कांग्रेस बैठकमा चुनाव पराजयको समीक्षा नै भएन

निर्वाचनमा पराजय बेहोरेपछि पहिलो पटक बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनको कुनै समीक्षा नै भएन । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको बैठकमा नेतृत्वको कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाए पनि उक्त एजेण्डामा बैठक प्रवेश गरेन । कांग्रेस सभापति देउवाले महासमिति बैठक बोलाउने प्रतिवद्धता जनाएपछि असन्तुष्ठहरूको आक्रोश मत्थर भएको थियो । नेतृत्वको आलोचना गर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू थिए । महामन्त्री सशांक कोइरालानिकट केन्द्रीय सदस्य दिपक गिरीले नेतृत्व मनोमानी ढंगबाट चलेको आरोप लगाउँदै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेकोे बताए । तर, प्रतिनिधिसभा निर्वाचनमा पराजित उनले प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ नतोकिएपछि पार्टी सभापति एव् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट भएकाले बहिस्कार गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताए । उनले संविधान निर्माणपछि तराई मधेशमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनसक्नु काँग्रेसको सफलता भएको बताए । बैठकमा उनले लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि सभापतिको हैसियतले सम्पूर्ण नेता कार्यकर्तामा बधाई ज्ञापन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सभापति देउवाले बैठकमा हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम काँग्रेस अनुकूल आउन नसकेका कारणबारेमा व्यापक छलफल र अन्तक्र्रिया गर्न जरुरी रहेको बताएका थिए । “निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ, राज्यको पुनःसंरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गर्न उक्त बैठकले दिशानिर्देश गर्नेछ, पार्टीका सबै तह र भ्रातृ एवं शुभेच्छुक संस्थासमेतमा नवीन रक्तसञ्चार गर्न केही नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने छौं”, प्रधानमन्त्री देउवाको सम्बोधनलाई उद्धृत गर्दै प्रवक्ता शर्माले भने ।
माघ २४ गते निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० गते हुन लागेको सन्दर्भमा तत्कालै उम्मेदवारी चयन र निर्वाचनको तयारीमा बैठक केन्द्रित हुनुपर्ने बताउँदै प्रधानमन्त्री एवं सभापति देउवाले तत्काल केहीदिनमै केन्द्रीय कार्यसमितिको अर्काे बैठक बोलाई पुनः लामो छलफल र बहस गरिने जानकारी गराएका थिए ।
बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयका बारेमा अर्काे बैठकमा विस्तृत समीक्षा गर्नुपर्ने बताउँदै राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य, आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्नेलगायत विषयमा धारणा राखे । बैठकमा पार्टी नेताहरू विमलेन्द्र निधि, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, कल्याण गुरुङलगायतले निर्वाचनमा पार्टीको पराजयका कारणबारे समीक्षा र राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारीबारे धारणा राख्दै पार्टीको रुपान्तरण आवश्यक रहेकामा जोड दिए ।