भाइटीका र छठमा रानीपोखरीको महत्व «

भाइटीका र छठमा रानीपोखरीको महत्व

धार्मिक, पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्वले विशिष्ट स्थान ओगट्नेकाठमाडौँ उपत्यकामा थुप्रै मठमन्दिर, सम्पदाहरूमध्ये रानीपोखरी पनि एक हो । झन्डै ४ सय वर्ष पुरानो इतिहास बोकेको रानीपोखरीको आफ्नै महत्व, गौरव, मूल्यमान्यता एवम् विशेषताहरू रहेको पाइन्छ । कान्तिपुर नगरीको मुटुमा अवस्थित इतिहासको यो प्रमुख धरोहरलाई विष्णुतीर्थ पनि भनिन्छ । त्यस्तै रानीपोखरीको बीचमा रहेको महादेव मन्दिरलाई यमलेश्वर वा बालगोपाल भनिन्छ, जहाँ वर्षको एक दिन मात्र ठूलो मेला लाग्छ । खास गरी वर्षको एक दिन भाइटीकाका दिन खुल्ने यो तीर्थ पछिल्लो समय छठ पर्वका दिन पनि सर्वसाधारणका लागि खुला गरिन्छ । यहाँ लाग्ने मेला भर्न थुप्रै भक्तजनको उपस्थिति हुने गर्छ ।
रानीपोखरीको निर्माण सम्बन्धमा महत्वपूर्ण ऐतिहासिक कथन पनि पाइन्छ । इतिहासमा उल्लेख भएअनुसार राजा प्रताप मल्लका जेठा छोरा चक्रवर्तीन्द्र मल्लको निधनले शोकाकुल रानी अनन्तप्रिया (भुवनलक्ष्मी) को पुत्रशोकलाई कम गराउन राजा प्रताप मल्लले यस पोखरीको निर्माण गराएका थिए । त्यसपछि रानीद्वारा यो मन्दिर वा तीर्थको उद्घाटन गराई रानीपोेखरी नामकरण भएको हो ।
त्यतिबेला हिमवत्खण्डका सम्पूर्ण तीर्थको पवित्र जलले जलाशयलाई भरिपूर्ण पारिएको थियो । उक्त पोखरीको मध्यभागमा प्यागोडा शैलीमा निर्माण गरिएको सुन्दर मन्दिर छ । मन्दिरमा देवादिदेव सदाशिव भगवान् महादेवको मूर्ति रहेको छ, जसलाई बालगोपाल भनिन्छ । कतै–कतै यमलेश्वर वा जमलेश्वर र भ्रातृश्वर महादेव पनि भनेर उल्लेख भएको पाइन्छ ।
यस मन्दिरमा पूजा–अर्चना एवम् प्रवेश गर्नका लागि पश्चिम दिशामा मूलद्वार रहेको छ । वर्षमा एक दिन अर्थात् यमपञ्चकको भाइटीकाका दिन मात्र यो मन्दिर खुल्छ । विशेष गरेर यस दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीहरू त्यहाँस्थित महादेवको पूजा–अर्चना गर्न र टीका लगाउन जाने गर्छन् । यसका अतिरिक्त अन्य तीर्थालु भक्तजनहरू पनि पूजा–अर्चना गर्न जान्छन् । जो व्यक्ति यहाँ आएर भगवान्को पूजा–अर्चना गर्छ उसले पुण्य प्राप्त गर्छ र मृत्युपश्चात् पनि शिवलोक कैलाश प्राप्त गर्छ भन्ने शास्त्रीय धारणा रहेको कुरा संस्कृतिविद् रामप्रसाद फुयाँल बताउनुहुन्छ । फुयाँलका अनुसार यस तीर्थले दाजुभाइ र दिदीबहिनीको मित्रता एवं सम्बन्धलाई नै प्रगाढ बनाएको छ ।
रानीपोखरी धार्मिक, पौराणिक, ऐतिहासिक दृष्टिकोणले मात्र नभएर पर्यटकीय दृष्टिले पनि उत्तिकै महŒवपूर्ण छ । सहरको बीच भागमा अवस्थित यस पोखरीप्रति जसको पनि आँखा पर्ने भएकाले स्वदेशी वा विदेशी दुवैका लागि यो त्यति नै महत्व पूर्ण बनेको छ । पोखरीको बीचमा रहेको मन्दिर, दक्षिणतिर राजा प्रताप मल्लको सपरिवार हात्तीमा विराजमान सालिक, घण्टाघरको सुन्दर प्रतिविम्ब, फूलबारी अनि शान्ति वाटिकाले रानी पोखरीको सौन्दर्यलाई जीवन्त तुल्याइदिएका छन् । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पका कारण मन्दिरमा क्षति पुगेको थियो । यसको पुनर्निर्माणमा लामो समय विवाद भएपछि अन्ततः मल्लकालीन शैलीमा यसको निर्माण स्थानीय सीप र प्रविधिको प्रयोग गरी सम्पन्न भयो, जुन शैली आकर्षक र भव्य देखिन्छ । यस्ता सांस्कृतिक सम्पदाको संरक्षण गर्र्नु हामी सबैको मुख्य दायित्व नै हो । अन्य बाँकी सम्पदाको पनि पुनर्निर्माण समयमा नै गर्नुपर्ने देखिन्छ ।
विगतका वर्षहरूमा कोरोनाका कारण तथा निर्माण कार्य सम्पन्न नभएका कारण सर्वसाधारणलाई नखुलेको रानीपोखरी यस वर्ष भाइटीकाका दिन खुलेको थियो । यहाँको महादेवको पूजा–अर्चना गर्न टाढाटाढाबाट निकै भक्तजनको भीड लागेको थियो । तिहारका अतिरिक्त छठ पर्वका दिन पनि रानीपोखरी खुला गरिएको छ । तर, काठमाडौंको मुटुमा रहेको रानीपोखरी ज्यादै प्राचीन सम्पदा भएकाले यसको सरसफाइ र सौन्दर्यमा खलल नपुग्ने गरी कुनै पनि क्रियाकलाप आयोजना गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्