कैलालीमा हुलाकी सडक स्तरोन्नति सुस्त «

कैलालीमा हुलाकी सडक स्तरोन्नति सुस्त

धनगढी-कैलालीमा निर्माणाधीन दुई हुलाकी सडक स्तरोन्नति कार्य सुस्त गतिमाभइरहेको छ । ३० महिनामा सम्पन्न गर्ने लक्ष्य भएपनि १४ महिना अवधिमा १५ प्रतिशतमात्रै कार्य भएको हो । करिब आधा अवधि गुज्रिँदा कम भौतिक प्रगति भएकाले सडक निर्माणले गति लिन सकेको छैन ।
धनगढी–भजनी–सत्ति र लम्की–टीकापुर–खक्रौला निर्माण भएको सडकको चौडाइ बढाउन स्तरोन्नति हुँदैछ । तर ती सडकमा माटो भर्ने कामसमेत सकिएको छैन । धनगढी–भजनी–सत्तिमा सडकमा माटो भर्ने काम ८० प्रतिशत सकिएको छ भने लम्की–टीकापुर–खक्रौला सडकमा ६० प्रतिशत सकिएको आयोजना इन्जिनियर पदम मडैले बताए ।बाँकी १६ महिनामा निर्माणकार्य सम्पन्न नहुने देखिएको मडै बताउँछन् । धनगढी–भजनी–सत्ति सडकमा समग्र प्रगति १५ प्रतिशत र लम्की–टीकापुर–खक्रौला १० प्रतिशत भएको छ । “सबै ठेक्काको ४० प्रतिशतको हाराहारीमा प्रगति भएको हुनुपर्दथ्यो तर भएन,” उनले भने, “नयाँ ठेक्कामा कोरोनाले बाधा पुग्यो, गतवर्षको साउन १ गतेबाट गर्ने गरी सम्झौता भएपनि पानीले गर्दा साउन भदौमा काम नभई असोजमा मात्रै सुरू भयो ।”
लम्की–टीकापुर–खक्रौला सडकको लम्की क्षेत्रमा साढे दुई किलोमिटरको चार लेनको संरचनाको काम भने सकिन थालेको छ । त्यहाँ आगामी फागुन–चैतमा कालोपत्रे गर्ने काम भइसक्ने आयोजनाले जनाएको छ । लम्कीदेखि आठ किलोमिटर सडकमा माटो भर्ने काम ८० प्रतिशत सकिएको जनाउँदै आगामी असारसम्म कालोपत्रे सक्नेगरी काम भइरहेको मडैले बताए । तर बाँकी सडक भने समयमा नसकिने उनले बताए । ८ देखि १९ किलोमिटर दूरीको दोस्रो खण्डअन्तर्गत २० प्रतिशत माटो भर्ने र २ किलोमिटर नाली बनेको छ । सडकमा पर्खाल बनाउने काम सकिएको छ भने एउटा कल्भर्ट बनाउन बाँकी छ । यस्तै १९ देखि २९.७ किलोमिटरसम्मको तेस्रो खण्डमा माटो भर्ने र अन्य संरचना निर्माणको काम४०÷४० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
धनगढी–भजनी–सत्ति सडकमा क्याम्पस चोकदेखि सात किलोमिटरको पहिलो चरणमा तीन किलोमिटर दूरीमा मात्रै नाली बनेको छ भने एक किलोमिटर पर्खाल बनेको छ । यस खण्डमा माटोभर्ने काम ८० र अन्य संरचनाको काम ७० प्रतिशत सकिएको छ । यस खण्डमा समग्र प्रगति ३० प्रतिशत मात्रै भएको छ । तर यस खण्डको साढे तीन किलोमिटर दूरीमा चार लेन सडक बनाउने काम समयमै सकिने मडै बताउँछन् । चौथो खण्डको कटैनीदेखि कान्द्रासम्मको १८ किलोमिटरको पुरानो ठेक्कामा १५ प्रतिशत प्रगति छ ।
धनगढी–भजनी–सत्तिको धनगढीमा साढे तीन किलोमिटर र लम्की–टीकापुर–खक्रौलाको लम्की क्षेत्रमा साढे दुई किलोमिटर र टीकापुरमा तीन किलोमिटर सडकलाई चार लेनको बनाइँदैछ । धनगढी र लम्कीको चार लेनको काम समयमा सकिने गरी अगाडि बढेपनि टीकापुरको चार लेन सडकको काम सुस्त गतिमा भइरहेको हो । टीकापुरको चारलेनको समग्र प्रगति १० प्रतिशत मात्रै छ ।
६० किलोमिटरको धनगढी–भजनी–सत्ति र २९.७ किलोमिटरको लम्की–टीकापुर–खक्रौला सडक यस अघि ओटासिल प्रविधिबाट निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएकै वर्षदेखि भत्किन थालेपछि अब अलकत्रा प्रविधिबाट निर्माण गरिने मडैले बताए । दुवै सडकको लागत अनुमान दुई अर्ब रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्