प्रदेश–२ मा नक्कली चुरोटको बिगबिगी «

प्रदेश–२ मा नक्कली चुरोटको बिगबिगी

सिरहा, धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण हुने गरेको पाइएको छ ।
नेपाल र भारत सीमासँग जोडिएका अधिकांश बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरेको पाइएको छ । यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश–२ का आठै जिल्लामा रहेको पाइएको छ ।
धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको नेतृत्वमा खटिएको टोलीले क्षिरेश्वर नगरपालिका ५ स्थित शंकर जेनरल स्टोर्स र चन्दन किराना स्टोर्समा छापा मारेर सूर्य नेपाल प्रालिको जस्तो प्याकेजिङ भएको ४९९ थान खुकुरी ब्राण्डको नक्कली चुरोटको पयाकेट बरामद गरेको छ । नक्कली चुरोटसहित पसलका सञ्चालक शंकर साहलाई प्रहरी नियन्त्रनमा लिएर आन्तरिक राजस्व कार्यालय जनकपुरधाम पठाएको छ ।
सरकारले नीति नियम कार्यान्वयन गर्न नसक्दा नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हुँदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनाएको छ ।
प्रभावकारी अनुगमन हुन नसक्दा नक्कली पदार्थ बिक्री भइरहेको छ भने राजस्व छलीसमेत हँुदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । पछिल्लो एक महिनामा विभिन्न स्थानबाट ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अवैध रुपमा भित्रिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्