इजरायल जान छनोट भएका युवाको प्रहरी प्रतिवेदन र स्वास्थ्य परिक्षण गरिदै «

इजरायल जान छनोट भएका युवाको प्रहरी प्रतिवेदन र स्वास्थ्य परिक्षण गरिदै

सबैलाई छिटो पठाउने गरी अन्य प्रक्रिया समेत तत्काल गरिने

वैदेशिक रोजगार विभागले रोजगारीमा लागि ईजरायल जान छनोट भएका युवालाई तत्तकाल पठाउने गरी प्रक्रिया अघि बढाएको छ ।
विभागले पहिलो चरणमा रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका युवाको प्रहरी प्रतिवेदन र स्वास्थ्य परिक्षण सम्पन्न गरी इजरायल पठाउने तयारी गरेको हो ।
दशै र तिहारको लामो बिदामा कारण प्रक्रियाका लागि थप ढिलाई भएका कारण केही दिन भित्र प्रहरी प्रतिवेदन र स्वास्थ्य परिक्षण गर्न सूचना आवहान गरी छिटो रोजगारीमा पठाउने विभागको तयारी छ । विभागका निर्देशक एवम ईजरायल रोजगारीका फोकल पर्सन डम्बर सुनुवारले छनोट भएका मध्ये ईजरायलबाट नामावली आएका युवाको स्वास्थ्य परिक्षण र प्रहरी प्रतिवेदनको काम गर्न केही दिनमा सूचना सार्वजानि गर्ने बताए । “दशै र तिहारका कारण ईजरायलको प्रक्रिया केही सुस्त भएपनि अब भने छिटो छरितो प्रक्रिया पुरा गरेर पठाउने काम हुन्छ ।” निर्देशक सुनुवारले कारोबारसग भने “ईजरायलले स्वास्थ्य परिक्षणको मापदण्ड समेत पठाईसकेका कारण तोकिएका स्वास्थ्य संस्थामा मेडिकल गर्ने व्यवस्था मिलाईएको छ । मेडिकल र प्रहरी प्रतिवेदनको लागि सूचना सार्वजानिक गरेर क्रमस अन्य सबैको काम गरिने भएको छ ।
ईजरायल जाने श्रमिकका लागि विभाग क्रमस प्रहरी प्रतिवेदन, पिसिआर सहितको स्वास्थ्य परिक्षण, अभिमुखिकरण, श्रम स्वीकृती र उडान तालिका तयार गर्ने जनाएको छ । इजरायलको रोजगारीका लागि दीर्घकालिन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनौटको अन्तिम नतिजा सार्वजनिक भएपछि सरकारले नेपाली युवा त्यहाँ पठाउने प्रक्रिया शुरु गरेको २ महिना भएको छ । पिवाले छनोट भएका युवाको रोजगार सम्झौताको काम सकेपछि नेपाली पक्षबाट गरिने प्रक्रिया शुरु गरिने छ । रोजगार सम्झौता भएका युवाको स्वास्थ्य परिक्षण, प्रहरी प्रतिवेदन (आचरण प्रतिवेदन), करारनामा र पुर्वप्रस्थान अभिमुखिकरण लगायतका काम क्रमस शुरु गरिने छ । इजरायलले हाल अन्तिम चरणमा छनोट भएका नेपालीको रोजगार सम्झौता, भिसा र अन्य प्रक्रियाको बारेमा काम गरिरहेको छ ।
इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने सहायक कामदारको अन्तिम छनौटका लागि नेपालले पिवालाई उपलब्ध गराएको योग्यताक्रम सूचिका १ हजार ६०० जना उम्मेदवारहरु मध्येवाट १ हजार १७५ रोजगारीका लागि योग्य भएका थिए । पिवा द्वारा सार्वजनिक गरिएको चिट्ठा प्रणाली (लट्री–रेन्डम सेलेक्सन) बाट छनौट भएका उम्मेदवारहरुको स्वास्थ्य परिक्षण, प्रहरी प्रतिवेदन, अभिमुखिकरण, करार र श्रम स्वीकृतीका सम्बन्धमा विभिागले केही दिन भित्र सूचना सार्वजानि गर्ने भएको छ । इजरयलले त्यहाँका दीर्घकालिन स्याहार केन्द्रमा रोजगारी दिने गरी पहिलो चरणमा नेपालबाट १ हजार युवा माग गर्ने जनाएपनि विभागले पठाएको नामावलीका आधार पिवाले थप १७५ को नामावली विभागमा पठाएको थियो । मेडिकल लगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमान सहित निर्धारण गरिएको भन्दा थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ । यसका महिलाको ८२१ र पुरुष ३५४ रहेका छन ।
इजरायलले पठाएको नामावलीको आधारमा क्रमस १ हजार १७५ जनालाई नै अभिमुखिकरण तालिम समयमा नै सम्पन्न गर्ने गरी तयारी गरिएको छ । विभागले ईजरायलको पिवाबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दुताबास पठाउने गरी काम भईरहेको जनाएको छ । विभागले ईजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैया भन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ बर्षको हुने भए पनि करार थपिएर ५ बर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पिसिआर सहितको स्वास्थ्य परिक्षण, कल्याणकारी कोषमा सहति १ लाख ६५ हजार ७०० शुल्क लाग्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्