म दोहो-याएर भन्न चाहन्छु कि मूलतः नेतृत्व सबै सहमति हुन्छ ।’
उनले आफ्नो पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा ध्यान खिचेको पनि स्मरण गराए । उनले भने, ‘जहाँसम्म हाम्रो पार्टीको महाधिवेशनको कुरा छ, यसले देशको ध्यानाकार्षण गरेको छ । एमाले देशको ठूलो पार्टी हो । लोकतान्त्रिक करणको च्याम्पियन हो–एमाले । हामीले गरेको काम राष्ट्रको निम्ति रोलमोडल हुनुपर्छ । मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो ? विधान महधिवेशन पनि सर्वसम्मत गर्यौं । अहिले नेतृत्वको महाधिवेशन हुँदैछ । नीतिमा कुनै फरक छैन् । समाजवादको निर्माण कसरी गर्ने भन्नेमा हामी लागेका छौं । राष्ट्रिय स्वाधिनतालाई उचाइमा पु¥याउनुपर्छ । अहिले समाजवादको पूर्वाधार बनाउने बेला हो ।’
उनले समाजवादको पूर्वाधार बनाउनको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई मूल कार्यभार बनाएर अघि बढ्ने पनि विश्वास दिलाए । उनले भने,‘यसको लागि अहिले सरकारलाई दबाब दिन्छौं । समृद्धिको यात्रालाई जारी राख्ने हो । यो कार्यभारबाट हामी बाहिर जाँदैनौं । शिक्षा तथा स्वास्थ्य क्षेत्रको कुरा छ, यसलाई सरकारको दायित्वमा ल्याउन चाहन्छौं । सामाजिक सुरक्षाको दायित्व बढाउन चाहन्छौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकता महसुस गरे नै उच्चस्तरीय समन्वय समिति गठन गरिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्–‘यो सरकार अहिले गठबन्धनको सरकार हो । हिजो नेकपाको दुई तिहाईको सरकार थियो । नेतृत्वले त्यो सरकारलाई थाम्न सकेन । आफ्नै पार्टीभित्रको बिग्रहको कारणले नेकपाको सरकार ढलेको हो, र आज हाम्रो सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्न पुगेको हो ।’
उनले गठबन्धन सरकारभित्र फेरि कुनै बिग्रह नहोस भनेर नै सबै कुरा सहमति र समझदारीअनुसार गर्नको लागि नै समन्वय समिति गठन गरिएको स्पष्ट पारिन् । उनले भनिन्, ‘हरेक कुरा सेयरिङ गरेर पारदर्शी रूपमा जान सक्यो भने, यो गठबन्धनलाई मजबुद पारेर लैजानको लागि र कतै मिस–अण्डरस्ट्याण्डिङ नहोस भनेर समन्वय समिति बनाईएको हो । गठबन्धन निर्वाचनसम्म सही किसिमले अघि बढाउनको लागि यो समिति आएको हो ।’
मन्त्री रेग्मीले न्यायालयलाई एकदम स्वतन्त्र र स्वच्छ रुपमा लैजानुपर्ने पनि बताईन् । उनले न्यायालयलाई विवादमा तान्न नहुने जिकिर गरिन् । उनले भनिन्,‘अदालतलाई विवादमा तान्नु हुँदैन् । मुलुकमा अराजकता हुन्छ । यसमा धेरै हल्ला गर्ने कुरा छैन् । सरकारले प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याउलाजस्तो मलाई लाग्दैन् । न्यायालयको विषयमा आग्रह र पूर्वाग्रह गर्नुहुँदैन् ।’
