चालू आवमै बिमाको पहुँच २० प्रतिशतमा पुग्छ «

चालू आवमै बिमाको पहुँच २० प्रतिशतमा पुग्छ

मनोजकुमार लाल कर्ण
प्रमुख कार्यकारी अधिकृत
युनियन लाइफ इन्स्योरेन्स कम्पनी

जीबन बिमा व्यवसायमा थप एक कम्पनीले कारोबार सुरु गरेपछि नेपालमा जीवन बिमा कम्पनीको संख्या १९ पुगेको छ । कम्पनीहरू थपिएसँगै बिमाको पहुँच त वृद्धि भएको छ, तर बजारमा अस्वस्थ प्रतिस्पर्धासमेत सुरु भएको छ । कम्पनीहरूबीच कर्मचारी तथा अभिकर्ता तानातानको अवस्था भए पनि समितिले विभिन्न निर्देशन दिएको छ । पुराना कम्पनीमा सामान्य तहमा काम गरेका कर्मचारी तथा अभिकर्तालाई नयाँ कम्पनीहरूले उच्च तह र सुविधा दिन थालेपछि पुराना कम्पनीहरू अप्ठेरोमा परेका छन् । समितिले हालै मात्र अभिकर्तालाई विदेश भ्रमण गराउँदा, गाडीको सुविधा दिँदा स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । यसैगरी कर्मचारी नियुक्तिसम्बन्धी पनि नियमावली ल्याउने तयारी गरिरहेको छ । नियामक निकायको कडाइ गर्दा बिमा कम्पनीहरूलाई राम्रो भएको बताउँछन् युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण । बिमा बजार पूरै खाली भएको अवस्थामा कम्पनीहरू आक्रामक रूपमा बजार विस्तारमा लागेको र यसले प्रगतिसमेत भइरहेको उनको दाबी छ । कम्पनीहरूमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, अभिकर्ता र कर्मचारीको समस्यालगायतका समग्र बिमा व्यवसायबारे कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानीको सार :

बिमा समितिले अभिकर्तालाई विदेश भ्रमण गराउने, कर्मचारीलाई गाडी सुविधा दिने विषयमा कडाइ गरेको छ । कर्मचारीलाई व्यवस्थित गर्न नियमावली पनि जारी गर्दैछ । बिमा कम्पनीमा अस्वस्थ प्रतिस्पर्धा भएको हो ?
म सबै कुरालाई सकारात्मक ढंगले हेर्ने मान्छे । बिमा समितिबाट स्वीकृति लिएर विदेशमा तालिम दिनुपर्ने विषय राम्रो हो । यो आजको मात्र होइन, पहिलादेखि नै थियो । पहिले काठमाडौं उपत्यकामा समिति आफैंले तालिम दिन्थ्यो, बिमा कम्पनीहरूले उपत्यकाबाहिर मात्र तालिम दिन्थे । अहिले समितिले आफूले तालिम दिने भन्दा पनि समितिबाट स्वीकृति लिएर तालिम दिनुपर्छ भनेको राम्रो कुरा हो । एजेन्ट पनि बिमा समितिको नियमनअन्तर्गत पर्छ र उनीहरू पनि यसबारे अवगत हुनुपर्छ । गाडी सुविधाको विषयमा पनि राम्रो व्यवस्था ल्याएको हो । कहिलेकाहीं कसिलो नीति बनाउँदा बिमा कम्पनीहरूलाई नै फाइदा पुग्छ । समितिले दिनु हुन्न भनेको होइन । समितिबाट स्वीकृति लिनुपर्छ मात्र हो । कर्मचारीहरूको हकमा नियमावली आउँदै छ, त्यो राम्रो कुरा हो । नीति–नियमको परिधिभित्र बसेर काम गर्नु झन् राम्रो कुरा हो । पहिलो बिमा ऐन नै राम्रो थिएन । यसमा सबै कुरा समेटेको थिएन । नभएका कुरा समावेश भइरहेको छ । कानुन आफैंमा पूर्ण हुदैँन, समय–परिस्थितिअनुसार परिमाजन हुँदै गएको छ । मैले जीवन बिमामा अस्वस्थ प्रतिस्पर्धा देखेको छैन । अस्वस्थ प्रतिस्पर्धा त्यहाँ हुन्छ जहाँ बजार साँघुरो हुन्छ । तर, नेपालको जीवन बिमामा त बजार पूरै खाली छ । यहाँ कसरी अस्वस्थ प्रतिस्पर्धा हुन्छ । कुनै मानिसले धेरै रकम बराबरको बिमा गर्न सक्छ । तर, उसले एक कम्पनीमा त्यो पनि थोरै रकमको मात्र बिमा गरेको छ भने उसलाई अर्को कम्पनीको बिमा गर्न आग्रह गर्नु भनेको अस्वस्थ प्रतिस्पर्धा होइन । फिर्ता गराएर बिमा गर्ने भन्ने हुदैँन । कुनै पनि बिमा कम्पनीमा बिमा गरिसकेको छ भने त्यो कम्पनीको बिमा पोलिसी सरेन्डर गराएर बिमा गर्ने कम हुन्छन् । किनकि मानिसहरूले बुझेका हुन्छन् । तर, जति गर्न सक्छन् त्यो गरेका हुदैँनन्, त्यसैले थप बिमा गराउनुपर्छ ।
बिमा व्यवसायमा जुन हिसाबले जनताले अभिकर्ताहरूलाई महत्व दिनुपर्ने हो, त्यो हिसाबले दिएको छैन । अभिकर्ता ग्राहकका लागि भगवान् हो । अभिकर्ता ग्राहकका लागि गएको हो, आफ्नो लागि मात्र होइन । अभिकर्ताले गरेको बिमाका कारण मानिसहरूको बुढेसकालमा घर चलेको छ । अभिकर्ताका कारण राजस्व समेत बढेको छ ।

