Logo

अनुदानमा कृषि सामग्री वितरण

नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिको अनुदान सहयोगमा कृषक तथा कृषक समूहलाई कृषि सामग्री वितरण गरिएको छ । कोहलपुर नगरपालिकाको नगर कृषि शाखाले आयोजना गरेको कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतले कृषकलाई ११ थान कृषि सामग्री वितरण गरेका हुन् ।
वितरण गरिएका सामग्रीमा बहुउपयोगी २२ एचपीका पावर टिलर ८ थान, २२ एचपीकै मिनी पावर टिलर २ थान, २ एचपीको मोटर पम्प १ थान र च्यापर १ थान रहेका छन् । कोहलपुर नगरपालिकाले बाँकेका अन्य स्थानीय तहमा भन्दा धेरै बढी ७५ प्रतिशत अनुदान कृषकलाई दिएको जनाएको छ । यो प्रतिशत आगामी दिनमा बढाउँदै लैजाने पनि जनाइएको छ ।
कृषि सामग्री अनुदान पाउने किसानहरूमा कोहलपुर नगरपालिका–२ मुक्तिनगरका लोकेन्द्रबहादुर खड्का र मोहल रिजाल, वडा नं. ३ मैटहवाका रमिला थापा, उदीराम वली र शंकरबहादुर डाँगी, वडा नं. ७ रजगढवाका सुनिल चौधरी र डिल्लीराम थारु, वडा नं. १४ हवलदारपुरका दुर्गा हमाल र प्रेमपुरी मैना घले र वडा नं. १५ चौधरीयाकी गिता थारु रहेका छन् ।
कृषि सामग्री हस्तान्तरण गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतले किसानलाई आफ्नो पेशालाई व्यवस्थित, आधुनिक र व्यवसायीमुखी बनाउने उद्देश्यले कृषि सामग्री वितरण गरिएको बताए । उनले कृषि सामग्रीको प्रयोग गरी उत्पादन बढाउन र आर्थिक स्थितिमा सुधार ल्याउन आग्रह गरे । नगर प्रमुख रावतले कृषकले यी सामाग्रीको उपयोग आफ्नो लागि गरेर बाँकी रहेको समयमा अन्य कृषकका लागि समेत प्रयोग गरी लाभ लिन सुझाव दिए ।
कृषि सामग्री पाएपछि कृषकहरूले नगरपालिकाको सो कार्यको प्रशंसा गर्दै आफूहरूले लिएको सामग्रीहरू सदुपयोग गरे नगरेको अनुगमन गर्नुपर्ने तथा वास्तविक कृषकलाई मात्र प्रोत्साहन गर्न सुझाव दिए ।
कार्यक्रममा नगर कृषि शाखाका प्रमुख शेरबहादुर वलीले कोहलपुर नगरपालिका १५ वटै वडामा अनुगमन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्