चाडपर्वमा सुनचाँदीको कारोबार उत्साहजनक «

चाडपर्वमा सुनचाँदीको कारोबार उत्साहजनक


नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताए । उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए ।
अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताए ।
उनले मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा आशावादी रहेको बताउनुभयो । अध्यक्ष शाक्यले कोरोना बिरुद्धको भ्याक्सिन लगाइसकेपछि सुनचाँदीको व्यापारले पनि राम्रो लय समातेको दावी गरे । दसैं र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको उनको भनाइ छ ।
“ गत वर्ष कोरोनाको कारणले गर्दा व्यापारमा नराम्रो प्रभाव परेको थियो, त्यसको तुलनामा यस वर्ष उत्साहजनक व्यापार भएको छ, यस वर्षको दसैंमा दिनको ४० किलोको हाराहारीमा सुनको बिक्री भएको छ” उनले भने, “तिहारको बेलामा लगभग ४० किलोको हाराहारीमै दैनिक व्यापार भइरहेको छ, धन्तेरसको दिनमा लगभग ५० किलोको हाराहारीमा माग आएको थियो ।”
अध्यक्ष शाक्यले सरकारले सुनचाँदी सप्लाइ (वितरण) को नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै देश संघीयताको राज्य पुनः संरचनामा गइसकेकोले सुनको सप्लाइ (वितरण)लाई पनि काठमाडौंमा केन्द्रित नगरी सातै प्रदेशको राजधानी मार्फत् वितरण हुनुपर्ने बताए ।
“यो जुन सप्लाइको सिस्टम छ, यसलाई हामीले विशेष गरेर वैज्ञानिक र पारदर्शी बनाउन जरुरी छ, यसलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्छ” उनले भने, “हामी रिसेन्ट्ली नेपाल राष्ट्र बैंक जाँदै छौँ, अर्थ मन्त्रालय लगायत विभिन्न नियामक निकायहरुमा यही सुनको सप्लाइसँग सम्बन्धित विषयमा छलफल गर्दैछौं ।”
उनले देश संघीयताको राज्य पुनः संरचनामा गइसकेको अवस्थामा सुनको सप्लाइ पनि सातै प्रदेशको राजधानीबाट वितरण हुनुपर्ने उनले बताए । मोफसलमा रहेका व्यवसायीहरुले पनि सुन किन्न काठमाडौं आउनुपर्ने अवस्थाको अब अन्त्य हुनुपर्ने महासंघको माग रहेको उनले बताए । अध्यक्ष शाक्यले आपूर्तिको २० किलो कोटालाई प्रतिदिन ३० किलो बनाएर जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्