मोटरसाइकल एसेम्बलिङ उद्योगलाई नयाँ मापदण्ड «

मोटरसाइकल एसेम्बलिङ उद्योगलाई नयाँ मापदण्ड

सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ मापदण्ड अगाडि सारेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तगर्तको उद्योग विभागले सोमबार नयाँ मापदण्ड ल्याएको हो । विभागले मोटरसाइकलका पार्टपुर्जामात्र आयात गरी नेपालमै जडान (एसेम्बल) गर्ने उद्योगका निमित्त यस्ता मापदण्ड ल्याएको हो ।
विभागका अनुसार यस्ता उद्योगले पहिलो वर्षमा कम्तीमा १० प्रतिशत र पाँच वर्षको अन्त्यमा कम्तीमा ३० प्रतिशतको आन्तरिक मूल्य अभिवृद्धि गर्नुपर्ने जनाइएको छ । यस्तै दोस्रो मापदण्डमा पहिलो वर्षमा कम्तीमा ५० प्रत्यक्ष कर्मचारी र पाँच वर्षमा कम्तीमा दुई सयजना प्रत्यक्ष कर्मचारीलाई रोजगारी दिइनुपर्ने उल्लेख गरिएको छ ।
मोटरसाइकल उद्योगले पाँच वर्षभित्र कम्तीमा १० प्रतिशत घरेलु सामग्री प्रयोग गर्नुपर्ने विभागले तोकेको तेस्रो मापदण्डमा उल्लेख गरिएको छ । यस्तै चौथो मापदण्डमा वातावरण विभाग, यातायात व्यवस्था विभाग, उद्योग विभाग आदिजस्ता सम्बन्धित सरोकारवाला निकाय सम्मिलित समितिले वातावरण र सुरक्षाको सम्बन्धमा परीक्षण गर्ने जनाइएको छ । विभागले सीकेडी (कम्प्लिट्ली नक्ड डाउन) अर्थात पूर्णरूपमा पार्टपुर्जा आयातका आधारमा स्थापना गरिने उद्योगका हकमा यस्तो मापदण्ड लागू गरेको हो । नेपालमा हाल गोल्छा समूहअन्तर्गतको हंसराज हुलासचन्द कम्पनीले नवलपरासीमा बजाज ब्राण्डका मोटरसाइकल उत्पादनका लागि यस्तो उद्योग स्थापनाा गरिसकेको छ । शंकर समूहले टीभीएस र एमएडब्लू इन्टरप्राइजेजले यामहा ब्राण्डका मोटरसाइकल पनि उत्पादन प्रक्रिया अघि बढाएका छन् ।
नेपालमा सीबीयू (कम्प्लिट्ली बिल्ड युनिट) अर्थात् आफैं पार्टपुर्जा उत्पादन गरेर तयारी मोटरसाइकल उत्पादन गर्ने फ्याक्ट्री स्थापनाको सम्भावना नरहेकाले सीकेडीका हकमा नयाँ मापदण्ड ल्याइएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल बताउँछन् । उनका अनुसार, नेपालमा यसअघि खुलेका उद्योग तथा अब खुल्ने उद्योगका लागि यो मापदण्ड लागू हुनेछ । स्वदेशमा रोजगारी सिर्जना भइ केही वस्तुका उत्पादनसमेत नेपालमै भएर सहायक कम्पनीहरू पनि खुल्न सकुन् भन्ने उद्देश्यले नयाँ मापदण्ड ल्याइएको उनको भनाइ छ ।
सीकेडी अर्थात् पूरै नकडाउन कार÷बाइक भनेको एउटै एसेम्बल युनिटको रूपमा नभई पार्टपुर्जाहरूमा आयात वा निर्यात गरिन्छ । त्यस्ता इकाइहरू पहिले लक्षित देशको एक एसेम्बली प्लान्टमा पठाइन्छ जहाँ यी सबै भागहरू एसेम्बल गरिन्छ र आयातित कम्पोनेन्टहरू प्रयोग गरेर एउटा पूरा गाडी बनाइन्छ । सवारी साधन बनाउनका लागि कम्पोनेन्टहरू एसेम्बल गर्न थप मेसिनरी र जनशक्तिको लगानी आवश्यक हुने भएकाले लक्षित देशमा यस्ता एकाइहरूले रोजगारी सिर्जना गर्छन् ।
सीकेडी र सीबीयू प्राविधिक ज्ञानको हिसाबले धेरै फरक छैन । सीबीयू बाइक एउटै देशमा भेला हुन्छन् जहाँ तिनीहरू उत्पत्ति हुन्छन् र त्यसपछि लक्षित देशमा निर्यात गरिन्छ । सीकेडी बाइक भने लक्षित देशमा एसेम्बल गरिन्छ, जहाँ सवारीका सबै भागहरू एसेम्बल गरिन्छ र त्यसपछि अन्तिममा ग्राहकहरूलाई बेचिन्छ । भारतीय औद्योकि क्षेत्रमा सीबीयू र सीकेडीमा आयात शुल्कमा ठूलो भिन्नता छ । नेपालमा भने हाल पहिलो उद्योगमात्र खुलेको भएकाले नीति बन्ने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्