पछिल्लो समयमा बिमा कम्पनीको संख्या र जनचेतना पनि बढेको छ । यसबीचको बिमाको वृद्धिदरलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
हरेक पटक एउटा चरण हुन्छ । बिमा संस्थानले २०२९ सालदेखि जीवन बिमाको कारोबार गरेको छ । त्यसपछि अर्को कम्पनी आयो र बिमाको क्षेत्रमा केही काम ग-यो । जब २०५८ सालमा तीनवटा कम्पनी आए, पाँचवटा कम्पनी भएपछि केही हदसम्म प्रतिस्पर्धा भयो र केही रूपमा बिमाको विकास भयो । त्यस्तै २०६४ सालमा फेरि चारवटा इन्स्योरेन्स कम्पनी आए र वृद्धिदर बढी भयो । २०७४ सालमा नौवटा जीवन बिमा कम्पनी र २०७५ सालमा एउटा बिमा कम्पनी बजारमा आएपछि पुरानो र नयाँबीच थप प्रतिस्पर्धा भयो र दुवैले आक्रामक रूपमा बजार विस्तार गरे । अहिले बजारमा १९ वटा जीवन बिमा कम्पनी जुन प्रकारले चल्नुपर्ने हो सोही प्रकारले चलिरहेका छन् । आक्रामक रूपमा बजार विस्तार गरेका छन् । अहिले १६ प्रतिशत बिमा बजार वृद्धि भएको छ । नयाँ आएर पुरानाको बिजनेस कम भएको छैन । ग्रामीण भेगमा पनि बिमा कम्पनीहरूले शाखा खोल्न थालेका छन्, जसले गर्दा बिमाबारे जनताले बुझ्न थालेका छन् ।

बैंकिङ पहुँच बराबर बिमाको बजार विस्तार हुन कति समय लाग्ला ?
जुन प्रकारले बिमा बजारको वृद्धि भइरहेको छ सोही प्रकारले जाने हो भने यही आर्थिक वर्षको अन्त्यसम्ममा २० प्रतिशतको हाराहारीमा बजार वृद्धि हुन्छ । यसैगरी बजारको विस्तार हुदैँ जाने हो भने बिमाको पहुँच छिट्टै ६० प्रतिशतको हाराहारीमा पुग्छ ।

