छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुल्यो : ऊर्जामन्त्री भुसाल «

छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुल्यो : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् ।
मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताइन् । उनले भारतमा विद्युत व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।
मन्त्री भुसालले भनिन्, “ऊर्जा व्यापार पहिलेदेखि नै सुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौं, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत खरिद गर्ने सहमति गरेर सप्लाइ सुरु भइसकेको छ, त्यसैले विद्युत व्यापारको सुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ, यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो हो, हामीकहाँ क्रमशः जलविद्युत उत्पादन हुँदै गइरहेको छ, आन्तरिक खपत पनि बढाउने आवश्यक्ता छ, त्यसको पनि अध्ययन र तयारीमा छौं, तर हामीसँग बढी नै इनर्जी हुने कुराको निर्यात गर्नसक्ने, पाउने नयाँ स्थितिमा पुगेका छौं, यसले विद्युतको व्यापार मात्रै हुन्न, हाम्रो व्यापारको असन्तुलन छ, व्यापार घाटा बढी छ, त्यसलाई क्रमशः न्यूनीकरण गर्ने भूमिका खेल्छ, भर्खर हामीले भारतमा विद्युत व्यापार सुरु गरेका छौं, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षीय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।”
मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यासलगायतका ऊर्जाहरूलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषिप्रदान देश भएकाले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने बताइन् । मन्त्री भुसालले उद्योगहरूलाई अब चाहिए जति विद्युत दिनसक्ने बताउँदै उर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन् । उनले आन्तरिक खपतको लागि विद्युत महसुल घटाएको बताइन् ।
मन्त्री भुसालले भनिन्, “पहिला आन्तरिक खपतको निम्ति सहज होस् भनेर विद्युतको महसुल नै घटाएँ, अब घर भान्सामा प्रयोग हुने उर्जामा अब जलविद्युत् मात्रै हुनसक्छ, एलपी ग्यासलगायतका ऊर्जाभन्दा यो सस्तो छ, त्यसैले होल डोमेस्टिक कन्जम्सनमा खास गरेर एलपी ग्यास प्रयोग भएको छ, त्यसलाई विस्थापित गर्नका निम्ति यसले मद्दत गर्नेछ, कृषिप्रदान देश तर हामी मौसममा भर पर्ने गरेका छौं, सबै खेतीयोग्य जमिनमा सिँचाइ छैन, त्यसैले जहाँ खेतीयोग्य जमीन त्यहाँ सिँचाइ पु¥याउने नीति छ, सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर पनि हामी सिँचाइमा पु¥याउँदै छौं र त्यसको निम्ति मैले विद्युत महसुल एकदमै न्यून गरेकी छु, क्रमशः यसलाई निःशुल्क बनाउने सोचमा रहेको जानकारी गराउँछु, यसले कृषिको उत्पादन र उत्पादकत्व पनि बढाउनेछ, विद्युतको खपत पनि हुनेछ र अहिले डिजेल, पेट्रोलबाट पम्पसेट चलाएर सिँचाइ गर्ने चलनलाई यसले विस्थापित गर्नेछ, उद्योगले भनेजति जलविद्युत् पाउनुभएको थिएन, अब हामी जसले जति माग्छ पर्याप्त दिन तयार छौं, हामीकहाँ सञ्चालनमा रहेका, फुलफेजमा चल्न पाउने, ऊर्जा खपत गर्ने खालका उद्योग छन्, आन्तरिक खपतबाट अघि बढ्नेछ, यसले अन्तिममा पेट्रोलियम पदार्थ, एलपी ग्यासलगायतलाई विस्थापित गर्न सक्दा व्यापार घाटालाई सकारात्मक ढंगले सन्तुलनमा ल्याउने माध्यम बन्नेछ ।”
मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई विस्थापित गर्नसके नेपालको व्यापार घाटामा सुधार हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्