बेमौसमी वर्षाले मोरङ–सुनसरीका उद्योगमा साढे दुई अर्बको क्षति «

बेमौसमी वर्षाले मोरङ–सुनसरीका उद्योगमा साढे दुई अर्बको क्षति


कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा दुई अर्ब ४७ करोड बराबरको क्षति भएको छ । उद्योग संगठन मोरङले कात्तिक पहिलो साता परेको वर्षा र त्यसपछि आएको बाढीले औद्योगिक क्षेत्रमा परेको क्षतिबारे गरिएको प्रभाव मूल्यांकन प्रतिवेदन र सार्वजनिक गरेको हो ।
उद्योगी व्यवसायी, सरोकारवाला र प्रशासनका प्रतिनिधिसहितको सहभागितामा प्रतिवेदन सार्वजनिक गरिएको हो । बाढीबाट ४१ उद्योगमा प्रभावित भएको र त्यसको असरबाट कतिपय उद्योगले अझै उत्पादन सुरु गर्न नसकेको कार्यक्रममा जानकारी दिइएको छ । बाढी कम भएलगत्तै उद्योग संगठनले प्रभावित उद्योगमा भएको क्षतिको स्थलगत अध्ययन गरेको थियो ।
बाढीबाट जुट, कपडा र कपास उद्योगका उत्पादन कामै नलाग्ने गरी नष्ट भएका छन् । उद्योगहरूमा बाढी पस्दा मेसिन औजारमा ९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुमा ७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुमा ७६ करोड ४ लाख पाँच हजार र सरसफाइ तथा फोहोर व्यवस्थापनमा एक करोड ७१ लख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको संगठनको प्रतिवेदनमा जनाइएको छ ।

बाढी डुबानका काण उद्योग बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध हुँदा स्थिर खर्च, प्रशासनिक खर्च, उत्पादनको अवसर मूल्य तथा बजार श्रृंखला टुट्न गई थप व्यवभार थपिएको प्रतिवेदनमा उल्लेख छ । बाढीबाट २७ वटा उद्योग एक हप्तासम्म सञ्चालनमा आउन नसकेको, सातवटा उद्योगलाई अझै दुई साता लाग्ने र तीन उद्योगलाई चार हप्तासम्म लाग्ने देखिएको छ । बाँकी चार उद्योगलाई भने चार साताभन्दा अधिक समय लाग्ने देखिएको जनाइएको छ ।
अध्यक्ष सुयष प्याकुरेलले बाढीबाट औद्योगिक करिडोरमा वर्षेनि हुने गरेको क्षति न्यूनीकरण गर्न बाढीको उचित निकासको प्रबन्ध हुनुपर्ने बताए । उनले उद्योगमा भएको क्षतिले धेरै उद्योगलाई ठूलो आर्थिक नोक्सानी भएको र कतिपयले उत्पादनसमेत सुरु गर्न नसकेको बताए । “पूर्ण अध्ययनबिना भएका सडक निर्माण, औद्योगिक क्षेत्रमा प्लटिङ र मानवीय हस्तक्षेपका कारण खोलानालको बहावमा पर्ने असरले बाढीले क्षति गर्ने गरेको छ ।” अध्यक्ष प्याकुरेलले भने । उनले औद्योगिक क्षेत्रमा हुने गरेको समस्या निराकरण गर्न राज्यले चासो दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी उद्योगी तथा प्रतिनिधिहरुले धरान–विराटनगर ६ लेन सडक उद्योग क्षेत्रभन्दा उच्च निर्माण हुनु, पानीको प्राकृतिक निकासमा मानीवय हस्तक्षेप गरिनु र निकासका लागि पुलपुलेसा तथा कल्भर्टसमेत हटाइनाले हरेक वर्ष समस्या बढ्दै गएको बताए । रिलायन्स स्पिनिङ मिल्सका महेश पोखरेलले चारकोसे झाडीको शेरेबाँधलगायत क्षेत्रको पानी इटहरी हुँदै टेंग्रा खोलामा मिसिएर आउँदा बाढीको बहाव अधिक हुने गरेको बताए ।
उद्योगी प्रदीप मुरारकाले कटहरी क्षेत्रमा निर्माण भइरहेको चारलेन सडकको नालामा उद्योग क्षेत्रबाट निस्कने पानी निकास गर्ने व्यवस्था गर्न माग गरेपनि त्यसको सुनुवाइ नभएको बताए । उनले भने, “छ लेन र चार लेन सडक आसपासका उद्योग सडकभन्दा दुई चार फिट तल परिसके । पानीको निकास छैन । बर्खा आउनासाथ डुबानमा पर्छन् ।”
उद्योगी व्यवसायीले उद्योगमा भएको क्षतिको उचित क्षतिपूर्ति दिनसमेत सरकारसमक्ष माग गरेका छन् । उद्योगी विपीन काबराले विद्युत प्राधिकरणको दुहबीस्थित सबस्टेशन बाढीबाट नबडुब्ने गरिको संरचना निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारीले उद्योगी व्यवसायीले उठाएको माग जायज भएको भन्दै तमाम समस्याको विषयमा सरकारका सम्बन्धित निकायलाई यसबारे जानकारी गराउने र समस्या समाधानमा पहल लिने बताए ।

प्रतिक्रिया दिनुहोस्