बिमाको बजार विस्तारका लागि बिमा साक्षरताका विषयहरू किन ओझेलमा परिरहेका छन् ?
बिमा साक्षरता कार्यकमलाई हेर्ने हो भने अनौपचारिक रूपमा धेरै अगाडि बढेको छ । पहिले शाखा कार्यालयहरू थिएनन् । सबै कम्पनी सहरकेन्द्रित थिए । तर, अहिले ग्रामीण भेगमा पनि शाखाहरू गइरहेका छन् । प्रत्येक महिना गाउँगाउँमा गएर कम्पनीहरूले ५० देखि १ सय जनासम्मलाई तालिम दिइरहेका हुन्छन् । यो बिमा साक्षारतासम्बन्धी ठूलो कार्यक्रम हो । हाम्रो कम्पनीमा मात्र अहिले १२ हजार अभिकर्ता छन् । उनीहरूले कुनै न कुनै रूपमा जनतालाई बिमासम्बन्धी जनचेतना जगाइरहेका छन् । अहिले बिमा बजारमा क्रान्ति भइरहेको छ । अनौपचारिक रूपमा बिमाको चेतना पनि बढिरहेको छ । यहाँ अभिकर्तामार्फत बिमाको व्यवसाय पनि विस्तार भइरहेको छ भने जनचेतना पनि फैलिरहेको छ ।
व्यवसाय विस्तार गर्नका लागि बिमा कम्पनीले धेरै खर्च गर्न सक्दैनन् । जम्मा १८ प्रतिशतभन्दा बढी खर्च गर्न सकेको छैन ।

बिमाको पहुँच बढेको तथ्यांक आए पनि बिमा पोलिसीमा केही दोहोरोपना पनि होला नि ?
अहिले बिमा कम्पनीहरू सहर बाहिर पनि गएका छन् । नयाँ ठाउँबाट बिमा पोलिसी आएको छ । त्यसैले अहिले बिमा पोलिसीको दोहोरोपना कम छ । नयाँ व्यक्तिहरूको बिमा आएको छ ।

बिमा बजारमा बढाउनका लागि अबको आवश्यकता के हो ?
कम्पनीहरूले कसरी अभिकर्ताहरूलाई परिचालन गरेको छ त्यसले निर्धारण गर्छ । अभिकर्तालाई कस्तो तालिम र कुन–कुन ठाउँमा तालिम दिनुभयो । तपाईं सहरमा बसेर मात्र तालिम दिनुभयो कि ? यसले बिमाको बजार विस्तार निर्धारण गर्छ । अब कम्पनीहरूले देशका विभिन्न ठाउँमा पुगेर अभिकर्ताका लागि तालिम सञ्चालन गर्नु आवश्यक छ । काठमाडौं, पोखरा, विराटनगर, वीरगन्ज, जनकपुरमा तालिम दिएर मात्र बजारमा विस्तार हुँदैन । ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा पनि तालिम सञ्चालन गरेर अभिकर्ताहरू उत्पादन गर्नुपर्छ ।

अभिकर्ता बढाउने नाममा कम्पनीहरूले तालिम नै नदिई लाइसेन्स पनि दिन्छन् भन्ने सुनिन्छ नि ?
प्रायःजसो यस्तो हुँदैन । हामी ४ तहको तालिम दिन्छौं । पहिला आधारभुत तालिम हुन्छ, त्यसपछि लाइसेन्स पाउँछ । त्यो तालिमबाट अभिकर्तालाई बिमा, बिमा योजनाका बारेमा जानकारी हुन्छ, तर बिमा गराउन सक्दैन । दोस्रो तहको तालिममा उच्च तहका ट्रेनरबाट तालिम दिन्छौं । त्यसपछि तेस्रो तहको तालिम हुन्छ । अन्तिममा चौथो चरणको तालिम हुन्छ । युनियन लाइफ इस्योरेन्समा हुने उच्च तहका तालिमहरू म आफैं पनि दिन्छु ।
कुनै अभिकर्तालाई कम्पनीले तालिम दिँदाखेरि कम्पनीको पनि खर्च हुन्छ । त्यसैले अभिकर्तालाई थोरै तालिम या तालिम नै नदिई बजारमा पठाऊ भन्ने त कम्पनीहरू पनि चाहँदैनन् । यसले कम्पनीलाई नै घाटा हुन्छ ।

