तरलता अभावले सेयर बजारमा गिरावट «

तरलता अभावले सेयर बजारमा गिरावट


बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अभाव बढेसँगै सेयर बजार पनि प्रभावित भएको छ । तिहार बिदापछि खुलेको बजारमा दुई दिनमै करिव एक सय अंकको गिरावट आएको छ ।
नेपाली सेयर बजार परिसूचक (नेप्से) सोमबार १९ अंकले घटेकोमा मंगलबार ७९ अंकले घटेको छ । मंगलबार नेप्से सूचकसँगै समूहगत परिसूचक पनि ओरालो लागेका छन् । यसदिन बैंकिङ ३५.९४, व्यापार ६४.६६, होटल तथा टुरिजम ११७.६२, विकास बैंक २९७.१५, जलविद्युत १०१.८४ र फाइनान्स १४४.६७ अंकले घटेका छन् । यसैगरी निर्जीवन बिमा ४६४.४९, उत्पादन १८६.६, अन्य ८०.७५, लघुवित्त १५७.३१, जीवन बिमा ३७९.८३, म्युचुअल फण्ड ०.३४ र लगानी समूह २.५४ अंकले घटेको छ ।
मंगलबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार ४ अर्व ४२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार भने ६ अर्व ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि कम भएपछि बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य रकम (तरलता) को अभाव झेलिरहेका छन् । केही बैंकहरुको कर्जा–निक्षेप (सिडी) अनुपात ९० प्रतिशत नाघेपछि थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरुमा पुँजी, कर्जा र निक्षेप (सिसिडी) अनुपात हटाएर कर्जा र निक्षेप (सिडी) अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेसँगै बैंकिङ प्रणालीमा तरलता अभाव हुन थालेको थियो । नयाँ आर्थिक वर्ष लागेसँगै रेमिट्यान्सको गिरावट र आयात आयात उच्च दरमा बढेपछि बैंकहरुमा तरलता अभाव झनै बढिरहेको छ ।
बैंकहरुले हाल ओभरनाइट रिपो, बोलकबोल रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) जस्ता मौद्रिक औजारमार्फत तरलता व्यवस्थापन गर्दै आएका छन् । तरलता अभाव भएसँगै बैंकर तथा व्यवसायीले केही समयका लागि सिडी अनुपातमा सहुलियत दिन माग गर्दै आएका छन् ।
मंगलबार नेपाल बैंकर्स संघको साधारण सभामा बोल्दै नेपाल राष्ट्र बैैकका गभर्नर महाप्रसाद अधिकारीले पनि केही बैंकहरु एग्रेसिभ हुँदा बैंकिङ प्रणालीमा समस्या आएको बताए । उनले चालु आवको शुरुमै निजी क्षेत्रमा गएको कर्जाका कारण तरलतामा चाप परेको भन्दै यसै बेला रेमिट्यान्स पनि नबढेको र पुँजीगत खर्च पनि कम भएकाले तरलतामा चाप परेको बताए । तर, उनले तरलता अलिकति अभाव हुँदा नआत्तिन आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्