१०२ मेगावाटको अपर मस्र्याङ्दी–१ जलविद्युत् आयोजना बन्ने

लमजुङको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत मस्र्याङ्दी नदीमा १०२ मेगावाट क्षमताको अपर मस्र्याङ्दी–१ जलविद्युत आयोजना निर्माण हुने भएको छ । अपर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिले सो आयोजना निर्माण गर्न लागेको हो ।
रन अफ रिभरमा आधारित आयोजनाको अधिकांश सरचना मस्र्याङ्दी गाउँपालिका–३ र ४ मा रहनेछ भने केही संरचना वडा नं. ५ र ६ मा रहनेछ । अयोजनाको बाँधक्षेत्र मस्र्याङ्दी–४, रामबजारमा र विद्युतगृह मस्र्याङ्दी–३, अर्खलेबेसीको सिउरुङ र मस्र्याङ्दी नदीको संगमस्थलमा रहनेछ ।
मस्र्याङ्दी नदीमा बाँध बाँधेर उक्त पानीलाई पाँच हजार १ सय ४२ मिटर लामो हेडरेस सुरुङ र ४ सय २६ मिटर लामो पेनस्टक पाइपको सहायताबाट विद्युतगृहमा खसालिने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभी ट्रान्समिसन लाइनमार्फत ६ दशमलव ५ किलोमिटरको दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिने अपर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिका उपाध्यक्ष आनन्द चौधरीले बताए । करिब ३३ अर्बको लागतमा निर्माण हुने आयोजनाको निर्माण अवधि ४० महिनाको रहने उपाध्यक्ष चौधरीको भनाइ छ ।
कम्पनीले आयोजनाबाट प्रभावित हुने मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ३, ४, ५ र ६ भित्र रहेका सरोकारवाला नागरिकको उपस्थितिमा पूरक सार्वजनिक सुनुवाइ तथा आयोजनासम्बन्धी राय सुझाव संकलनसमेत गरेको छ । कम्पनीले विद्युत विकास विभागबाट सर्वेक्षण अनुमति प्राप्त गरे पश्चातको अध्ययनअनुसार आयोजनाको क्षमता १ सय ३८ मेगावाट पहिचान भएको थियो । यसअघि सोहिअनुरुप वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतसमेत भइसकेको थियो । तर प्रस्तावित आयोजनाको विद्युतगृह र टेलरेस रहने क्षेत्र अपर मस्र्याङ्रदी ए जलविद्युत आयोजनाको जलाशयबाट प्रभावित हुने भएकाले सो आयोजनाको पुनः विस्तृत अध्ययन भएको हो ।
पछिल्लो अध्ययनबाट आयोजनाबाट १०२ मेगावाटमात्रै विद्युत उत्पादन हुने निक्र्यौल भएको छ । आयोजनाको पुनः वातावरणीय मूल्यांकन भएकाले पूरक सार्वजनिक सुनुवाइ भएको आयोजनाले जनाएको छ । यसैबीच अपर मस्र्याङ्रदी–१ जलविद्युत आयोजनाका प्रभावितले आफ्नो क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा नगरेको भन्दै आपत्ति जनाएका छन् । आयोजना प्रभावित क्षेत्रमध्ये अर्खले, खानीगाउँ तथा सिउरुङ क्षेत्रका बासिन्दाले प्रभावित क्षेत्र प्राथमिकतामा नराखेको भन्दै आपत्ति जनाएका हुन् ।
जलविद्युत आयोजनाले सार्वजनिक गरेको पूरक वातावरणीय मूल्यांकन प्रभावपछि प्रतिक्रिया दिँदै स्थानीयले आपत्ति जनाएका हुन् । स्थानीयहरूले आयोजना पक्षलाई आफ्ना माग राख्दै ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । आयोजना निर्माण भएसँगै सो क्षेत्रको थाकन, अर्खलेबेसी, खानीगाउँलगायतको क्षेत्र अतिप्रभावित क्षेत्रमा राख्नुपर्ने, आयोजना निर्माणको क्रममा स्थानीयलाई रोजगारीको प्राथमिकता दिनुपर्ने, स्थानीयलाई पनि सेयरको व्यवस्था गर्नुपर्नेलगायतको माग रहेको छ ।
आयोजनाले सार्वजनिक सुनुवाइ गर्दा पनि सबै जनतालाई नसमेटेको स्थानीयको गुनासो छ । आयोजना निर्माणका क्रममा स्थानीयलाई प्राथमिकतामा राखी रोजगारी र सेयर उपलब्ध गराएमा कोही कसैले आयोजनाको विरोध नगर्ने स्थानीय बलबहादुर गुरुङले बताए ।
आयोजना पक्षले भने अहिले सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन अन्तिम नभएको जनाएको छ । अहिलेको प्रतिवेदनमा सम्बन्धित ठाउँ र गाउँको नाम समावेश नभए पनि वडा समेटिएकाले स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै पुनः प्राविधिक व्यवस्थापनसहित कार्यक्रम सञ्चालन गरिने आयोजना प्रवद्र्धक आनन्द चौधरीले बताए ।