३० हजार टन धान खरिद गर्दै खाद्य कम्पनी «

३० हजार टन धान खरिद गर्दै खाद्य कम्पनी


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष ३० हजार टन धान खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट कम्पनीले धान खरिद गर्न लागेको हो ।
चालू आर्थिक वर्षमा ३० हजार २ सय टन धान खरिद गर्न लागेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । धान खरिद गर्नका लागि ९५ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट धान खरिद गरेर उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गरिने उनले जानकारी दिए गत वर्ष ६० हजार टन धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले धान नपाइएको भन्दै २७ हजार टन धान खरिद गरेको थियो । कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गरेर सुपथ मूल्यमा उपभोक्तालाई बिक्री गर्दै आएको छ ।
सरकारले यो वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७ सय ५२ र मध्यम किसिमको धानको मूल्य २ हजार ९ सय २ रुपैयाँ तोकिएको मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष गत वर्षको भन्दा प्रतिक्विन्टल १७ रुपैयाँले बढी भएको मन्त्रालयले जानकारी दिएको छ ।
गत वर्ष असारमा धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो ।
व्यवसायीले कम मूल्यमा धान खरिद गरेर किसान मारमा पर्न थालेपछि सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्दै आएको छ । समर्थन मूल्यले किसानले धानको उचित मूल्य पाउँछन् । कम्पनीले गत वर्ष बिर्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगन्ज, भैरहवा, तुलसीपुर, नेपालगन्ज, राजापुर, धनगढी, महेन्द्रनगर र जुम्लाबाट धान खरिद गरेको थियो । यो वर्ष पनि तराईका विभिन्न जिल्लाबाट धान खरिद गरिने कम्पनीले जानकारी दिएको छ ।

किसान धर्नामा
उपत्यकाका तीन जिल्लामा ५ सय रोपनी जग्गामा लगाइएको धानमा बाला नलागेपछि पीडित किसानले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
प्रदर्शनमा सहभागी किसानहरूका अनुसार उपत्यकाका तीनवटै जिल्लामा लगाइएको धानमा समस्या देखिएको छ । धान धेरै फल्ने भन्दै किसानले डीवाई २८ चाइनिज धान लगाएका थिए । रोपेको धानमा बाला नलागेपछि बीउ बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने मागसहित किसान विरोधमा उत्रेका छन् ।
धानमा बाला नलाग्ने समस्याबाट भक्तपुरको तेलकोटका किसान सबैभन्दा धेरै प्रभावित भएका छन् । काठमाडौंको मातातीर्थ, दहचोकको र ललितपुरको चापागाउँ क्षेत्रका किसानले लगाएको धानमा पनि दाना लागेको छैन ।
नफलेको धानको मूठोसहित प्रदर्शनमा उत्रिएका किसानले झुक्याएर नफल्ने धानको बीउ बेच्ने बिक्रेतालाई कारबाही गर्न माग गरेका छन् । किसानलाई उचित क्षतिपूर्ति दिन, साना किसानको ऋण मिनाहा गर्न पनि उनीहरुले सरकारसँग आग्रह गरेका छन् । कृषि सूचना प्रणाली प्रभावकारी बनाउन र गुणस्तरीय मल बीउ उपलब्धताका लागि पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
धान नफलेको बारे अनुसन्धान गरिरहेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् र बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको प्रारम्भिक अनुसन्धानमा भने किसानले गलत धानको बीउ रोजेको पाइएको छ । समुद्री सतहबाट ७ सय मिटरसम्म मात्रै उपयुक्त भनी सिफारिस गरिएको डीवाई २८ चाइनिज धान उपत्यकामा लगाइएको भेटिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्