जिरीमा सातौं लाटोकोसेरो महोत्सव हुने

दोलखाको नगरी जिरीमा ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७४’ हुने भएको छ । प्रकृतिका साथीहरूनामक गैरसरकारी संस्था र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा यही माघ १९ र २० गते जिरीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो । महोत्सव जिरी प्राविधिक शिक्षालयमा हुनेछ ।
बुधबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर जिरीमा पनि लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको जानकारी दिइएको हो । किसानको साथी भनेर चिनिने लाटोकोसेरोको अवैध व्यापार र शिकार हुन थालेपछि संरक्षणका लागि उत्सवको आयोजना गर्न लागिएको आयोजक प्रकृतिका साथीहरूनामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । अमेरिका र इटालीमा समेत मनाइने गरिएको यो उत्सव नेपालमा पनि केही वर्ष यता मनाउन थालिएको छ । जिरीमा आयोजना हुन लागेको लाटोकोसेरो तथा हुचिल उत्सव सातौं उत्सव हो ।
उत्सवका आकर्षण
दुई दिनसम्म चल्ने उत्सवको पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम तथा रोबोट प्रदर्शनी, लाटोकोसेरोसम्बन्धी स्लाइड तथा भिडियो प्रदर्शनी हुने निर्देशक आचार्यले जानकारी दिए । उत्सवको दोस्रो दिन संरक्षण, संस्कृति तथा लाटोकोसेरोसँग सम्बन्धी सामग्रीहरू प्रदर्शन गरिने छ । उत्सवलाई जीवन्त बनाउन स्थानीय शेर्पा, जिरेल, नेवारलगायतका सांस्कृतिक नृत्य र भजन तथा लोपोन्मुख स्थानीय खेल टुटु प्रतियोगिता पनि हुने आयोजक युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिए । उत्सवमा नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ । उत्सवको सहआयोजक जिरी नगरपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना र जिरी प्राविधिक शिक्षालय रहेका छन् ।
लाटोकोसेरोले मुसाको शिकार गरी नियन्त्रण गर्ने हुनाले यसलाई किसानको साथी पनि भन्ने गरिन्छ । लाटोकोसेरोको भाले, पोथी र एउटा बच्चाले एक सिजन अर्थात् ४ महिनाको अवधिमा करिब ३ हजार वटासम्म मुसा खाने गर्दछन् । मुसाबाहेक लाटोकोसेरोले किरा, फट्यांग्रा, सर्प र भ्यागुतालाई पनि नियन्त्रण गर्दछ ।
यसको शिकार वा किनबेच गरेमा २५ देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजायँ वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।
नेपालमा तराईदेखि हिमालसम्मै बासस्थान रहेको लाटोकोसेरोको संख्या भने एकिन छैन । संसारभर २३ प्रकारका लाटोकोसेरोको प्रजाति रहेको अभिलेख छ । नेपालमा ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख रहेको आचार्यले बताए ।
३ संरक्षणकर्मी पुरस्कृत हुने
प्रकृतिका साथीहरूनामक संस्थाले जिरीमा हुने सातौं लाटोकोसेरो तथा हुचिल उत्सवको अवसर पारेर प्रकृति संरक्षणको क्षेत्रमा योगदान पु¥याउने अनुसन्धानकर्मी, संरक्षणकर्मी र एक पत्रकारसहित तीन जनालाई ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदवहादुर खड्का, नेपाल पंक्षी संरक्षण संघ काठमाडौंका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसाल र नेपाल वातावरण पत्रकार समूहमा आबद्ध पत्रकार शोभा मानन्धरलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशी जनही नगद २५ हजार र ताम्रपत्र रहेको छ ।