धादिङको दुर्गम गाउँमा नेपाली सेनाको स्वास्थ्य शिविर

धादिङको उत्तरी क्षेत्रमा पर्ने किन्ताङफेदीमा नेपाली सेनाले बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धादिङको दुर्गम क्षेत्रका मानिसहरूलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिवदल गण गजुरीले विभिन्न संस्थाहरूसँगको समन्वयमा स्वास्थ्य शिविर संचालन गरेको हो ।
दुर्गम क्षेत्रमा मानिसहरू नियमित चेकजाँज गर्न स्वास्थ्य संस्था जाँदैनन् । धादिङका उत्तरी क्षेत्रका मानिसहरू धादिङबेंसी तथा काठमाडौं जान पनि निकै टाढा छ । रोग बोकेर हिडिरहेका विरामीहरूलाई रोगको पहिचान गरी उपचार गर्ने बानीको विकास गर्न शिविर आयोजना गरिएको ६ नम्बर बाहिनी अड्डाका बाहिनीपती रवीन्द्र केसीले बताए । ‘यो स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, डेन्टल, आँखा, दाँत लगायत अन्य सामान्य सेवा समेत दिएको छौं । जटिल केशहरू विरामीहरू पनि पनि आएका छन् । थप उपचारमा सहजीकरण गर्छाै ।’ गणपति केसी ले भने ।
शिविरमा सेवा लिन आएका सेवाग्राहीहरू पनि खुषी लागेको बताउँछन् । खनियाँबास गाउँपालिका वडा नं. ४ की ८६ वर्षीय मनमाया तामाङ गाउँ नजिकै शिविर भएकोले मात्र जचाउन आएको बताउँछिन् । उनी भन्छिन्, ‘स्वास्थ्य संस्था टाढा छ । अलि जटिल समस्या भए धादिङबेशी जानु पर्छ । २÷३ दिन लाग्छ । सम्भव नै छैन ।’ गाउँमै शिविर आएकोले आँखा र दाँत जचाउन आएको उनले बताइन् । त्यस्तै, राम्रोसँग आँखा नदेख्ने र खुट्टा दुखेर जचाउन आएका नेत्रावती डवजोङ गाउँपालिका १ भाङटारका लमन श्रेष्ठ गाउँमै स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका हामी जस्तो समुदायलाई ठूलै राहत मिलेको बताउँछन् । टाढा जान परेन । आउन जान खर्च हुन्थ्यो । औषधि पनि निःशुल्क पाएका छौं । हामी त खुषी छौं, उनले भने ।
जिल्ला प्रशासन कार्यालय धादिङको संयोजनमा श्री नं. ६ फि.ए. गुल्म, बैरनी, धादिङ अस्पताल, स्वास्थ्य कार्यालयलगायत नजिकका पालिकाहरूको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा पाँच सय जना सेवाग्राहीले सेवा लिएका छन् । आँखाको जाँच गराएका १ सय १० जनामध्ये ५ जनामा मोतिया विन्दु फेला परेको छ । मोतियाबिन्दु फेला परकोहरूको आगामी मंसीर १६ देखि १८ गतेसम्म जिल्ला सामुदायिक आँखा केन्द्रमा निःशुल्क अपरेसन गरिने आयोजकले बताएका छन् ।