उनले वर्तमान सरकारले प्रभावकारी रुपमा काम गरिरहेको सुनाइन् । उनले भनिन्, ‘सरकारको प्रभावकारिता राम्रो छ । विगतको ओलीको सरकारले यो राम्रो काम गरेको थियो भनेर अहिले भन्ने अवस्था छैन् । सरकार अहिले सुझबुझका साथ अघि बढेको छ । अहिले पनि हरेक कुरामा सुझबुझ राखेर अघि बढेको छ । सबैको बीचमा समझदारी भएर जान सकोस भनेर अगाडि बढिरहेको छ । महत्वपूर्ण कामहरू गर्न सुरु गरेको छ । कोभिडको सवालमा पनि धेरै फड्को मारेको छ । अब पनि ६० लाखभन्दा बढी खोप ल्याउने सम्झौता भएको छ । जनताको जीउ ध्यानको सुरक्षा गर्न सरकारको कर्तव्य हो । त्यहीअनुसार काम गरिरहेको छ ।’
उनले पार्टीको आगामी महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवा पुनः उठ्ने र जित्नेमा आफू विश्वस्त रहेको पनि बताइन् । उनले भनिन्, ‘उहाँ फेरि सभापतिमा उठ्नुहुन्छ । अरुले पनि प्रतिष्पर्धा गर्न पाईन्छ । तर, उहाँ सभापति हुनुहुन्छ । उम्मेद्धवारी उहाँले दिनुहुन्छ । सभापति त मेची–महाकालीका प्रतिनिधिले छान्ने कुरा हो । राजनीति खेलमा कसैले छोड भन्दैमा छोड्ने कुरा हुँदैन् । कांग्रेस भोटमा विश्वास गर्ने पार्टी हो । डेलिगेट्सले भोलि देउवालाई बहुमत दिएपछि कसैले पनि विरोध गर्न मिल्दैन् । निर्वाध रूपमा काम गर्ने वातावरण हुनुपर्छ । अहिले यसो हेर्दा उहाँले जित्ने वातावरण देखिन्छ । उहाँलाई नै धेरै विश्वास गर्ने देखिएको छ ।’
उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बन्यो भने राम्रो हुने पनि प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘उहाँहरू मिलेर जानुभयो भने राम्रो हुन्छ । म त मिल्न पनि आग्रह गर्छु । यो महाधिवेशन उहाँहरूको अन्तिम हो, उहाँहरू मिल्नुभयो भने पार्टीमा नयाँ उर्जा आउने थियो । नयाँ दिशामा जाने थियो ।’
मन्त्री रेग्मीले एमसीसी प्रधानमन्त्री देउवाले पारित गरेर मात्रै नहुने भन्दै गठबन्धन र प्रतिपक्षी दल सबैको सरसल्लाह र सहमतिले पास हुने कुरा भएको बताईन् । उनले भनिन्, ‘यो विषयमा सबैसँग सरसल्लाह र सहमति हुन्छ । त्यसले निश्कर्ष निकाल्छ ।’
उनले गणेशमान सिंहको १०७औं जन्मजयन्ती भएको उल्लेख गर्दै सिंहले देखाएको बाटोमा हिँडन सकेको भए मुलुकमा अहिलेको जस्तो बेथिति आउने थिएन भन्ने धारणा राखिन् । उनले भनिन्, ‘दलहरूले उहाँले देखाएको बाटो र मार्गदर्शनलाई पछ्याउन नसकेको कारण आज मुलुकमा बेथिति छ ।’
त्यस्तै, सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले अहिले अदालतभित्र देखिएको विवाद अदालत आफंैले समाधान गरोस भन्ने धारणा राखेका छन् । उनले भने, ‘नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगिकार गरेको छ । न्यायापालिका स्वायत्त अंग भएकोले अदालतभित्रैबाट यसको समस्याको समाधान गर्नुपर्छ । त्यहीँ भित्रबाट निकास खोजिनुपर्छ । मार्गप्रशस्त वा के गर्ने त्यहीँबाट हुनुपर्छ । हामी त आशा र अपेक्षामा छौं कि–कार्यापालिकाभित्र समस्या पैदा भयो भने कार्यपालिकाले नै हल गर्नुपर्छ ।
व्यवस्थापिकाभित्र पैदा हुन्छ, त्यो व्यवस्थापिकाले नै समस्या हल गर्नुपर्छ । न्यायालपालिकाभित्र भए त्यसले नै हल गर्नुपर्छ । विधिको रुपमा, न्यायालयको समस्या समाधान भएन भने संसद्मा जाने कुरा । चेक एण्ड ब्यालेन्सको अप्सन पनि छन् ।’
