Logo

सीप हन्तान्तरण नहुँदा भोजपुरे खुकुरी संकटमा

स्वदेश तथा विदेशमा पहिचान नै बनाएको भोजपुरे खुकुरी लोप हुने अवस्थामा पुगेको छ । स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा र संरक्षणको अभावमा यो पेशा नै लोप हुने अवस्थामा पुगेको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार र बाहिरी जिल्लाका साथै अन्तरराष्ट्रिय बजारसम्म पुग्ने भएपनि माग अनुसार खुकुरी उत्पादन हुन नसकेको व्यवसायीहरू बताउँछन् ।
खुकुरीले नै ख्याति कमाएको जिल्लामा हाल दक्ष कालिगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । भोजपुरे, सिरुपाते, चित्लाङले कोथीमोडालगायत खुकुरी बनाउने गरिएकामा यस पेशालाई अपहेलनाको रूपमा हेरिने गरिएका कारण पनि संकटमा परेको उनीहरूको गुनासो छ ।
यस्ता खुकरी विश्व बजारमा समेत प्रख्यात छ । यी खुकुरीको माग धेरै हुने गरेको छ । विगतका वर्षमा धेरै कालिगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रूपमा यो काम गर्नेको सङ्ख्या न्यून हुँदैगएको छ । बढी मेहनत गर्नुपर्नाका साथै व्यवसाका लागि आवश्यक कच्चापदार्थ अभाव र नयाँ पुस्तामा यसप्रति मोह नभएकाले यो पेशा संकटमा पर्दै गएको कालिगढ हर्कबहादुर विश्वकर्मा बताउँछन् ।
यो पेशालाई लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कालिगढ विश्वकर्मा भन्छन्, ‘‘मैले ४० वर्षदेखि यही पेशा अपनाइरहेको छु । यतिका समयसम्म यही पेशा गर्दा पनि मलाई सँधै नै आर्थिक समस्या हुन्छ । राज्यका तर्फबाट मैले खास केही सुविधा पाएको छैन । मिहेनत बढी गर्नुपर्छ । आम्दानी कम छ । राज्यको सहयोग छैन । त्यसैले पछिल्ला पुस्ताले यो पेशा रुचाउन छाडेका हुन् ।’’
स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको अर्का कालिगढ प्रेमकुमार लुवार बताउँछन् ।
व्यवसाय सञ्चालन गर्न स्थानीयस्तरमा पाइने कच्चा पदार्थसमेत अभाव रहेको उनको भनाइ छ । स्थानीय खुकुरी व्यापारी हिरालाल श्रेष्ठ भन्छन् । ‘‘हामीेले अहिले अनलाइनमार्फत पनि व्यावसाय गरिरहेका छौँ । कालिगढसँगै कच्चापदार्थको अभावमा हामीलाई व्यवसाय सञ्चालनमा समस्या छ । त्यसैले मागअनुसारको खुकुरी दिन सकिएको छैन । बजार धान्न समस्या छ ।’’
राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा यस्ता व्यवसाय संकटमा परेको उद्योग सञ्चालकको भनाइ छ । यस पेशालाई बचाइ राख्न तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको खुकुरी व्यवसायी बताउँछन् । पेशालाई जोगाइ राख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ ।
विदेश जाने लहरले गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन बन्द हुँदा यतिबेला गाउँघरकाले पनि सदरमुकामबाटै खुकुरी किन्ने गरेको व्यवसायीहरूको भनाइ छ । ‘‘स्थानीयस्तरमै खुकुरीको माग बढी छ । गाउँघरमा परम्परागत रूपमा गरिने पेशा धेरैले छाडिसके । सदरमुकाममा उत्पादन भएका खुकुरी धेरैजसो गाउँतिरै जान्छ । बाहिरबाट आउने माग पनि पूरा गर्न सकिएको छैन् । यही अवस्था रहेमा यो पेशालाई पुस्तान्तरण गर्न समस्या छ ।’’ व्यवसायी श्रेष्ठ भन्छन् ।

प्रतिक्रिया दिनुहोस्