शाखा प्रमुखलाई तपाईंहरूले अभिकर्ता बढाउन एउटा लक्ष्य दिइएको हुन्छ, त्यसबाट गलत काम हुन सक्छ नि त ?
शाखा प्रमुखहरूलाई हामी अभिकर्ता बनाउने मात्र टार्गेट दिँदैनौं । अभिकर्ताभन्दा पनि प्रिमियम संकलनको टार्गेट दिइएको हुन्छ । उसले त्यो लक्ष्यअनुसार प्रिमियम संकलन गर्नका लागि अभिकर्तालाई लक्ष्यअनुसार तालिम त दिनुपर्छ । राम्रोसँग तालिम दिएन भने प्रिमियम ल्याउन सक्दैन र उसलाई पनि घाटा हुन्छ । सबै कम्पनीले अभिकर्ताको संख्या बढाउन भन्दा प्रिमियम नै टार्गेट दिएका हुन्छन् । अभिकर्ता कस्तो किमिमको व्यक्तिलाई बनाउने, कस्तो तालिम दिने भनेर भनेको शाखा प्रमुखलाई निर्देशन दिइएको हुन्छ । हामीकहाँ अभिकर्ताका लागि उच्च तहको तालिम पनि हुन्छ । आधारभूत र दोस्रो तालिम जसलाई पनि दिन्छौं । त्यसपछि प्रिमियम संकलनका आधारमा समूह बनाएर उच्च तहको तालिम दिन्छौं । त्यसैले गलत व्यक्तिलाई तालिम नै नदिई लाइसेन्स बाँड्ने अर्थ रहँदैन ।
अब बिमा समितिको अगुवाइमा बिमा तालिम केन्द्रसमेत स्थापना भएको छ । यसले एड्भान्स लेभलका तालिमहरू सञ्चालन गर्छ । यसबाट अन्डरराइटिङ, क्लेमलगायतका क्षेत्रमा भोलिका दिनमा आवश्यक जनशक्ति पूर्ति गर्छ ।

बैंक र इस्योरेन्स कम्पनीबीच ‘बैंकास्योरेन्स’ सम्झौता भइरहेको छ । नीतिबिना नै भएका सम्झौताले राम्रो प्रतिफल दिएको छ त ?
बिमा कम्पनी र बैंकहरूबीच कर्पोरेट एजेन्सीको सेवा सञ्चालनबारे सम्झौता भएको छ । बैंकका उद्देश्य, प्रबन्धपत्र र नियमावलीमा बिमा कम्पनीको एजेन्सी भएर काम गर्ने भन्ने उद्देश्य भएको अवस्थामा यो सम्झौता भई काम अघि बढेको हो ।
यसले राम्रो परिणाम दिइरहेको छ । अहिले हरेक व्यक्ति इस्योरेन्सप्रति जागरूक भएका छन् । पहिला–पहिला बैंकहरूले लगानी गर्दा धितो राख्ने, धितोको बिमा गर्ने र लगानी गर्ने गर्थे । बिमा भएको घर कुनै प्राकृतिक प्रकोपका कारण भत्किँदा त बिमा कम्पनीले क्षतिपूर्ति देला, तर जसले ऋण लिएको छ, ऊमाथि पूरै परिवार निर्भर छ, परिवारमा कमाउने व्यक्ति पनि उही हो, यो अवस्थामा उसको मृत्यु भएमा बैंकको ऋण कसले तिर्ने ? बैंकले त घर लिलामी गरेर उठाउला, त्यसपछि घरपरिवारको अवस्था के होला ? त्यसैले गर्दा ऋण लगानी गर्दा ऋणीको पनि बिमा गर्नु राम्रो हो । भोलिका दिनमा ऋणीको अवस्था केही भइहालेमा पनि ऋणका कारण घरपरिवारलाई समस्या नहोस् भनेर बैंकहरूले ऋणीको बिमा गरिरहेका छन् । यदि कुनै समस्या नभएको अवस्थामा पनि १५-२० वर्ष बैंकको ऋण तिर्दा–तिर्दा थलिएको व्यक्तिलाई बिमाको भुक्तानी पाउँदा जीवन सहज हुन्छ । अहिले पूरै खाली भएको बिमा बजारमा विस्तारका लागि जसले काम गरे पनि सहयोग नै पुग्ने हो ।

