भारतीय सहायताका दुई आयोजनालाई बिजुली निर्यातको अनुमति

भारतले आफ्नो सहायतामा निर्माण भएका दुई जलविद्युत आयोजनाबाट उत्पादित ३९ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको छ । १ मे २०२१ बाट नेपालले ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतीय ऊर्जा एक्सचेन्ज मार्केट (आईआईएक्स) बाट ३५० मेगावाटसम्म आयात गर्न अनुमति दिएको भारतले निर्यातका लागि भने बल्ल अनुमति दिएको हो ।
नेपाल विद्युत प्राधिकरणले गत जुलाईमा माथिल्लो तामाकोशी, मस्र्याङ्दी र भोटेकोशी तथा गत सेप्टेम्बरमा त्रिशुली र देवीघाट जलविद्युत गृहबाट उत्पादित बिजुली निर्यातका लागि भारतसँग अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । तीन आयोजनाको अनुमति आउन ढिलाइ भएपछि मात्र त्रिशुली र देवीघाटको अनुमतिका लागि पठाएको थियो । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहले मात्र निर्यात अनुमति पाएका छन् । दुवै भारतीय सहायतामा निर्माण भएका हुन् ।
भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केट (आईआईएक्स)मा विद्युत बिक्री गर्न अनुमति दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ४५६ मेगाावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी, ४५ मेगावाटको भोटेकोशीका साथै त्रिशुली र देवीघाट गरी ६०९ मेगावाट बराबरको बिजुली निर्यातका लागि विद्युत प्राधिकरणले भारत सरकारसँग अनुमति मागेको थियो । तर त्रिशुली र देवीघाट जलविद्युतबाट उत्पादन हुने ३९ मेगावाटको मात्र अनुमति पाएको हो । “हामीले पाँच आयोजनाका लागि स्वीकृति मागेका थियौं, दुई वटा पाएका छौं । अरु पनि पाउने प्रकृयामा छौं,” विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, “हामीले मागे अनुसार अनुमति पाएका भएपनि अहिलेकै क्षमताले ६ सय मेगावाट नै दिन सक्ने अवस्था छैन । यसका लागि २० देखि २५ प्रतिशतसम्म मार्जिन हुनुपर्छ ।” प्राधिकरणका अनुसार मंगलबार राति १२ बजेदेखि सुरु भएको निर्यात गर्ने बिजुलीको मूल्य न्यूनतम १.६० भारतीय रुपैयाँ अर्थात २.५६ नेपाली रुपैयाँ, अधिकतम ४.६८ भारतीय रुपैयाँ अर्थात् ७.४८ नेपाली रुपैयाँ तथा सरदरमा २.७१ भारतीय रुपैयाँ अर्थात् ४.३३ नेपाली रुपैयाँ छ । १५-१५ मिनेटमा बिजुली दर फरक फरक हुने र प्रत्येक दिन प्रतिष्पर्धामार्फत बिजुली बिक्री गर्नुपर्ने कारण दरमा तलमाथि भने भइरहने प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार माग कम भएका कारण दिउँदो २ सय मेगावाट र रातिको समयमा पाँच सय मेगावाटसम्म खेर गइरहेको छ । खेर जाने बिजुलीलाई बेच्ने गरी वर्षाअघि नै प्राधिकरणले अनुमतिका लागि अनुरोध गरे पनि वर्षा सकिन लागेको बेलामा बल्ल अनुमति पाएको हो । अब एक महिनापछि भने भारतबाट नेपालले बिजुली खरिद गर्नुपर्ने कारण निर्यातको सम्भावना भने छैन । तर प्राधिकरणका अधिकारीहरु अहिले खुला भएपछि अर्को वर्षामा भने बिजुली बेच्न सहज हुने बताउँछन् ।
पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यातको अनुमति पाएसँगै यसलाई नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको रुपमा लिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए । नेपाल–भारतबीचको विद्युत व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत भारतीय बजारमा निर्यात शुरु भएसँगै नेपालका जलविद्युत विकासको ठूलो ढोका खुलेको छ ।
तिहार र हिउँदमा पनि लोडसेडिङ हुँदैन : घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहार र हिउँदमा पनि लोडसेडिङ नहुने बताएका छन् । पछिल्लो समय भारतमा कोल अभावको कारण बढेको ऊर्जा संकटको कारणले आगामी दिनमा बिजुली आयात हुन नसक्दा लोडसेडिङ हुने हो कि भनेर आशंका बढिरहेको बेला उनले लोडसेडिङ नहुने स्पष्ट पारेका हुन् । “विगतमा तिहारमा सबैभन्दा बढी माग हुन्थ्यो, अहिले त्यो परिवर्तन भएको छ । तिहारमा १५ सय मेगावाट माग हुन्छ, त्यो स्वदेशी उत्पादनबाटै पूरा हुन्छ,” उनले भने, “हिउँदमा पनि ४५६ मेगावाटको पिकिङ आयोजना तामाकोशीबाट उत्पादन भइसकेको छ, कुलेखानी जलाशय पनि पूर्ण भरिएको छ र सञ्चालनमा रहेको तथा अन्य केही आयोजनाहरु थ्प भएको छ । भारतबाट पनि नपुग बिजुली ल्याउन समस्या छैन ।”