बाढीले २३ सिँचाइ नहर बगाउँदा ४ करोड बढीको क्षति «

बाढीले २३ सिँचाइ नहर बगाउँदा ४ करोड बढीको क्षति

जुम्लामा बाढीले २३ वटा सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका २३ वटा नयाँ तथा पुराना सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको हो ।
बाढीले विशेष गरी तातोपानी र तिला गाउँपालिकाका सिँचाइ नहर(कुलो)मा क्षति गरेको पाइएको छ । जसका कारण हिउँदे बाली जौ खेती गर्न समेत मुस्किल हुने भएको छ । चाडै पुर्ननिर्माणको नभएमा जौ रोप्न समेत समस्या हुने किसानहरूले बताएका छन् । कतै पूरै नहर(कुलो) बगेका छन् । कतै भत्कीएका छन् । भने कतै बालुवा भरिएका छन् । अधिकांश नहर बाढी सँगै बगेका छन् ।
जुम्लाका अधिकांश मार्फीफाँट र सिँचाइ नहर (कुलो) नदी छेउमै हुन्छन् । बाढीले मार्फीफाँट सँगै सिँचाइ नहरमा पनि उत्तिकै क्षति गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक अनुसार बाढीले तिला गाउँपालिका–४ मा १५ लाख लगातमा निर्माण गरिएको माथिल्लो लासी सिँचाइ कुलो,१५ लाखकै लागतमा निर्माण गरिएको नाङगाँडा, किमिरुख, र बालु सिँचाइ योजनामा क्षति भएको छ ।
साथै, बिडुल्ली सिँचाइ नहर बग्दा १० लाख, नाउला, सिमकुलो सिँचाइ योजना भत्किँदा १५ लाख, र १० लाखमा निर्माण गरिएको सिमकुलो अडाडी र १० लाखकै लागतमा निर्माण भएको भुडारीज्युला सिँचाइ आयोजनामा बाढीले पूर्ण क्षति गरेको छ ।
बाढीले तिला गाउँपालिकाकै भारखेत सिमकुलो सिँचाइ कुलो बगाउँदा १५ लाख, रावतवाडा सापुल्ली सिँचाइ योजना बगाउँदा २५ लाख,गाडापाडी सिँचाइ योजना बगाँदा १० लाख तलिचौर सिँचाइ कुलो भत्किँदा १५ लाखको क्षति भएको छ ।
साथै, दाप्ले सिँचाइ कुलो बग्दा १५ लाख, हप्पलीघट्ट सिँचाइ नहर बग्दा २० लाख, लिडाला सिँचाइ योजना भत्कीदा १५ लाख, लामीडाँडा सिँचाइ योजना बगाउँदम ९४ लाख बढीका क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
साथै चन्दननाथ नगरपालिका १ र २ माझकुलो सिँचाइ योजना,चन्दननाथ १ ठिन्केकुलो सिँचाइ योजना चन्दननाथ ३ डिल कुलो सिँचाइ योजना, चन्दननाथ–१० बोहरागाउँ घट्टेखोला सिँचाइ योजना र माछीखेत पखुलो सिँचाइ योजना बाढीले बगाउँदा करिब ७० लाख बढीको क्षति भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
बाढीले सिँचाइ नहर कुलो बगाउँदा करोडौँको क्षति भएको कृषि प्राविधिक लक्षिराम महतले बताए । उनले भने, “एकातिर करोडौको क्षतिथ भयो । अर्कोतर्फ सिँचाइ नभए सम्म मंसिरमा रोपिने जौ खेती गर्न समस्या हुने देखिन्छ । क्षति भएका सिँचाइ नहर कुलो निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुको विकल्प छैन ।”
यता कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढी प्रभावित क्षेत्र पहिचान गरी विषयगत कार्यालयले काम अगाडि बढाउन निर्देशन दिएका छन् । राहत तथा उद्धारमा ढिला गर्न नहुने भन्दै तत्कालीन जिल्लाका विषयगत कार्यालय र स्थानीय सरकारले छिटो काम गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्