कर्जा, निक्षेप असन्तुलनले ल्याएको तरलता संकट «

कर्जा, निक्षेप असन्तुलनले ल्याएको तरलता संकट

केन्द्रीय बैंकले आफ्ना मौद्रिक औजारमार्फत बजारमा तरलता पठाइरहेको जनाए तापनि तरलताको समस्या समाधान हुन केही समय लाग्ने देखिन्छ ।


नेपालमा करिब-करिब हरेक चार वर्षमा लगानीयोग्य तरलता अभावको चक्र दोहोरिइरहेको पाइन्छ । सरकारले विकास खर्च नगरेको, रेमिट्यान्स आय घटेको वा कर्जा बढी प्रवाह भएको जेजस्ता कारण दिए तापनि हरेक चार वर्षमा आउने लगानीयोग्य तरलता अभावको चक्रलाई बैंक तथा वित्तीय संस्था एवं केन्द्रीय बैंकले आकलन गर्न नसक्दा वा बेवास्ता गर्दा अर्थतन्त्र खुम्चनु स्वाभाविक हो । कर्जा प्रवाह खुम्चन थालेपछि त्यसले कुल गार्हस्थ्य उत्पादनमा पनि संकुचन ल्याउँछ । तर, यसपटक भने कोरोना कहरका बीच पनि गत वर्ष आक्रामक रूपमा कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्था यसपटक भने दोहोरो मारमा परे । एकातिर कोरोना कहरका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या पछिल्ला करिब तीन वर्ष लगातार घटेका कारण रेमिट्यान्स आय घट्न थालेको छ भने अर्कातिर स्थिर मानिएको राजनीतिले पनि कोल्टे फेरेर अस्थिरतातर्फ गएका कारण सरकार परिवर्तन तथा प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउन ढिलाइले विकास खर्च सोचेजस्तो हुन सकेको छैन । यसै पनि स्थिर मानिएका आर्थिक वर्षमा पनि विकास खर्च उल्लेख्य नभएका बेला सरकार परिवर्तनले झन् कम हुनु पनि स्वाभाविक हो । केही बैंक तथा वित्तीय संस्थाले यस्तो अवस्था आउने आकलन गर्न सकेनन् भने केहीले धेरै बाठो बन्ने प्रयास गरेका कारण पनि यस्तो समस्या आएको केन्द्रीय बैंकको बुझाइ छ । तर, केन्द्रीय बैंकले पनि समयमा नै यसको आकलन गर्न चुकेकै हो, जसका कारण राम्रा बैंक तथा वित्तीय संस्था पनि समस्याको घानमा परेका छन् । केन्द्रीय बैंकले आफ्ना मौद्रिक औजारमार्फत बजारमा तरलता पठाइरहेको जनाए तापनि तरलताको समस्या समाधान हुन केही समय लाग्ने देखिन्छ । बैंकहरूले राष्ट्र बैंकले ओभरनाइट रिपो, बोलकबोल रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) जस्ता मौद्रिक औजारमार्फत रकम लिएर तरलता व्यवस्थापन गर्दै आएका छन् । चालू आवमा बैंकहरूले ४ सय ७४ पटक गरी ९ खर्ब ७७ अर्ब स्थायी तरलता सुविधा प्रयोग गरिसकेका छन् । यसैगरी रिपो बोलकबोलबाट १ खर्ब ६० अर्ब र ओभरनाइट रिपोमार्फत ३६ अर्ब ६८ करोड रुपैयाँ प्रयोग गरेका छन् । तर पनि स्थिति सामान्य हुन सकेका छैन र सहजै हुने पनि देखिँदैन । त्यसैले संकटको बेलामा नै केन्द्रीय बैंकले आफ्नो क्षमता प्रदर्शन गरेर बजारमा देखिएको समस्यालाई जति छिटो समाधान गर्ने कोसिस गर्छ, त्यति नै छिटो बजारमा तरलता प्रवाह भई अर्थतन्त्रमा संकुचन आउनबाट जोगिन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साढे तीन महिनामै बैंकहरूले ३ खर्ब ५१ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन् । तर, यसै अवधिमा बैंकहरूको निक्षेप मात्र १ खर्ब रुपैयाँले वृद्धि भएको छ । कोरोना कहर बिस्तारै सामान्य हुन थालेका कारण बजारमा कर्जाको माग बढ्न थालेको कारण पनि बैंकहरूलाई लगानी थप्न दबाब बढेको छ । यसै बेला केन्द्रीय बैंकले चालू आवको मौद्रिक नीतिमार्फत बैंकहरूमा पुँजी, कर्जा र निक्षेप (सीसीडी) अनुपात हटाएर कर्जा र निक्षेप (सीडी) अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेपछि अवस्था अलि बढी असामान्य बन्न पुगेको हो । तर, केन्द्रीय बैंकले भने बैंकहरूले ७ खर्ब रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेकाले त्यसैबाट ऋण लिएर पनि थप लगानी गर्न सक्ने जनाएको छ । यसरी केही बैंक तथा वित्तीय संस्थाले कोरोना कहरका बीच पनि आक्रामक कर्जा लगानी गर्दै गर्दा निक्षेप संकलन र कर्जा लगानीबीच उच्च असन्तुलन देखिएको छ । यसअघि पनि बैंक तथा वित्तीय संस्थाहरूमा यो रोग नदेखिएको होइन । छोटो अवधिको निक्षेप संकलन गरेर लामो अवधिको कर्जा प्रवाह गर्दा यसअघि पनि बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा निक्षेपको असन्तुलनको समस्या देखिइसकेको हो । तर, बैंकहरूले स्रोतको व्यवस्था नभई कर्जा लगानीमा मात्र जोड दिँदा बजारमा फेरि त्यही समस्या दोहोरिएको छ ।

प्रतिक्रिया दिनुहोस्