पोखरामा छठ पर्वको तयारी पूरा «

पोखरामा छठ पर्वको तयारी पूरा

पोखरामा पनि यस वर्षको छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । कोरोनाले गर्दा गत वर्षको छठ पूजा स्थगित भएकोमा यस वर्ष भने पोखराका मुख्यगरी तीन स्थानमा धुमधामका साथ छठ पूजा मनाउने तयारी गरिएको छठ पूजा समितिले जनाएका छन् ।
पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छठ पूजा धुमधामका साथ मनाउन आइतबार र सोमबार सरसफाइ गरिएको छ । छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पूजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य तीन ठाउँमा छठ पूजा समितिले सरसफाइदेखि आन्तरिक व्यवस्थापनमा जुटेको नारायणथान मन्दिरस्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताए । उनका अनुसार यस वर्ष कोरोनाको प्रभाव कम भएकाले आवश्यक स्वास्थ्य मापदण्ड पालना गराउँदै छठ पूजाको तयारी गरिएको छ ।
केदारेश्वर महादेवमणि क्षेत्रमा आइतबारदेखि सरसफाइ गर्न सुरु गरिएको एनबी व्यवसायी समितिका अध्यक्ष अनिल गुप्ताले बताए । सरसफाइसँंगै छठ पूजास्थलमा रंगरोगनसहित झकिझकाउ पारिएको उनले जनाए । त्यसैगरीे विगत दुई दशकभन्दा लामो समयदेखि तराईमूलका नेपालीले पोखराका विभिन्न ठाउँमा छठ पूजा मनाउन थालेको प्राध्यापक देवनारायण सुतीहारले बताए । पोखरामा पछिल्ला वर्षदेखि मधेसी, तथा पहाडी मूलका मानिसले पनि छठ पर्व मनाउन थालेको उनले बताए । उनका अनुसार यस वर्षको छठ पर्वको मुख्य दिन (षष्ठी) बुधबार २४ कात्तिकमा परेको छ । सप्तमीका दिन बिहीबार भक्तहरूले उदाउदो सूर्यलाई अर्घ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्