Logo

मध्यपहाडी लोकमार्ग बन्द हुँदा नागरिकलाई सास्ती

पर्वत-निर्माणाधीन मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द हुन थालेको छ । लोकमार्गको पर्वत खण्ड बुधबारदेखि लागू हुनेगरी दैनिक साढे ६ घण्टा बन्द गर्न भएको छ । सडक बिस्तारका लागि पर्वत र कास्कीको सिमान नयाँपुलदेखि कुश्मा नगरपालिका–१ अर्मादीसम्मको खण्डमा दैनिक साढे छ घण्टा गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा बसेको बैठकले बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म र अपराह्न साढे ४ बजेदेखि साढे ६ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरीभीर, कुश्मा नगरपालिका–८ स्थित चुवाभीर र कुश्मा नगरपालिका–२ स्थित अर्मादीको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गर्न लागेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । लोकमार्ग बन्द भएसँगै नागरिकलाई सास्ती हुन थालेको छ ।
पहाडी सडक निर्माण आयोजनाअन्तर्गत लामा कन्ट्रक्सन प्रालिले उक्त खण्डमा निर्माणको काम तीव्र पारेको छ । “महभीर, चुवा र अर्मादीको भीरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय भएको हो,” आयोजना प्रमुख आशिष थापा मगरले भने । बैठकमा सरोकारवालाले सडक निर्माणकार्य प्रभावित नहुने र यात्रुलाई समेत सास्ती नहुने गरी निर्माण अगाडि बढाउन सुझाव दिएका छन् । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले आयोजनाको काम तोकिएकै समयमा सक्नुपर्ने तर नागरिकलाई समेत मर्का नपरी काम गर्न आग्रह गरे । “नागरिकलाई दुःख नहुने गरी सकेसम्म वैकल्पिक सडक बनाएर काम गर्नुपर्छ,” उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले सडक विस्तारको काम समयमै सक्ने वातावरण बनाउन आग्रह गरे । त्यस्तै महभीरको वैकल्पिक मार्ग बनाउनका लागि मोदी गाउँपालिका र चुवामा वैकल्पिक मार्ग बनाउन कुश्मा नगरपालिका र तल्लो मोदी जलविद्युत् आयोजनासँग समन्वय गर्ने तयारीसमेत भएको छ ।
आयोजना पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३.७६९ किमि स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म ३५ प्रतिशत काम सकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्दप्रसाद भुसालले जानकारी दिए । “हामीले असारसम्ममा ८० प्रतिशत काम सक्ने लक्ष्यसहित काम गरिरहेका छौं,” उनले भने । छलफलमा नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, प्रदेश कमिटी सदस्य मेघनाथ सुवेदी लगायतले तोकिएकै समयमा गुणस्तरीय काम गर्न सुझाव दिएका थिए ।
मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किमि लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चारवटा प्याकेज बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको छ । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम भइरहेको छ ।

बेनी– मालढुंगा सडक पनि बन्द
यता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ ।
जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुने गरी समयतालिका बनाएको हो । जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तार गर्ने मालढुंगा–बेनी सडक आयोजना निर्माण कम्पनीका प्रतिनिधि अमृतकुमार श्रेष्ठले जानकारी दिए । म्याग्दी र मुस्ताङबाट पर्वत, बागलुङ, पोखरा, काठमाडौँलगायत देशका विभिन्न स्थानका लागि छुट्ने र भित्रिने सवारीसाधन प्रभावित भएका छन् । बेनी–मालढुंगा सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ–मालढुंगाको वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।
सडक डिभिजन कार्यालय बागलुङले लामाखेतदेखि वारिबेनीसम्मको एक किमि १०० मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्र गर्न आयोजना सञ्चालन गरेको छ । सडक विस्तार, नाली निर्माण र कालोपत्रका लागि डिभिजनले गत पुस १७ गते एक करोड १५ लाखमा अजय–त्रिशक्ति जेभीसँग आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने सम्झौता गरेको छ । निर्धाति समयभित्रै योजना निर्माण सम्पन्न गर्न सडक निर्माण र सवारी सञ्चालनको समयतालिका बनाइएको हो । ११ मिटर फराकिलो हुने सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र र एक मिटर चौडाइको नाली हुनेछ । यो सडक हाल सात मिटरको हाराहारीमा फराकिलो छ । मालढुंगा–बेनी म्याग्दी र मुस्ताङ प्रवेशद्वारको रूपमा पनि यो सडकलाई लिइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्