दुई वर्षदेखि कालिगण्डकीमा -याफ्टिङ ठप्प «

दुई वर्षदेखि कालिगण्डकीमा -याफ्टिङ ठप्प



पर्वत-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण कालिगण्डकी नदीमा जलयात्रा (-याफ्टिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा बहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो ।
योे जलयात्राको पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना संक्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीहरूले बताएका छन् । कालिगण्डकीमा अंग्रेजी महिनाको सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यसवर्ष जलयात्रा (-याफ्टिङ)का लागि पर्यटक नआएको कालिगण्डकी -याफ्टिङ कम्पनीका सञ्चालक होम पुनले जानकारी दिए । उनका अनुसार गत वर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटकको संख्या शून्यजस्तै भएको छ । अहिले केही आन्तरिक पर्यटकले जलयात्रा गर्नका लागि बुकिङ गरे पनि एक-दुई दिनका लागि मात्र भएको उनको भनाइ छ । विदेशी पर्यटक नेपालमै भित्रिन नसकेकाले जलयात्रा ठप्पजस्तै बेनेको उनको भनाइ छ ।
कोरोना संक्रमण न्यूनीकरण हुँदै गएको र अधिकांस मुलुकमा खोपसमेत विस्तार भइसकेकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिए पनि कुनै पनि देशका पर्यटक नआएको पुनले बताए ।
सलोन -याफ्टिङ एण्ड ट्रेकिङ एक्सपिडेसन कम्पनी काठमाडौंका प्रबन्ध निर्देशक देव रेग्मीले विदेशबाट जम्मा ५-७ प्रतिशतमात्र पर्यटक भित्रिएकाले -याफ्टिङ व्यवसाय चौपट बनेको बताए । पछिल्लो समय भित्रिएका पर्यटकमध्ये अधिकांस ट्रेकिङमा रहेको र उनीहरू काठमाडौं फर्किसकेपछि -याफ्टिङको एउटा प्याकेज बनाउने तयारीमा रहेको उनले बताए । विगत दुई वर्षअघि लामो समय वर्षा भएकाले एक-दुई सातामात्र जलयात्राका प्याकेज सञ्चालन भएका थिए, अहिले कोरोनाले ठप्पजस्तै बनेको उनको भनाइ छ । पर्यटकको संख्या वृद्धि नभएसम्म कोरोनाअघिको जस्तो जलयात्रामा पर्यटकको आकर्षण बढाउन मुस्किल हुने रेग्मीले जानकारी दिए ।
“छोटो र पारिवारिक जलयात्राका लागि कालिगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एक सिजनमा कम्तीमा पनि २ देखि ३ हजार पर्यटकले जलयात्रा गर्दै आएका थिए । तर कोरोनाले अग्रिम बुकिङ गर्ने, -याफ्टिङ र ट्रेकिङ दुवैमा जाने पर्यटकहरू शून्यजस्तै भएका छन्,” रेग्मीले भने । कालिगण्डकी नदीमा १० वटाभन्दा धेरै कम्पनीले -याफ्टिङ सञ्चालन गर्दै आएका थिए ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखि सुरु हुने -याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालिगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ । कालिगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालिगण्डकी नदी पर्दै आएको छ ।
नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जानुका साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिकास्थित बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटकहरू यात्रा तय गर्ने गर्दछन् । यात्राको क्रममा बस्ने ठाउँहरूमा भौतिक संरचनाको विकास गर्न र कुस्मा नगरपालिकाको आर्मादीनजिकै खोलाको बीचमा रहेका ठूला ढुंगा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताए । जलयात्राका लागि विदेशी र स्वदेशी पर्यटकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्