जीर्ण भवनबाट सेवा प्रवाह गर्दै इलाका प्रहरी कार्यालय «

जीर्ण भवनबाट सेवा प्रवाह गर्दै इलाका प्रहरी कार्यालय

इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना भवनमा पानी पर्दा चुहिने भएकाले प्रहरीलाई सेवा प्रवाहमा समस्या थपिएको छ ।
द्वन्द्वकालमा ध्वस्त बनेको तीन कोठाको ब्यारेक भवन पानी चुहिएर बस्नै नमिल्ने अवस्था छ । सबै कोठा चर्किएका छन् । कार्यालय भवन दुईतला छ कोठासहितको छ । यो पनि बस्न लायकको छैन । तैपनि भवन अभावमा काम चलाउका रूपमा दुःखले प्रयोग गरिएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय शान्तिकोषबाट ३५ लाख ९२ हजार ३६० सहयोगमा निर्मित भवन वि.सं २०६८ मंसिर १९ गते समुद्घाटन गरी प्रयोगमा ल्याइएको छ । सो भवन एक तले तीन कोठाको छ । प्रहरी हबल्दार र जवान ब्यारेकका रूपमा प्रयोग गरिएको छ ।
थुनुवाका लागि एकवटा अस्थायी कोठा छ । महिला थुनुवाका लागि कार्यालय प्रमुखको कार्यकक्ष प्रयोग गर्नुपर्ने अवस्था छ । महिलाका लागि छुट्टै थुनुवा कक्ष नहुँदा अप्ठ्यारो स्थिति रहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । “भवन चुहिने समस्या छ, महिला र पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कक्ष छैन, महिला थुनुवालाई कार्यालय प्रमुखको कार्यकक्षमा महिला प्रहरी खटाएर राख्ने गरिएको छ, यस कार्यालयको कार्यक्षेत्र र जनघनत्व ठूलो छ,” उनले भने ।
कार्यक्षेत्र ठूलो रहेको हुँदा पनि दैनिक विभिन्न घटना प्रहरीमा आउने गर्छन् । भवन जीर्ण र अभावमा विभिन्न घटनामा सम्बन्धित व्यक्तिलाई अनुसन्धानमा समस्या छ । कालीगण्डकी करिडोर सडकखण्डमा हाल दैनिकजसो सवारी दुर्घटना हुन थालेका छन् । व्यस्त बन्दै गरेको रामपुरका मुख्य बजार बेझाड, किसानवारी, विजयपुर जस्ता बजारहरू, सडक क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ । प्रहरी निरीक्षकको दरबन्दी रहेको यस कार्यालयमा २६ जनाको दरबन्दी कायम छ । हाल भने यहाँ ३७ जना कार्यरत छन् । रामपुर नगरपालिकासहित निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका–१ सिलुवा यस कार्यालयको क्षेत्र पर्छ ।
इलाका प्रहरी कार्यालय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा रहेको छ । पूर्वी पाल्पामा जनघनत्व बढ्दै जानु र अहिले कायम रहेको प्रहरी निरीक्षकको दरबन्दीको स्तरोन्नतिको माग स्थानीयवासीले गरिरहेका छन् । यस कार्यालयको सेवा क्षेत्र सुरक्षाको हिसाबले चुनौती र बढ्दो जनघनत्व भएकाले प्रहरी नायबर उपरीक्षकको दरबन्दी र मुद्दा दर्ता लगायतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि स्थानीयवासीले सम्बन्धित निकायमा दबाब दिइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईसमक्ष पनि यहाँका जनप्रतिनिधि, सरोकारवाला नागरिक, राजनीतिक दलले यहाँको शान्ति सुव्यवस्था अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको स्तरोन्नतिको माग गरेका छन् । प्रहरी उपरीक्षक भट्टराईले जिल्लामा पुग्ने धेरै मुद्दाहरू रामपुर क्षेत्रको भएकाले यहाँका जनताको सेवाका लागि थप जनशक्तिसहितको पूर्वाधार आवश्यक रहेको बताए । आफू पाल्पा आएदेखि मुद्दा र क्षेत्रको हिसाबले रामपुरमा संरचना थपका लागि पहल भइरहेको उल्लेख गर्दै सुरक्षाको हिसाबले पनि रामपुरमा भवन र जनशक्ति आवश्यक रहेको बताए ।
इलाका प्रहरी कार्यालय रामपुरको भवन निर्माणका लागि अध्ययन थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको सम्भाव्यता अध्ययन कार्यसमेत गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को समन्वयमा महिला, बालबालिका, फरक क्षमता भएका, ज्येष्ठ नागरिकका लागि लक्षित गरी बन्ने भवनको सम्बन्धित निकायले स्थलगत अध्ययन अवलोकन गरिसकेको छ ।
एडिबीले नेपालका विभिन्न दस स्थानका प्रहरी कार्यालयमा बनाउने गरी अगाडि बढेको टोलीले भवनका लागि कम्तीमा चाहिने क्षेत्रफल तथा हालको अवस्थाबारे जानकारी लिएको छ । दस स्थानमा अनुगमन अध्ययन गरी उपयुक्त ठाउँ छनोटपश्चात् तीन स्थानमा भवन बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्