जन्मदिनमा स्कुललाई पुस्तक सहयोग «

जन्मदिनमा स्कुललाई पुस्तक सहयोग

 भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इंग्लिश स्कुलका विद्यार्थीले जन्मदिन मनाउने रकमबाट दुईवटा स्कुललाई पुस्तक सहयोग गरेका छन् । स्कुलका विद्यार्थीले आफ्आफनो जन्मदिनको दिन संकलित सहयोग रकमबाट दुर्गम स्कुललाई पुस्तक सहयोग गरेका हुन् ।
बुधबार भएको स्कुलको ३६ वार्षिक समारोह एवं पुरस्कार वितरण कार्यक्रममा उक्त पुस्तक सहयोग हस्तान्तरण गरिएको हो । जन्मदिनमा चकलेटलगायत किनेर साथीहरुलाई नबाँडी रकम कोषमा राखेर संकलित रकमबाट ती स्कुलहरुलाई पुस्तक सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् ।
स्याङ्जाको हिमाली मावि र डोटीको पद्म पब्लिक मुक्ति नारायण माविलाई पुस्तक सहयोग गरिएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले संयुक्त रुपमा ती स्कुलका प्रतिनिधिहरुलाई किताब हस्तान्तरण गरे । हिमाली माविका दीपक चापागार्इं र मुक्ति नारायण माविका गीता जोशीलाई पुस्तक हस्तान्तरण गरिएको हो । दुवै माविलाई प्रतिस्कुल दुई लाख १६ हजार पाँच सय रुपैयाँराबरको पुस्तक हस्तान्तरण गरिएको छ । दुवैलाई प्रतिस्कुल एक हजार सात सय ३४ थान पुस्तक हस्तान्तरण गरिएको हो । साथै हिमाली माविलाई दश हजार पाँच सय र मुक्तिनारायण माविलाई १५ हजार सात सय ५० रुपैयाँबराबरको स्टेशनरी सामान पनि सहयोग गरेको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुलका विद्यार्थीको जन्मदिनमा सहपाठीहरुलाई चकलेटलगायत खाद्य पदार्थ किनेर बाँड्नु भन्दा नयाँं संस्कारको सुरुवात गर्ने उद्देश्यका साथ एभरेष्ट टिएन वर्थ डे फण्ड स्थापना गरेको जनाए ।

प्रतिक्रिया दिनुहोस्