तिहारमा फूलको व्यापार र राष्ट्रवादको ढोंग
स्वदेशमा उत्पादन भएको फूलको भण्डारण व्यवस्थित रूपमा हुन नसक्दा पनि हाम्रा चाडपर्वमा फूलको अभाव हुन पुगेको हो ।
फूलैफूलको चाड तिहार अर्थात् दीपावली सकियो । यस चाडमा सबैभन्दा बढी व्यापार फूलको नै हुने गर्छ । तिहारमा मखमली र सयपत्री फूलको विशेष महत्व रहेको पाइन्छ । तर, तीबाहेक यस पर्वमा अन्य फूलहरू पनि नफुल्ने होइनन् । नेपाली बजारमा केही वर्षदेखि फूलको राम्रै व्यापार हुन थालेको छ । तिहारमा अन्य समयको भन्दा बढी फूलको बिक्री हुने गरेकाले यसको व्यापारमा अन्तर्राष्ट्रिय बजार पनि प्रभावित भएको पाइन्छ । पूजाआजामा मात्र सीमित यसको प्रयोग स्वागत र बिदाइमा पनि हुन थालेको छ । जसका कारण यसको व्यावसायिक उद्देश्यका साथ फूलखेती पनि फस्टाउन थालेको छ ।
बारीका डिलमा वा अन्य कुनै खाली जग्गाको छेउछाउमा फूल लगाउने चलन नेपाली समाजमा हिजोआज चलेको होइन, यो त परापूर्वकालदेखि चलिआएको चलन हो । तर, व्यावसायिक रूपमा यसको खेती नै हुन थालेको धेरै भएको छैन ।
नेपाली समाजमा देवीदेवताको पूूजाआजा गर्दा होस् वा अन्य शुभकार्यमा फूलको प्रयोग त हुने गरेकै हो, तर अहिले फूलको प्रयोगमा पनि व्यापकता बढेको छ । हिजो पूजामा मात्र सीमित फूल अहिले खेतीका रूपमा समेत लोकप्रिय बन्न पुगेको छ । नेपाली चाडपर्वमा पर्याप्त मात्रामा फूलको प्रयोग हुन्छ भन्ने एकमात्र उदाहरण तिहार हो । फूलको प्रयोग र व्यापकता दर्साउने एकमात्र पर्व तिहार वा दीपावलीलाई नै मान्न सकिन्छ ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने महŒवपूर्ण मालामध्ये मखमली फूलको माला पनि पर्छ । मखमली फूलको मालाबिनाको तिहारको कुनै महत्व नै नभएको पाइन्छ । जबसम्म मखमली फूलको माला ओइलाउँदैन तबसम्म दाजुभाइलाई लिन आउँदिन भन्ने यमराजको उक्त भनाइबाट के प्रस्टिन्छ भने यस पर्वलाई दिदीबहिनी र दाजुभाइको घनिष्ठ पर्वका रूपमा लिइन्छ । फूलको धार्मिक, सांस्कृतिक, जैविक महŒव पनि व्यापक रूपमा रहेको छ भन्ने दृष्टान्तलाई फूलको सर्वाङ्गीण प्रयोगले सिद्ध गरेको छ । फूललाई आयुर्वेदले औषधिका रूपमा पनि उल्लेख गरेबाट फूलको महत्व व्यापक रहेको पाइन्छ । फूलबाट सुगन्धित प्रसाधन, अत्तर आदि पनि निर्माण हुने भएकाले प्रायः सबैलाई फूलले आकर्षित गर्नु कुनै नौलो कुरा होइन ।
तर, नेपालमा गरिने फूल व्यापारले व्यावसायिक रूप लिन नसक्दा नै हामीहरूले विदेशको भर पर्नुपरेको हो । तिहारको बेला घर, पसल, चोक सबैतिर सजाउन फूलको माला आवश्यक पर्छ । देशका विभिन्न भागमा गरिएको फूलखेतीले देशको माग धान्न नसकेका कारण विदेशबाट फूल निर्यात गर्नुपरेको हो । खासगरी भारतबाट नेपालमा बढी फूल निर्यात हुने भएका कारण नेपालमा भारतीय फूलको बजार फस्टाएको हो । नेपालमा