बिमा गराउने समयमा अनेक प्रलोभन देखाउने र दाबी भुक्तानीमा किचलो झिक्छन् भन्ने सर्वसाधारणको बुझाइ छ नि ?
दाबी भुक्तानीमा धेरै सुधार आएको छ । अझ जीवन बिमा कम्पनीको दाबी भुक्तानीमा त समस्या छैन । पोलिसी पूर्ण भएपछि या पोलिसी अवधिभित्र केही भइहाल्यो भने दाबी भुक्तानी दिने हो । मानिसको मृत्यु भएपछि भइहाल्यो, त्यसमा कति पैसा दिने भन्ने सवाल नै रहँदैन । यहाँ मृत्यु भएपछि पूर्ण मृत्यु हो, पूर्ण पैसा पाउँछ । पोलिसी पूर्ण भएको छ भने जतिको बिमा गरेको हो त्यसमा बोनस जोडेर पाउँछ ।
कहिलेकाहीँ कम्पनी र बिमितबीच समस्या आउँछ । जस्तो बिमितको एउटा किड्नी फेल भएको छ, तर बिमा गर्ने बेलामा म स्वस्थ छु भनेर भनेको छ भने त्यस्तो बिमाको दाबी भुक्तानी दिँदैन । यसमा कम्पनीको गल्ती होइन । सम्बन्धित व्यक्तिले बिमा गर्ने बेला सबै कुरा स्पष्ट भन्नुपर्छ । सबै कुरा स्पष्ट भनेपछि बरु कम्पनीको नियम अनुसार प्रिमियम थप गरेर त्यस्ता व्यक्तिको बिमा गर्न सक्छन् ।

बिमा गर्ने बेलामा अभिकर्ता या एजेन्टले सबै कुरा त बुझाउँदैन नि ?
हरेक बिमा पोलिसीका पछाडि सेवा–सर्तहरू सबै खुलाएको हुन्छ । बिमा गर्ने ग्राहकले पनि यसबारे बुझ्नुप-यो, पढ्नुप-यो । म जमिन किन्दा रजिस्ट्रेसन फर्ममा कति लेखेको छ, पढ्छु कि पढ्दिनँ ? एक रोपनी भनेर किनेको जग्गा रजिस्टे«सनमा ८ आना मात्र छ भने पनि व्यक्तिले किन्छ भने त गल्ती उसैको हो नि । बिमा पोलिसी किन्दा अभिकर्ताले पनि सबै कुरा भन्नुपर्छ र बिमितले पनि सबै कुरा बताउनुपर्छ । अहिले यस्ता समस्या छैनन् । अभिकर्ताले सबै कुरा बताइरहेका छन् ।

अभिकर्तालाई जसरी भए पनि पोलिसी बेच्न प्रोलभन दिने भएकाले झुक्याएर बिमा गरिन्छ नि त ?
यस्तो गरेको छैन । झुक्याएर कसैले पोलिसी बेचेको छ भने त्यो इस्योरेन्स कम्पनीलाई घाटा छ । झुक्याएर बेचेको पोलिसी त बीचैमा फिर्ता हुने भएकाले बिमा कम्पनीलाई त घाटा हुने भयो नि ! अभिकर्तालाई पनि घाटा हुने भयो । ग्राहकलाई पनि सरेन्डर गर्दा घाटा हुन्छ । यसमा सबैलाई घाटा भएपछि झुक्याएर किन बिमा गर्ने ?

युनियन लाइफ इस्योरेन्स सञ्चालनमा आएको डेढ वर्ष हुन लाग्यो । यो अधिमा कम्पनीको प्रगति कस्तो छ ?
यस अवधिमा हामीले धेरै राम्रो प्रगति गरेका छौं । गत आर्थिक वर्षमा ९ महिनाजति काम गरेका थियौं । उक्त अवधिमा ८६ करोड ८५ लाख रुपैयाँ प्रिमियम संकलन ग-यौं । यसपालि दोस्रो त्रैमासिकसम्ममा १ अर्ब ६ करोड प्रिमियम ल्याएको छौं । १ सय २० वटा शाखा र १२ हजार अभिकर्ता भएका छन् । हामीसँग दक्ष र व्यावसायिक समूह छ । सन्तोषजनक रूपमा शाखा विस्तार गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्