फक्सवागनको बिक्री १ करोड नाघ्यो «

फक्सवागनको बिक्री १ करोड नाघ्यो

जर्मन अटो निर्माता कम्पनी फक्सवागनले गत वर्ष विश्वव्यापी रूपमा गरेर १ करोड ७ लाख ४० हजार सवारी बिक्री गरेको कम्पनीले जनाएको छ । वार्षिक ४.३ प्रतिशत वृद्धिपछि कम्पनीले उत्पादन गरेको सवारी बिक्रीको संख्या यो अनुपातमा पुगेको हो । फक्सवागत, पोर्सच, अउडी, स्कोडा र सिटलगायतका १२ वटा ब्रान्ड चलाउँदै आएको वल्फस्बर्गस्थित कम्पनीको बिक्री डिसेम्बरमा मासिक ८.५ प्रतिशतले वृद्धि भएको थियो । यो बिक्रीसँगै गत वर्ष सर्वाधिक संख्यामा सवारी बिक्री गर्ने कम्पनीमा फक्सवागनले जापानी अटो निर्माता टोयाटालाई दोस्रो स्थानमा धकेलेको छ ।
कुल कार बिक्रीमा फ्ल्यागसिप ब्रान्ड फक्सवागन कारको बिक्री ६२ लाख पुगेको छ । यसपछि दोस्रोमा अउडी १९ लाख, स्कोडा १२ लाख, सिट ४ लाख ६८ हजार र पोर्सचको बिक्री २ लाख ४६ हजार पुगेको छ ।
“हाम्रा उपभोक्ताबाट हामीले पाएको विश्वासप्रति हामी आभारी छौं र यो विश्वास संख्यामा बदलिएको छ,” फक्सवागनका प्रमुख कार्यकारी अधिकृत माथियास मुइलरले विज्ञप्तिमार्फत बताएका छन् ।
कर्पोरेसनभित्रको मजबुत अवस्थाको टिमवर्कले कम्पनीको नतिजा राम्रो बनाएको उनले बताए ।
फक्सवागनले महत्वपूर्ण मानिँदै आएको चिनियाँ बजारमा ४२ लाख नयाँ सवारी बिक्री गरेको छ र चीनमा कम्पनीले डिसेम्बरमा गरेको बिक्री मासिक १७.८ प्रतिशतले वृद्धि भएको छ ।
युरोपमा भएको बिक्री वृद्धि ३.३ प्रतिशतको न्यून कायम भएको छ । जर्मनीमै भएको आपूर्ति भने ऋणात्मक ०.४ प्रतिशत कायम भएको छ

प्रतिक्रिया दिनुहोस्