फूलको बढी कारोबार र खपत काठमाडौंमा नै हुन्छ । स्थानीय फूलको बीउ लोप भइसकेका कारण नेपाली कृषकले विदेशी फूलको बीउमा निर्भर हुनुपरेको छ । यो नेपाली कृषकका लागि ज्यादै विडम्बनाको कुरा हो । नेपालमा लगाइने अधिकांश फूलका बीउ भारतबाट नै निर्यात गरिन्छ । यसरी विदेशबाट बीउ तथा फूल अयात गर्नुपरेको छ । किनकि नेपालमा फूलको उत्पादन नभएका कारण विदेशबाट बढी आयात गर्नुपरेको हो । एकातिर हामी विदेशी फूलमा निर्भर हुनुपरेको छ भने अर्कातिर हाम्रा स्थानीय फूलका बीउ पनि लोप भएर गएका छन् । यसका लागि राज्य पक्षले हालसम्म कुनै ध्यान दिन सकेको छैन । हाम्रा पहिचानहरू गुम्दै गएका छन् । यसप्रति कसैको चासो नहुनु पक्कै पनि थप चिन्ताको कुरा हो ।
फेरि एकातिर स्वदेशमा उत्पादन गरिएको फूलको मूल्यभन्दा भारतीय बजारबाट नेपालमा आयात गरिएको फूलको मूल्य कम भएका कारण फूल उत्पादकहरूले घाटा खानुपरेको छ । बजारमा उपभोक्ताले आफ्नो गच्छेअनुसारका सामान किन्ने हो । उपभोक्ताले राष्ट्रियता बचाउने होइन । सरकारले नीतिगत व्यवस्था गरेर स्वदेशी किसानलाई संरक्षण गर्ने हो । तर, नेपालमा राष्ट्रियताका नाममा उपभोक्ताले बढी मूल्य तिरिदिनुपर्ने जस्ता कुतर्क गरिन्छ । उपभोक्ताले बजारमा सस्तो फूल र माला पाउँदापाउँदै महँगो तिरेर नेपाली किन्छन् भन्नु मुर्खता हो ।
त्यस्तै, स्वदेशमा उत्पादन भएको फूलको भण्डारण व्यवस्थित रूपमा हुन नसक्दा पनि हाम्रा चाडपर्वमा फूलको अभाव हुन पुगेको हो । देशका विभिन्न भागमा फूलको खेती भए पनि त्यो नगण्य रूपमा हुँदा नेपाली बजारमा विदेशी फूलको निर्यात बढेको हो भन्न सकिन्छ । चितवन, धादिङ, नुवाकोट, काभ्रे, ललितपुर आदि ठाउँमा उत्पादन हुने गरेका मखमली र सयपत्रीलगायतका फूलले बजारको माग धान्न नसकेका कारण हाम्रो फूल बजार अन्य विदेशी फूल बजारमा निर्भर हुनुपरेको हो भन्दा अत्युक्ति नहोला । एकातिर नेपालमा व्यावसायिक फूल खेती हुन सकेको छैन भने अर्कातिर फूलको शीतभण्डार नभएका कारण पनि हामीले विदेशमा भर पर्नुपरेको हो । फूलको भण्डारण गर्ने शीतगृहको अभावमा उत्पादित फूलको उचित व्यवस्थापन नभएको हो । देशका विभिन्न भागमा स्थापना भएका नर्सरीहरूले फूलको व्यावसायिक उत्पादन गर्न नसक्दा पनि यसको समस्या दिनप्रतिदिन बढ्न गएको हो । सरकारको स्पष्ट नीति तथा कार्यक्रमको अभावका कारण पनि यो क्षेत्रको विस्तार हुन नसकेको हो । दिनहुँ थुप्रै युवा विदेश पलायन भएको अवस्थामा सरकारले स्पष्ट नीतिको तर्जुमा गर्ने हो भने बेरोजगारीको समस्या पनि केही हदसम्म न्यून हुन जान्छ र देशको अर्थतन्त्र पनि मजबुत हुने भएका कारण यसतर्फ सरकारले नीतिगत व्यवस्था गरी स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउनतर्फ बेलैमा ध्यान जानु अत्यावश्यक छ ।