पोखरामा ८० प्रतिशत स्थानीय फूलको बजार «

पोखरामा ८० प्रतिशत स्थानीय फूलको बजार


पोखरामा यस वर्ष करिब दुई करोड ५० लाख मूल्य बराबरको फूलको कारोबार हुने भएको छ । तिहारको अवसरमा पोखरा क्षेत्रमा करिब २ करोड ५० लाख भन्दा बढीको कारोबार हुने भएको फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।
यस वर्ष पोखरामा स्थानीयले उत्पादन गरेको फूलको मालालाई एक सयदेखि एक सय ५० रुपैयाँमा बिक्री गर्ने भएको उनले बताए । भारतबाट आउने फूल एकै आकारको भएको हुँदा पूजा आजा गर्न प्रयोग गर्ने गरिएको अध्यक्ष गुरुङले बताए । यस वर्ष पनि सयपत्री फूलको थुंगालाई ५ रुपैयाँमा बिक्री गर्ने भएको उनले जनाए । मनकामना नर्सरीका सञ्चालक समेत रहेका गुरुङले यस वर्ष करिब ३५ हजार फूलका बिरुवा रोपेका छन् । उनले यस वर्ष फूलबाट मात्र करिब ८ लाखको कारोबार गर्दैछन् ।
गत वर्षको तुलनामा कोरोना संक्रमण कम भएकले फूलको माग हुने उनले दाबी गरे । पोखरामा यस वर्ष करिब ८० प्रतिशत आन्तरिक फूलले बजार धान्ने फान कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्ववाले बताए । यस वर्ष पनि स्वदेशी फूलकै माला लगाउने गरी पोखरा क्षेत्रका नर्सरी व्यवसायीहरुले हाइब्रिड फूल उत्पादन गरेसँगै स्थानीयका घरमा फूल उत्पादन राम्रो हुँदै गरेको द्ववाले बताए । पोखरामा हाल ३२ वटा नर्सरी व्यवसायीहरु रहेको उनले जनाए । केही दिन पानी नपरेमा स्थानीय र हाइब्रिड फूल राम्रो उत्पादन हुने द्ववाले जनाए ।
यस वर्ष स्थानीय एवं होटल तथा रेष्टुरेण्ट व्यवसायीले फूल किन्न आएको उनले बताए । बजारमा तिहारका लागि भाइटिका मसलादेखि विभिन्न सामानको बिक्री वितरण सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्