साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउँछौं : राजदूतहरू
नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त राजदूतहरूले लघु, घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका वस्तुहरूको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिबद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्घन गर्ने उनीहरूले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरूका लागि नियुक्त गरेका नवनियुक्त राजदूतरुसँगको स्वागत तथा भेटघाटमा उनीहरूले आफूहरूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरूको बजारीकरणमा सघाउने बताए ।
नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाइल्यान्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकाल, यूएन जेनेभाका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा साना उद्योगहरूको योगदानलाई बिर्सन नहुने बताए ।
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारको ‘सुखी नेपाली– समृद्ध नेपाल’ को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रबद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरूको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा जोड दिए । यस्ता उत्पादनहरूको निर्यात प्रवद्र्धनका लागि राजदूतहरूले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कूटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे ।
कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदानमध्ये ९० प्रतिशत हिस्सा साना उद्योगहरूको रहेको जानकारी दिँदै कुल औद्योगिक रोजगारीको ७५ प्रतिशत रोजगारी र कुल औद्योगिक निर्यातको ८० प्रतिशत निर्यात यसै क्षेत्रबाट भएको बताए ।
घरेलु तथा साना उद्योग विभागको आर्थिक वर्ष २०७३-७४ को औद्योगिक तथ्याङ्क अनुसार मुलुकभर कुल ३ लाख ८६ हजार ५ सय १२ घरेलु तथा साना उद्योग दर्ता भएर नविकरण भई हाल चालू रहेका उद्योग २ लाख ६४ हजार ८६ रहेको बताउँदै उनले भने– “ती उद्योगहरूमा प्रस्तावित कुल पुँजी लगानी रु. ३५,३१२ करोड लगानी भएको र २४,६६,९९२ जना रोजगारी सिर्जना हुनेछ । यसका अलावा विभिन्न समयमा भएका अनौपचारिक अध्ययन र प्रक्षेपणहरूले विना दर्ता ६ लाखभन्दा बढी लघुउद्यम व्यवसायहरू मुलुकका विभिन्न भागमा छरिएर सञ्चालनमा रहेको अनुमान गरिन्छ ।”
राजदूतावास र अन्तरगतका निकायहरूमा लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूको डिस्प्ले सेन्टरको आवश्यक व्यवस्था गराउनुका साथै नेपाली वस्तु तथा सेवाहरूको अधिकतम उपयोग एवं उपभोग गराउन पनि अध्यक्ष सिंहको आग्रह थियो ।