विवशता र बाध्यताभित्रको वैदेशिक रोजगार «

विवशता र बाध्यताभित्रको वैदेशिक रोजगार


स्वदेशमै रोजगारी नपाउँदा जहान-परिवार पाल्ने सुन्दर सपना बोकेर खाडी मुलुक जान बाध्य नेपालीहरूको वैदेशिक रोजगार रहर नभएर बाध्यता हो । सबै युवा एउटै गाउँबाट खाडी राष्ट्रका विभिन्न गन्तव्यमा पुग्न बाध्य छन् । महँगो र भड्किलो जीवनशैलीका कारणले दैनिकी टार्न युवा बिदेसिन बाध्य भएका छन् । परिवार, छिमेकी र आफन्तले पार्ने मानसिक दबाबका कारणले पनि युवामा वैदेशिक रोजगारी बाध्यता भएको विभिन्न सर्वेक्षणले देखाएको छ । बिदेसिनुमा वर्तमान सामाजिक संरचनाले पनि महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा सामान्य काम गर्न लाज मान्ने तर विदेशमा जस्तोसुकै काम गर्न तयार हुने प्रवृत्ति हाबी छ । कामको आधारमा मानिसलाई हेर्ने दृष्टिकोणमा नै खोट भएकाले नेपालमा यो समस्याले जरो गाडेको छ ।
वैदेशिक रोजगारीमा जाने १८ देखि ४० वर्षसम्मका युवाहरू छन् । यसमा पनि २५ देखि ३५ वर्ष उमेर समूहका युवाहरू अधिक छन् । नेपाली युवाहरू सयभन्दा बढी मुलुकमा रोजगारीका लागि जाने गरेको विभिन्न संघसंस्थाले सङ्कलन गरेको तथ्यांकले जनाएको छ । मुलुकमा रोजगारीको अवसर कम हुँदै गएको र महँगी बढेर जीवन कष्टकर बन्दै गएको अवस्थामा वैदेशिक रोजगारीले राहत दिएको पाइन्छ ।
पहिले युवकहरू मात्र वैदेशिक रोजगारीमा जाने गर्थे । तर, आजकाल भने युवतीहरू पनि वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ । नेपाल सरकारले महिलालाई रोजगारीमा जान प्रतिबन्ध लगाएको खाडी मुलुकहरूमा समेत ठूलो संख्यामा युवती रोजगारीका लागि गएको अवस्था छ । विदेशबाट रेमिट्यान्स भित्रिने र नागरिक आर्थिक रूपमा सबल हुने पक्ष सकारात्मक हो । तर, अव्यवस्थित र असुरक्षित रूपमा युवा जनशक्ति खाडी मुलुकमा पुग्ने क्रमले उनीहरूमा शारीरिक र मानसिक समस्या थपिँदै गएको छ । त्यस्तै वैदेशिक रोजगारमा गएकाहरू बाकसमा फर्किएको तीतो यथार्थ थुप्रै छन् । वैदेशिक रोजगारीमा हुने मृत्यु घटेको छैन ।
वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो एक वर्षको अवधिमा अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारमा मृतकको संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ हजार २ सय ४२ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले जनाएको छ । यस हिसाबले दैनिक मृत्यु हुनेको संख्या औसतमा ३ जना हुन्छ । अघिल्लो आवमा ६ सय ७४ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांक छ । बोर्डका अनुसार पछिल्लो १३ वर्षमा ९ हजार ४ सय २४ जनाको निधन भएको छ । सर्वोच्च अदालतले २०७४ कात्तिकमा वैदेशिक रोजगारीमा हुने मृत्युको कारण खोज्न आदेश दिएको थियो, तर अहिलेसम्म पनि सरकारले त्यसतर्फ चासो देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्