Logo

मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत

मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेका थिए । बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ ।
सोमबार भएको मत विभाजनमा प्रदेश सभामा कायम सदस्य संख्याको बहुमत पुगेकोले विश्वासको मत प्राप्त भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । मुख्यमन्त्री पाण्डेलाई नेकपा (माओवादी केन्द्र)को २३ जना, नेपाली कांग्रेसको २२ जना, नेकपा (एकीकृत समाजवादी)को १३ जना र जनता समाजवादी पार्टीका एक सांसदले मत दिएका थिए ।
बिश्वासको मत दिने प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा (एमाले) र विवेकशील साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदूर किसान पार्टीका सांसद तटस्थ बसेका थिए । प्रदेश सभाको आजको बैठकमा १०४ जना सांसद उपस्थीत थिए ।

प्रतिक्रिया दिनुहोस्