सडक दुर्घटना कम गर्ने उपाय

ट्राफिक चिह्नहरू पर्याप्त मात्रामा राख्ने, सडकमा भएका खाल्डाखुल्डी समयमै पुर्ने व्यवस्था गर्न सकिएको खण्डमा केही हदसम्म सडक दुर्घटना न्यूनीकरण हुन सक्छ ।
नेपालीहरूको महान् चाड विजयादशमी सुरु भएलगत्तैदेखि मुलुकका विभिन्न स्थानमा सडक दुर्घटनामा थुप्रै नागरिकले ज्यान गुमाएका र कैयौं घाइते भएका दुःखद समाचारहरू आइरहेका छन् । चाडपर्वको समयमा तीव्र गति, मदिरा सेवन र ट्राफिक नियम उल्लंघन गरी जथाभावी सवारी चलाउँदा अकालमै नागरिकहरूले मृत्युवरण गर्न पुगेका छन् । सवारी चालकको अत्यधिक लापरवाहीका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ, तर यो मात्रै सडक दुर्घटनाको कारण भने अवश्य होइन । सरकारले सडकसम्बन्धी ठोस कानुन कार्यान्वयनमा कडाइ, सडक मर्मत, सवारी चालक अनुमतिपत्र दिँदा पु-याउनुपर्ने तालिमलगायतका विषयहरूमा ध्यान दिनु आवश्यक रहेको देखिन्छ ।
चाडपर्वको समयमा क्षमताभन्दा बढी यात्रु चढाउने, ओभरलोड, हतारिएर सवारी साधन चलाउनु र सडकको दुरवस्थाका कारण सडक दुर्घटनाहरू हुने गरेका छन् । राजधानीभित्र बिस्तारै ट्राफिक जाम बढ्न थालेको देखिएको छ । राजधानीलगायत मुख्य राजमार्गहरूमा जथाभावी पशु चौपाया छोडेका कारण र वर्षौंदेखि राखिएका ट्राफिक संकेत चिह्नहरू (बत्ती) अझै पनि नबल्दा थप दुर्घटनाहरू बढेको अवश्य नै हो । राजधानीका चक्रपथहरू सडक विस्तार गरी सडक चौडा भएको वर्षौं बितिसक्दा पनि पर्याप्त मात्रामा ट्राफिक चिह्नहरू नभएका कारण दिनहुँ सडक दुर्घटना हुने गरेको तथ्यांक नभएका होइनन् ।
राजधानीभित्र र राजधानीबाहिरका राजमार्गहरू फराकिलो बनाउने भन्दै सरकारले काम थाले तापनि विभिन्न बाधा–अड्चनका कारण समयमै काम सकिएको छैन भने कम गुणस्तरका सामग्रीहरू प्रयोग गरी पुलहरू निर्माण हुँदा पुल भासिने र भत्किएका समाचारहरू हाम्रा अगाडि आइरहेकै छन् । सडकछेउका घरहरू धमाधम भत्काएको पनि वर्ष दिनभन्दा बढी नै भइसक्यो, तर ती स्थानमा अहिलेसम्म पनि सडक निर्माणको कामले गति लिन सकेको छैन भने गति लिएकै ठाउँमा पनि कछुवा गतिले काम अघि बढिरहेको छ । जनताले आशा गरेबमोजिमका स्थानीय जनप्रतिनिधिहरूले समेत अपेक्षित कार्य गर्न सकेको देखिंदैन । राजधानी काठमाडौंका सडकहरूमा सडकको दुरवस्था भएकै कारण दिनदिनै सवारी दुर्घटना हुने क्रम बढ्दै गइरहेको छ । काठमाडौँ उपत्यकाको नयाँ बानेश्वरमा मंगालका कारण सडक भ्वाङ परेको र कपनमा सडक समयमै निर्माण नहुँदा एक जना बालकको मृत्यु भएको घटना चानचुने होइन । तर, सम्बन्धित निकाय यसप्रति किन सचेत हुँदैन । समयमा काम नसक्ने निर्माण व्यवसायीलाई किन कारबाही गरिँदैन ? चौतर्फी प्रश्न उठेकै छ ।
विशेष गरी बिहान र बेलुका चत्रपथबाहिरका साना–ठूला सडकहरूमा ठूल्ठूला ट्रिपरहरू चलाइनुले गर्दा सडक बिग्रदैं गइरहेका छन् भने उपत्यका भित्रिने राजमार्गहरूमा क्षमताभन्दा बढीका सामानहरू आयात–निर्यात हुँदा सडक र पुलहरू कमजोर हुँदै गएका छन् । सरकारले सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि समय–समयमा धेरै पटक अनेक नीतिनियम तथा प्रतिवेदनहरू सार्वजनिक गर्ने गर्छ, तर ती व्यवहारमा कति हदसम्म लागू भए-भएनन् भनेर पुनर्मूल्यांकन सरकारले गर्न सकिरहेको छैन । सडक चौडा र फराकिलो हुनेबित्तिकै सवारी दुर्घटना कम हुने होइन । जबसम्म आम सवारी चालक र पैदल यात्रुहरूबीच जनचेतना जागृत हुँदैन तबसम्म दुर्घटना घट्न सक्दैन । सडक विस्तारको क्रममा सडकमै रहेको बिजुली र टेलिफोनका पोल र यत्रतत्र छरिएका इन्टरनेट र नेटका तारहरूले वातावरण बिगारिरहेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।
