५२.४ मेगावाट विद्युत थपियो «

५२.४ मेगावाट विद्युत थपियो

PC: cultural survival


सोलुखुम्बु, रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । ग्रिन भेन्चर कम्पनीले निर्माण गरेको आयोजनाबाट शनिबारदेखि विद्युत उत्पादन सुरु भएको हो ।
शनिबारदेखि आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको कम्पनीका अध्यक्ष सुवास संघाईले बताए । उनका अनुसार निर्माण सुरु गरेको ३९ महिनामा सम्पन्न भई आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको छ । उनले आयोजनाले २ सातासम्म परीक्षण उत्पादन गर्ने र परीक्षणको चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गर्ने बताए । आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि १७ किलोमिटर दूरीमा रहेको २२० केभी न्यू खिम्ती सबस्टेसनमा जोडिएको छ ।
सबस्टेसनसम्मको प्रसारणलाइन प्रवद्र्धक कम्पनीले निर्माण गरेको छ । आयोजना निर्माण सम्पन्न भई आन्तरिक परीक्षणको चरणमा रहेका बेला गत जेठमा एउटा डिसेन्डर बेसिन भत्किएको थियो । भत्किएको डिसेन्डर बेसिनको पुनर्निर्माण गरी आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको हो । भत्किएको संरचनाको पुनर्निर्माण गर्न ५ महिना लागेको पनि सांघाईले बताए । यो आयोजना निर्माण सम्पन्न गर्न सुरुवातमा नौ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।
सुरुवातमा यो आयोजना १२० मेगावाटमा निर्माण गर्ने गरी डिजाइन गरिएको थियो । पछि १२० मेगावाटमा निर्माण गर्न सम्भव नदेखिएपछि क्षमता घटाएर ५२.४ मेगावाटमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्