Logo

विपक्षी गठबन्धनद्वारा प्रदेश १ को मुख्यमन्त्रीमा राईलाई समर्थन

विराटनगर- प्रदेश नं १ का विपक्षी गठबन्धनले नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आज बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।
नेकां संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डालगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा (एमाले)सँग सभामुखसहित ४१ सांसद छन् ।
विपक्षी गठबन्धन नेकाँको २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्