काठमाडौंलगायत मुलुकका विभिन्न सहरका सडकहरूमा ट्राफिक व्यवस्थापन गर्नका लागि अनिवार्य सडकपेटी हुनु आवश्यक छ । त्यस्तैगरी ट्राफिक चिह्न र जेब्रा क्रसहरूको व्यवस्थाका अतिरिक्त पर्याप्त पार्किङको व्यवस्था, लेन अनुशासनको पालना, सफा र व्यवस्थित सडक, यात्रुहरूका लागि यात्रु प्रतीक्षालय र समयानुकूल ट्राफिक नियम हुनुपर्छ । काठमाडौँ लगायत मुलुकका विभिन्न मुख्य सहरहरूमा बाटो विस्तार गरी चौडा बनाइए तापनि जथाभावी मोटर, मोटर साइकल पार्किङ र फुटपाथ पसलेहरूका कारण पहिले सडक नबढाउँदाकै अवस्थाको झझल्को दिइरहेको आभास सजिलै गर्न सकिन्छ ।
अहिले राजधानीभित्र कोटेश्वरदेखि बल्खुसम्म ६ लेनको सडक बनाइएको छ, तर उक्त सडक काट्न सर्वसाधारणलाई हम्म्मेहम्मे पर्ने र दुर्घटना हुने अत्यधिक सम्भावना रहेको छ । यसतर्फ सरकारले समयमै ध्यान दिनु जरुरी छ । सडकमा पर्याप्त मात्रामा जेब्रा क्रस, आकाशे पुल, ट्राफिक संकेत चिह्नहरू अनिवार्य रूपमा राख्नुपर्ने आवश्यकता छ । सडक फराकिलो भएकै कारण भक्तपुर–कोटेश्वर सडकखण्डमा दिनहुँ दुर्घटना भई थुप्रै नागरिकले आफ्नो ज्यान गुमाइसकेका छन् । तीव्र गतिका कारण मात्रै दुर्घटना भएका अवश्य होइनन्; सडकको दुरवस्था, ट्राफिक संकेत चिह्नहरू नभएका कारण, सिकारुहरूले राजमार्ग र मुख्य सडकमा गाडी चलाउनु, सडकको स्तरोन्नति नहुनुका कारणले पनि सडक दुर्घटना हुने गरेका छन् । गाडीले क्षमता भन्दा बढी यात्रु राखेका कारण गाडी अनियन्त्रित हुनु, चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु, सवारी साधन मर्मत–सम्भारको अभावमा बिग्रनु, अझैसम्म सिन्डिकेट कायम रहनु आदि सवारी दुर्घटनाका मुख्य कारणहरू हुन् ।
नेपालमा बर्सेनि सडक दुर्घटनाबाट थुप्रै नागरिकले ज्यान गुमाउनुपरेको तथ्य हाम्रा अगाडि छर्लङ्गै छ । ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाहीलाई लिइएको छ । चालकको लापरवाहीका कारण ६७ प्रतिशत, यात्रुको गल्तीले ४ प्रतिशत, ओभरटेकबाट ४ प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबडीका कारण ४ प्रतिशत र अन्य कारणहरूमा ६ प्रतिशत रहेका छन् ।
मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणहरूमा ट्राफिक नियम कार्यान्वयन नगर्नु, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय कारण, मौसम तथा अन्य विभिन्न कारणहरू मुख्य रूपमा रहेका छन् ।
मापसे र चालकले आफ्नो व्यवहार सुधार गर्ने तथा सवारी साधनलाई समय–समयमा मर्मत–सम्भार गरी सवारी साधनलाई चुस्त–दुरुस्त अवस्थामा राख्न सकिएको खण्डमा र सडकहरू सुधार्ने, मर्मत–सम्भार गर्ने, पैदल यात्रुहरू सचेत हुने र ट्राफिक नियम पालना गर्न सकिएको खण्डमा सडक दुर्घटनालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न सकिन्छ । त्यस्तै गरी नेपालमा सवारी दुर्घटना बढ्नुको प्रमुख कारणमध्ये थोत्रा सवारी साधन चलाउनु, दशकौंदेखि सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, सडक छेउछाउमा बनाइएका अव्यवस्थित भौतिक संरचनाहरू आदि रहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, तनाव, मोबाइलको प्रयोग, छारे रोग र अनुभव नभएका चालकहरूका कारण दुर्घटना बढेको जनाएको छ ।
अतः सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक ऐन, नीतिनियम बनाएर लागू गर्नुपर्छ र भएका कानुनहरूमा समेत समयसापेक्ष परिमार्जन गर्दै लानुपर्छ । सडक दुर्घटना रोक्न सरकारी क्षेत्रबाट कडाभन्दा कडा कानुन ल्याउनुपर्छ । सरकारले राजमार्गहरूमा ट्राफिकको लाइन र यू ट्युनहरू बनाइदिनुपर्छ । त्यस्तैगरी जनचेतना दिने खालका होर्डिङ बोर्डहरू राख्नुपर्छ । चालकहरूले मापसे नगरी ट्राफिक नियमको पालना गरी होसियारी र सावधानीपूर्वक आफ्नो सवारी साधन चेक गरी बिग्रेका भए मर्मत–सम्भार गरी चलाउनुपर्छ । राजमार्गलगायत राजधानीका सडकहरूमा जथाभावी चौपाया छोड््नेहरूलाई कडा कारबाही गरिनुपर्छ । त्यस्तैगरी सडक अवरुद्घ हुने गरी सभा–सम्मेलन, धर्ना दिने कार्यक्रम राख्नु हुँदैन, फुटपाथ पसलहरू हटाइनुपर्छ; ट्राफिक चिह्नहरू पर्याप्त मात्रामा राख्ने, सडकमा भएका खाल्डाखुल्डी समयमै पुर्ने व्यवस्था गर्न सकिएको खण्डमा केही हदसम्म सडक दुर्घटना न्यूनीकरण हुन सक्छ ।