ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : प्रचण्ड «

ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन् । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन् ।
उनले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाए । उनले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने बताए । उनले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाए ।
अध्यक्ष दाहालले आफ्नो पार्टीले धेरै राम्रा काम गरेपनि बिक्री गर्न नजानेको बताए । उनले माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताए । उनले जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्ने बताए ।
अध्यक्ष दाहालले काठमाडौं उपत्यकाको मुख्य समस्या स्ववासीहरुले लालपूर्जा नपाएको रहेको बताउँदै त्यो समस्या समाधानका लागि माओवादी लागि पर्ने र सम्बन्धित मन्त्रालयलाई पनि खबर गरिएको बताए । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई भेटेर स्ववासीलाई लालपूर्जा दिने काम तत्काल गर्न आग्रह गरेको बताए ।
अध्यक्ष दाहालले फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्