वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने ४ % मात्र «

वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने ४ % मात्र

औसतमा ७५ हजार कमाउने चार प्रतिशतमात्र

नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ ।धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६ हजार ६ सयको हाराहारीमा रहेको सरकारको अध्ययनले देखाएको हो । सरकारले गत साउनबाट नेपालमा काम गर्ने श्रमिकको मासिक पारिश्रमिक भने १५ हजार तोकेको छ । तर विदेशी नेपालीको मासिक पारिश्रमिक स्वदेशमा तोकिएको भन्दा केहीमात्र बढी छ । यस्तै वैदेशिक रोजगारीमा जाने लगभग ६५ प्रतिशत युवाको आय औसत मासिक ३३ हजार रुपैयाँभन्दा कम हुने गरेको अध्ययनले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय सार्वजनिक गरेको ‘वैदेशिक रोजगारसम्बन्धी सामाजिक प्रभाव विश्लेषण अध्ययन’ ले ४५ प्रतिशत परिवारको वैदेशिक रोजगारीबाट मासिक आय औसत २५ हजार अर्थात् वार्षिक आय दुईदेखि चार लाख रुपैयाँ रहेको देखाएको छ । आयको वर्गीकरण प्रत्येक दुई लाखको अन्तरमा गरिएअनुसार अध्ययनले सबैभन्दा कम आय दुई लाखभन्दा कम वार्षिक आय समूहमा १८ प्रतिशत र सबैभन्दा बढी आय १२ लाखभन्दा माथिको समूहमा चार प्रतिशत परिवार रहेको पाइएको छ ।

सबैभन्दा ठूलो परिवारको हिस्सा ४५ प्रतिशतले २-४ लाख वार्षिक आय हुने समूहमा र सबैभन्दा सानो हिस्सामा रहेका युवाले मासिक ७५ हजार अर्थात् वार्षिक आठदेखि १२ लाख रुपैयाँ आय गर्ने गरेका छन् । वैदेशिक रोजगारमा गएका देशमध्ये यूएई र कतार दुवैमा २५ प्रतिशत, साउदी अरब २१ प्रतिशत, मलेसिया २० प्रतिशत, कुबेतमा ६ प्रतिशत रहने गरेका छन् । आम्दानीका हिसाबले आकर्षक मानिएका इजरायल २ प्रतिशत र गणतन्त्र कोरियामा १ प्रतिशत नेपाली मात्र रहेको पाइएको छ ।थोरै आय गर्नेको हिस्सा बढी रहेको नेपालको वैदेशिक आयबारे रेमिट्यान्समा जीवनयापन गरिरहेका परिवारका सदस्यमध्ये ठूलो हिस्सा अर्थात् ७३ प्रतिशतले आयलाई ठिकै मानेका छन् । यस्तै सबैभन्दा सानो हिस्सा १२ प्रतिशतले धेरै राम्रो आय रहेको जनाएका छन् । त्यस्तै, विदेश गएर पनि आयलाई राम्रो आम्दानी नगर्ने परिवारको संख्या १५ प्रतिशत रहेको छ । वैदेशिक रोजगारविज्ञ एवं समाजशास्त्री डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको आम्दानी बढी नभएका कारण नेपालीको औसत आम्दानी पनि कम भएको बताए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट जाने ८० प्रतिशत श्रमिक अदक्ष रहेको उल्लेख छ ।

विदेशको आम्दानी अनुत्पादक क्षेत्रमा बढी वैदेशिक रोजगारीमा जाने नेपाली युवाको आम्दानीको सबैभन्दा बढी खर्च अनुत्पादक क्षेत्रमा हुने गरेको पाइएको छ । वैदेशिक आयमा निर्भर रहेको ९७ प्रतिशत परिवारले लत्ताकपडा तथा घरायासी सामानमा र सबैभन्दा थोरै परिवार अर्थात् ५ प्रतिशतले अरुलाई ऋण दिनमा वैदेशिक आयको प्रयोग गरेको देखिएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा र खाद्यान्नमा खर्च गर्ने परिवारको संख्या निकै ठूलो अर्थात् क्रमशः ९२ प्रतिशत, ८६ प्रतिशत र २ प्रतिशत छ । नेपालमा वैदेशिक आयलाई एकभन्दा बढी शीर्षकमा खर्च गर्ने गरेको अध्ययनले देखाएको छ ।वैदेशिक आयले शिक्षा, स्वास्थ्य र पारिवारिक सम्बन्धमा राम्रो र नराम्रो दुवै प्रकारका प्रभाव परेको अध्ययनले देखाएको छ । वैदेशिक आयले शिक्षामा बहुसंख्यक परिवारले वार्षिक ५० हजारभन्दा बढी खर्च गर्ने गरेको पाइएको छ । सबै परिवारमा वैदेशिक आयपछि शिक्षामा लगानी बढेको पाइएको छ ।

अझ महत्वपूर्ण त के भने, अधिकांश परिवारको हकमा शिक्षाको खर्चको मुख्य स्रोत वैदेशिक आय हो । वैदेशिक आयपछि केटाकेटीलाई निजी विद्यालयमा नै निरन्तरता दिने र सरकारीबाट निजीतिर सार्ने परिवार संयुक्तरूपले बहुसंख्यक छन् ।

वैदेशिक आयले स्वास्थ्यमा समेत सुधार भएको छ । स्वास्थ्यवद्र्धक खानाको मात्रामा आएको परिवर्तन, खानाको गुणमा आएको परिवर्तन, सामान्य उपचारमा खर्च गर्न सक्ने अवस्था, महँगो उपचारमा खर्च गर्ने अवस्था, छनौटको अस्पताल, बच्चाको हेरचाह र पोषणमा खर्च गर्ने अवस्था, बालबालिकाको स्वास्थ्य तथा वृद्धि विकासको अवस्थामा सुधार आएको पाइएको छ । बहुसंख्यक अर्थात् ५९ प्रतिशत परिवारका हकमा स्वास्थ्य खर्चको स्रोत वैदेशिक आय हो । परिवारको हिस्सा सबभन्दा ठूलो ४९ प्रतिशत छ भने सबैभन्दा बढी १ लाखभन्दा बढी खर्च गर्ने परिवारको हिस्सा सबैभन्दा सानो २० प्रतिशत छ । थप, शिक्षामा न्यूनतम ३ हजार र अधिकतम २ लाख ५० हजार खर्च गर्ने परिवार पनि भेटिएका छन् । सबै परिवारको औसत खर्च गणना गर्दा ७० हजार वार्षिक खर्च गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्