अल्मुताइरीको सम्झौता २०२४ सम्म
दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलो पटक फाइनल पु-याएका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ । नेपाल फर्किएपछि पहिलोपटक अब्दुल्लाह आफैंले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र अल्मुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो ।
साफ च्याम्पियनसिपअघि नेपाल नफर्किने भन्दै छाडेका प्रशिक्षक अल्मुताइरी सम्झौता भएसँगै नेपाल फर्किएका हुन । मंगलबार भएको पत्रकार सम्मेलनमार्फत उनी आगामी तीन वर्षको योजना सहित सार्वजनिक भए । साफ अघि नेपालमै रहँदा पनि एन्फाका उपाध्यक्षसँगको विवाद पछि राजीनामा दिने घोषणा गरेका अब्दुल्ला अल्मुताइरी गत साता कतार फुटबल सँगको सम्झौता पश्चात नेपाल फर्किएका हुन् । नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झौतापछि आफू खुसी भएको बताउँदै अबदुल्लाह नेपाली समर्थक र खेलाडीको मायाले नेपाल फर्किएको बताए ।
अल्मुताइरीले प्राप्त गर्ने तलब कतार फुटबल संघले उपलब्ध गराउनेछ । एन्फाले नेपाल बस्ने क्रममा यातायात र सञ्चारका लागि केही रकम दिँदै आएको छ । तीन चरणमा काम गर्ने योजना सार्वजनिक गरेका अल्मुताइरीले सुरुवाती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रम मात्र सार्वजनीक गरेका छन् । जस अन्तर्गत राष्ट्रिय टिमको प्रशिक्षक र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका हुन् । यस्तै विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको छ ।
राखेप सदस्यसचिवमा ढकाल नियुक्त
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा विष्णुकुमार ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्यसचिवको जिम्मेवारी तोकिएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा १६ कात्तिकमा बसेको बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।