हरियो तरकारी र उपभोग्य वस्तुको मूल्य बढ्यो «

हरियो तरकारी र उपभोग्य वस्तुको मूल्य बढ्यो


तिहार नजिकिँदै गर्दा बजारमा हरियो तरकारीसँगै खाद्यान्नदेखि तिहारको बेला प्रयोग हुने भाइ मसलाको मूल्य बढेको छ ।
तरकारी उत्पादन कम भएको र अन्य सामानको मूल्य बढेर आएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् । सामानको मूल्य बढेर आएकाले मूल्य बढाउनुपरेको व्यवसायीको भनाइ छ । पछिल्लो समय बजारमा सबैभन्दा धेरै हरियो तरकारीको मूल्य बढेको छ । तरकारीको उत्पादन सिजन नभएकाले पनि मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । यस्तै तिहारमा आवश्यक पर्ने चिनी, आँटा–मैदा, काजु, किसमिस, नरिवल, छोकडा, ओखरलगायत वस्तुको मूल्य बढेको छ ।
नेपाल खुद्रा व्यापार संघका अनुसार दसंैअघि आँटा र मैदाको मूल्य प्रतिबोरा २ सय रुपैयाँ बढेर ९ सय ५० पुगेको छ । दसंैअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको चिनीको मूल्य बढेर ९० देखि ९५ पुगेको छ । बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रभावकारी रूपमा बजार अनुगमन नगर्दा व्यवसायीले मनपरि ढंगले मूल्य बढाएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ ।
नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने गहुँ, चिनी, मैदा र आटा अभावका कारण मूल्य बढे पनि अन्य खाद्यान्नको मूल्य वृद्धि नभएको दाबी गरे । साल्ट्र टे«डिङ कर्पाेरेसनसँग चिनीको मौज्दात नहुँदा चिनीको होलसेल मूल्य नै बढेर आएको उनको भनाइ छ ।
होलसेलमै ९२ रुपैयाँ हुँदा खुद्रा पसल र उपभोक्तासम्म आइपुग्दा किलोकै करबि एक सय रुपैयाँ पर्ने देखिन्छ । कर्पाेरेसनले प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गरिरहेको छ । कर्पाेरेसनले उपभोक्तालाई २ केजीका दरले बिक्री गरिरहेको छ । चिनीको मौज्दात सकिन लागेको पनि कर्पाेरेसनले जानकारी दिएको छ ।
बजारमा सबैभन्दा धेरै हरियो तरकारीको मूल्य बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार पछिल्लो समय बजारमा तरकारीको मूल्य सामान्य बढेको छ । समितिका अनुसार एक महिनाअघि १ सय रुपैयाँ रहेको काउलीको मूल्य बढेर प्रतिकेजी १ सय २० पुगेको छ । एक महिनाअघि ४० रुपैयाँ रहेको गोलभेडाको मूल्य बढेर १ सय २० पुगेको छ । यस्तै एक महिनाअघि ७० रुपैयाँ रहेको काँक्रोको मूल्य बढेर १ सय २० पुगेको छ ।
प्रतिकेजी ५० रुपैयाँ रहेको गोलभेडाको मूल्य बढेर ९० पुगेको छ । एक महिनाअघि एक सय रुपैयाँ रहेको सिमीको मूल्य बढेर प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ । यस्तै प्रतिकेजी ७० रुपैयाँ रहेको घिरौलाको मूल्य बढेर १ सय पुगेको छ । यस्तै ७० रुपैयाँ रहेको तितेकरेलाको मूल्य बढेर ९० पुगेको छ । यस्तै परवर १ सय ३०, तोरीको साग प्रतिकेजी ५० र रायो साग प्रतिकेजी २ सय ५० पुगेको छ ।
खुद्रा व्यवसायीले भने पसल पिच्छे मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् । चाडपर्वको बेला खपत धेरै हुने भएकाले पनि व्यवसायीले मूल्य बढाउने गरेका छन् । वाणिज्य विभागले भने नियमित रूपमा बजार अनुगमन गरिरहेको दैनिक उपभोग्य वस्तुको मूल्य नबढेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्