पशुपालनमा एकजुट बने शहरी क्षेत्रका किसान

भरतपुर-भरतपुर सदरमुकामदेखि करिब ५ किलोमिटर दूरीमा पर्ने प्रेमबस्ती क्षेत्र बसाईसरी आउने क्षेत्रका रुपमा चिनिन्छ ।
खेतीयोग्य जग्गा अधिकांश घडेरी छन् । तर, किसानहरु सामूहिक अवधारणामा नमुना गाईफर्म बनाउन जुटेका छन् । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको प्रेमवस्ती दुग्ध उत्पादक सहकारीले नमुना गाईफर्म बनाउने तयारी थालेको छ । २ करोड १८ लाख लगानी गरेर नमुना गाईफर्म बनाउन लागिएको हो ।
२१ वर्ष पहिले स्थापना भएको सहकारीले दूध संकलन तथा बिक्रीवितरण गर्दै आएको थियो । अध्यक्ष केशव पण्डितले फर्मबाट दैनिक १ हजार र किसानबाट दैनिक २ हजार लिटर दूध संकलन गर्ने लक्ष्य लिइएको बताए । “सहकारी मार्फत दैनिक ७ सय लिटर दूध संकलन गर्छौं”, उनले भने, “शहरिकरणसँगै पशुपालन घट्दो छ, अब किसानलाई व्यावसायीकरणमा प्रोत्साहन गर्न लागेका छौं ।” सहकारीले नै नमुना गाईफर्म बनाएपछि दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा किसानहरु पनि लाभान्वित हुने उनको भनाइ छ ।
सहकारीमा १ सय २५ घरपरिवार आवद्ध छन् । प्रेमबस्ती, सिताराम चोक, उज्वल, मस्र्याङदी टोलका स्थानीयलाई पशुपालनमा प्रेरित गर्ने कार्यक्रमहरु पनि चलाइने बताए । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएल एसआइपी) मार्फत स्वच्छ दूध उत्पादनका लागि गाईभैसी प्रर्वद्धन उपआयोजनाबाट १ करोड अनुदान पाएको छ । १ लाख १० हजार रुपैयाँका दरले सहकारीका सदस्यबाट ४८ लाख रुपैयाँ लगानी छ । कामना सेवा विकास बैंकले ७० लाख रुपैयाँ कर्जा उपलब्ध गराएको छ । “खुल्ला गोठमा नबाँधेरै गाइ पाल्नेछौं” उनले भने, “अधिकतम् प्रविधिहरु भित्र्याउने छौं, किसानको पाठशाला सरह बनाउने लक्ष्य छ ।” उन्नत जातका दूधालु गाई बिक्री केन्द्र पनि बनाइने छ ।
नमुना गाई फर्मका लागि ३ टोलमा ६ विघा जग्गा भाडामा लिइएको छ । ती जग्गामा अहिले सुपर नेपियर घाँस हुकाईएको छ । व्यावसायीक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले करिब १ हजार घरपरिवार लाभान्वित हुने बताउँछन् । “वर्षेनि १० लाख लिटर दूध यही फर्मबाट उत्पादन हुनेछ, आसपासका वस्तीमा उत्पादित दूधको बजारीकरणमा पनि टेवा पुग्नेछ”, उनले भने, “भविष्यमा हरेक घरधुरीको मासिक आम्दानी कम्तिमा १ लाख हुने वातावरण बन्नेछ ।”
सहकारीकै अगुवाई वडा नम्बर ७ सँगै आसपासका ५ र ८ वडाहरुलाई पनि समेटेर वृहत डेरी उद्योग स्थापना गर्ने लक्ष्य रहेको बताए । “परम्परागत रुपमा गाईभैसी पाल्दा धेरै किसान घाटामा छन्”, उनले भने, “आधुनिक तथा वैज्ञानिक रुपमा गाईभैसी पालनको अभ्यास किसान समक्ष पु¥याउने लक्ष्य हो ।” फर्ममा १० वर्षमा करिब १ अर्ब बराबरको लगानी हुने अनुमान सुनाए । “घडेरी बेचेरै भएपनि कोही लगानी गर्न इच्छुक छन्, कोहीले खाली जमिनमा घाँस लगाएर पशुपालन गर्ने सोचमा छन्”, उनी भन्छन्, “अब शहरीकरण भएको क्षेत्र पशुपालनको हबका रुपमा चिनिनेछ ।”
९० फिट चौडाई, १ सय ५० फिट लम्बाई, १२ फिटको प्यासेजको संरचना बनाइने छ । सहकारीले बुधबार आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा ै केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य भगिरथ तिमिल्सिनाले दूधको लागत घटाउन सर्भेनै हुनुपर्नेमा जोड दिए । “प्रतिलिटर दूध उत्पादननै ६३ पर्छ, किसानले मुस्किलले ५० रुपैयाँ पाउँछन्” उनले भने, “प्रतिलिटरमै १३ रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था छ, कम लागतमै दूध उत्पादनको विधि के हुन सक्छ, सर्भे हुनुपर्छ ।”
भरतपुर महानगरपालिका कार्यक्रम अधिकृत मेघराज ढकालले साइलेज र घाँसमा आधरित पशुपालन गरे लागत घटाउन सकिने बताउँछन् । “दाना–चोकर खुवाउँदा लागत बढ्छ, सिजन अनुसारको घाँस खेती गरौं”, उनले भने, “कम लागतमै दूध उत्पादन हुनसक्छ ।” राज्यकोषबाट रासनभत्ता सुविधा पाउने क्षेत्रहरुमा स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ प्रयोग गर्ने नीति बन्न सके दूधको खपत बढ्ने बताए ।
महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले किसानलाई उत्प्ररित गर्न महानगरले प्रतिलिटर दूध बिक्रीमा ३ रुपैयाँ अनुदान दिँदै आएको बताए । एनएल एसआइपी बागमती प्रदेशका प्रतिनिधि डा. सन्तोष घिमिरेले पुरक अनुदानका रुपमा सहयोग गरिएको बताए । “किसानको आयस्तर बढ्नेछ, स्वरोजगार सृजना हुने अपेक्षा गरेका छौं” उनले भने, “किसान पशुपालनमा थप सक्रिय बन्ने विश्वास छ ।” २०७६ जेठ २९ गते चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गरिएको थियो । पछिल्लो समय चितवनमा युवाहरु पशुपालनमा आकिर्षत बन्दै गएका छन् ।