गुरुङले अहिले मुलुक संक्रमणकालिन अवस्थामा रहेको सुनाए । उनले न्यायालयभित्रको समस्या समाधान गर्ने विषय अहिले दलहरूको एजेण्डा नबनेको पनि दाबी गरे । उनले भने,‘यो एजेण्डा बनाउने विषय पनि होइन । र, दलहरूको एजेण्डा बनिसकेको छैन ।
उनले समन्वय समिति बनाइएको विषय सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिए । उनले भने, ‘अहिले सरकार गठबन्धनको प्रक्रियामा गैरहेको अवस्था छ । सर्टेन ईस्युहरूलाई लिएर संयुक्त मुभमेन्ट गर्ने गरेको यो चलेको ईतिहास छ । ०४६ सालमा वाम लोकतान्त्रिक गठबन्धन भएकै हो ।
दलहरूको बीचमा गठबन्धन बनाउने, कमन मुद्दालाई लिएर जोईन्टली क्याम्पेन गर्ने यो नर्मल कुरा हो । यो डेमोक्रेसीको पद्धति हो । नम्र्स हो । यो कुनै फरक कुरा होईन् । अहिले पनि संविधान र लोकतन्त्रमाथि खतरा छ, सबैको रक्षा गर्ने प्रश्न ठूलो कुरा हो । राष्ट्रियताको रक्षा गर्ने अवस्था चूनौतिपूर्ण अवस्था छ । यो अवस्थामा सबै दलहरूबीच सहमति, सहकार्य हुनुपर्छ । पाँच दलको बीचमा मात्रै सहमति र सहकार्य भएको छ । स्वाधीनता, लोकतािन्त्रक गणतन्त्रको रक्षा गर्ने सवालमा, र सरकार सञ्चालनको लागि सहयोगको भूमिका अवश्य हुन्छ । निर्वाचनको सन्दर्भ छ, राष्ट्रियसभाको निर्वाचन हुँदैछ । त्यसका लागि पनि गठबन्धन मिलेर जान्छ । उपनिर्वाचनमा पनि जोइन्टली जानुपर्छ भनेर सहमति र समझदारी भएको छ ।’
आर्थिक परियोजनाको रुपमा रुपान्तरण गर्न तयार हुने कि नहुने ? रुपान्तरण गर्न तयार हुने भने अगाडि बढाउन तयार छौं । होइन, यो सम्झौता हेर्दा यसले नेपालको सार्वभौम अधिकार नै खण्डित हुने अवस्था देखिन्छ । नेपालको सार्वभौम अधिकार खण्डित गर्ने खालका प्रावधान संशोधन गर्नुपर्छ । अमेरिकाले आईपिएसको पार्ट हो भनेको छ । यो सैन्य गठबन्धनको अंग बन्न सक्दैन् ।
उनले एमसीसी आर्थिक अनुदान हो भने सरकारले एग्रिमेन्ट गरेर कार्यान्वयन गर्ने विषय हुने र यो सदनमा अनुमोदन गर्न जरुरी नभएको बताए । उनले भने, ‘सम्झौतामा सदनबाट अनुमोदन गर्ने लेखिएको थिएन, यो त ओली सरकारको पालामा सदनबाट अनुमोदन गर्ने भनेर लेखियो । आर्थिक योजना हो भने सदनबाट अनुमोदन गर्न जरुरी छैन् । सदनबाट अनुमोदन गर्ने भनेर सम्झौतामा लेखिएको थिएन । अन्तर्राष्ट्रिय कानूनको मान्यता पनि होइन । कम्पनीसँग गरेको सम्झौता अन्तर्राष्ट्रिय कानून होइन ।’
उनले एमसीसी सम्झौता आवरणमा आर्थिक आयोजना भनिएपनि कन्टेन्टमा सैन्य सम्झौताजस्तो देखिएको टिप्पणी गरे । उनले भने,‘कि त यो सैन्य सम्झौता हो भनेर खुलेआम आउनुपर्छ । एमसीसी आईपिएसको पार्ट होईन भन्ने कुरा डिक्लियर हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ । अहिलेको अवस्थामा यो कुनैपनि हालतमा सदनबाट अघि बढ्ने देखिँदैन् ।

प्रतिक्रिया दिनुहोस्