नयाँ मोदी–लाहाचोक सबस्टेसन निर्माण सकियो «

नयाँ मोदी–लाहाचोक सबस्टेसन निर्माण सकियो


पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।
पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी सबस्टेसन र माछापुच्छ«े गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेसनको निर्माण यसै साता सकिएको हो । दुवै सबस्टेसनको काम सम्पन्न भए पनि शनिबार न्यू मोदी सबस्टेसन सम्पन्न भएको छ । लाहाचोक सबस्टेसनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए ।
पर्वतको मोदी गाउँपालिकाको देउपुरमा निर्माण भएको १३२ केभी क्षमताको हो । देउपुरमा ६३ रोपनी क्षेत्रफलमा सबस्टेसन निर्माण भएको हो । सबस्टेसनको सिभिल र इलेक्ट्रिकतर्फको सबै काम, कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँचमार्ग सबैको काम सम्पन्न भएपछि शनिबार चार्ज गरिएको छ । यसमा साविकको पोखरा–मोदी लाइनसमेत जडान गरिसकिएको अग्रवालले बताए । यसैगरी कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन लाहाचोक सबस्टेसनको सबै काम सम्पन्न भइसकेको छ । अब मेसिन जडानको सामान्य काम बाँकी रहेकाले एकदेखि डेढ महिनामा चार्ज गर्ने तयारी भइरहेको छ ।
पर्वत र कास्कीको सीमा भएर भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत आयोजनाबाट उत्पादित विद्युतलाई पोखरास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारणलाइन निर्माण भएको हो । पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारणलाइन ४२ किलोमिटर लामो हुनेछ । प्रसारण लाइनमा १ सय ३८ वटा टावर रहने छन । लाहाचोकदेखि लेखनाथसम्मको काम भने बाँकी छ । त्यो क्षेत्रमा २० देखि २५ वटा टावर निर्माणको काम बाँकी छ । स्थानीयको अवरोधलगायतको समस्याका कारण टावर निर्माण हुन नसकेको हो । लेखनाथ सबस्टेसनको कामसमेत अन्तिम चरणमा पुगेको अग्रवालले जानकारी दिए ।
दुई अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारणलाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखेको भए पनि कोरोना, स्थानीयको अवरोधलगायतका कारण केही समय ढिलाइ भएको हो । यो प्रसारणलाइन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन । प्रसारणलाइन निर्माणपछि दुई सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्