हाम्रोपात्रोबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श सेवा «

हाम्रोपात्रोबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श सेवा

हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा सोमबारदेखि परीक्षणको रुपमा सुरु गरिएको हाम्रो पात्रो इंकले जनाएको छ । कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सक्नेछन् ।
सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका बिरामीलाई लक्षित गरी ल्याइएको यो सेवामार्फत विभिन्न रोगका विशेषज्ञ डाक्टरसँग भिडिओ कलमार्फत परामर्श लिन सकिनेछ । ‘ओपन प्लेटफर्म’ (खुला माध्यम) को रुपमा रहने यो सेवामा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरू स्वेच्छिक रुपमा जोडिन सक्ने बताइएको छ ।
परामर्श सेवाका लागि टिकेट लिइसकेपछि बिरामीहरूले सम्बन्धित विशेषज्ञ डाक्टरलाई सोझै भिडिओ कल गर्न सक्नेछन् । अनलाइनबाटै टिकेट लिन सकिने व्यवस्था मिलाइएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए । हाललाई टिकेट शुल्क ५०० रुपैयाँ तोकिएको छ ।
डाक्टरसँग परामर्श सेवा लिनु पूर्व सेवाग्राहीहरूले आफ्नो नाम, उमेर र स्वास्थ्य समस्या उल्लेख गरी आफ्नो प्रोफाइल बनाउनुपर्नेछ । यसका साथै आफ्नो प्रोफाइलमा ल्याब रिपोर्टलगायत आफ्नो स्वास्थ्य समस्या सम्बन्धी कागजातहरू अपलोड गर्नसमेत सकिन्छ ।
हाललाई हाम्रो हेल्थमा २० जना विशेषज्ञ डक्टरहरू आवद्ध भइसकेको कम्पनीले जनाएको छ । दुई महिनाको परीक्षण पश्चात यो सेवा पूर्णरुपमा सञ्चालनमा आउनेछ ।
यसमा सूचिकृत डाक्टरहरू आफ्नो अनुकूलता तथा फुर्सदको समयमा हाम्रो हेल्थको टेलिमेडिसिन सेवाका लागि लाइभ आउन सक्नेछन् । परामर्श पश्चात डाक्टरले एपबाटै लिखित प्रेस्क्रिप्सन तथा औषधी सिफारिस गरिदिनसक्ने व्यवस्था मिलाइएको छ । सबै कलमा ‘इन्ड टु इन्ड इन्क्रिप्सन’ (गोपनीयताका हिसाबले सुरक्षित) को फिचर रहेको भन्दै संस्थापक उप्रेतीले सेवाग्राहीले भिडिओ अफ गरेर अडियोमा मात्रै कुरा गर्नसमेत पाउने कम्निीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्