Logo

तिहारमा पाँच लाखको फूल बिक्री


मस्र्याङ्दी गाउँपालिका–९, सिम्पानीस्थित भलामचौर मिच नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै पाँच लाख रुपैयाँ भन्द बढीको फूल बिक्री गरेको छ । भलामचौर मिर्चे नमूना कृषि पर्यटनसँगै व्यावसायिक फूल खेती सुुरु भएको पहिलो वर्षमै पाँच लाख भन्दाबढीको सयपत्री फूल बिक्री भएको हो ।
परियोजना सञ्चालन गरेको सिते बा ग्रुपअन्तर्गत एसजी हसस्पटालिटी नामक कम्पनीले यहि वर्षदेखि फूलको व्यावसायिक खेती सुरु गरेको हो । दुई रोपनी जमिनमा व्यावसायीक फूल खेती गरेको कम्पनीले पहिलो वर्ष करिव १० क्विन्टल फूल उत्पादन गरी बिक्री गरेको जनाएको छ ।
पहिलो वर्षमै मागअनुसारको फूल पु¥याउन नसकिएको व्यवसायीहरुले बताएका छन् । बजार परीक्षणका लागि पहिलो वर्ष थोरै मात्रै फूल खेती गरिएकाले यस वर्ष मागबमोजिम उत्पादन गर्न नसकिएको कम्पनीका उपाध्यक्ष कृष्ण न्यौपानेले बताए । कम्पनीले उत्पादित फूल सबै जिल्लाभित्रै खपत भएको जनाएको छ । विशेष गरी जिल्ला सदरमुकाम बेसीशहरको बजार क्षेत्रमा सबै फूल बिक्री भएको उपाध्यक्ष न्यौपानेले बताए ।
“फूल खेती गरेको पहिलो वर्ष भएकोले बिक्री हुँदैन की भन्ने चिन्ता थियो” उपाध्यक्ष न्यौपानेले भने, “बिक्रीका लागि काठमाडौंसम्म पु¥याउने तयारी थियो, तर जिल्लामै मागअनुसार पु¥याउन सकिएन ।”
कम्पनीले तिहार र गाउँमा आउने पर्यटकलाई लक्षित गरी व्यावसायिक फूल खेती गरेको जनाएको छ । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि करिव एकसय रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर काम सुरु गरेको कम्पनीले यस वर्ष दुई रोपनी जमिनमा व्यावसायिक सयपत्री फूल खेती गरेको थियो ।
तिहारमा हुने फूलको मागलाई लक्षित गर्दै गाउँमा फूल खेती गरिएको र पहिलो अनुभव भएको प्रवद्र्धकहरुले बताएका छन् । गाउँमा उत्पादित फूल सदरमुकाम बेसी शहरसहित काठमाडौंसम्म निर्यात गर्ने योजना बनाएको भएपनि सबै फूल जिल्लाभित्रै खपत भएको र अझै अपुग भएकाले अर्को वर्ष उत्पादन वृद्धि गरिने कम्पनीले जनाएको छ ।
भलामचौरमा व्यावसायिक होमस्टेसमेत सञ्चालन भएको हुँदा उत्पादित फूल गाउँमा आउने पाहुनाका लागि स्वागत र विदाइमा माला तथा गुच्छा बनाउन पनि प्रयोग हुने हुँदा व्यावसायीक फूल खेतीको पनि राम्रो सम्भावना देखिएको प्रवद्र्धक नविनराज कुइँकेलले बताए ।
“होमस्टेमा दैनिक पाहुना आउने क्रम बढेको छ” कुइँकेलले भने, “केही मात्रामा त पर्यटकलाई माला, फूलका गुच्छा बनाउनकै लागि पनि खपत हुने देखियो ।”
कम्पनीले केही वर्षअघि सुरु भएको भलामचौर होमस्टे व्यवस्थापनको समेत जिम्मा लिएको छ । व्यावसायिक होमस्टेसँगै व्यावसायिक कृषि उत्पादनको कामपनि सुरु गरीसकेको कम्पनीले जनाएको छ । कम्पनीले पहिलो वर्ष करिव ५० रोपनी जमिनमा ९० वटा टनेल निर्माण गरी तरकारी उत्पादन समेत थालेको छ ।
कृषि उत्पादन र होमस्टे व्यवसायसँगै स्थानीयलाई कम्पनीले रोजगारी दिएको छ । रोजगारी नपाएर गाउँमै बेरोजगार बसेकाहरु पनि परियोजना सञ्चालन भएसँगै रोगजारी पाएका छन् । भलामचौरमा सुरु भएको व्यवस्थित होमस्टे र नमुना कृषि उत्पादनले स्थानीय मात्रै नभई जिल्लाकै पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने स्थानीयको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्