खाङतेगा पिक आरोहणका क्रममा तीन फ्रान्सेली नागरिक बेपत्ता

सोलुखुम्बु -सोलुखुम्बुको खुम्बुमा अवस्थित खाङतेगा पिक आरोहणका क्रममा तीन जना फ्रान्सेली नागरिक वेपत्ता बनेका छन् । होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत हिमाल आरोहणका लागि आएका विदेशी तीन पुरुष कात्तिक ९ देखि बेपत्ता बनेका छन् ।
उनीहरू ७ दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । असोज १८ गते काठमाण्डौँबाट लुक्ला आएका ८ जना फ्रान्सेली नागरिकमध्ये थोमस, गाब्रियल र लुइस गत मंगलबारदेखि सम्पर्क विहिन बनेको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
उनीहरूको खोजीका लागि आजबाट कैलाश एयरको हेलिकप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ । सोही समूहका ५ जना सदस्य भने सुरक्षित रहेको कम्पनीले जनाएको छ । खाङतेगा पिक खुम्बु रेन्जमा पर्ने ६७८३ मिटर अग्लो हिमाल हो ।