महिला च्याम्पियन्स लिग क्रिकेट हुने «

महिला च्याम्पियन्स लिग क्रिकेट हुने

नेपालमा पहिलोपटक महिलाको क्रिकेट लिग आयोजना हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक नेपालमा महिलाको क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ ।
प्रतियोगिता आगामी चैत २२ देखि ३० गतेसम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । प्रतियोगितामा पाँच सहरका पाँच टोलीको सहभागिता रहनेछ । “पहिलो सिजन पाँच सहरका पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसमा पुरुषकै जस्तो महिला खेलाडीका लागि पनि व्यावसायिक बनाउने प्रयास रहने छ,” लामाले भने ।
प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेको केही समयपछि जानकारी दिने उनको भनाइ थियो । प्रतियोगितामा विदेशी खेलाडी नहुने र खेलाडी छनोट लिलाम बढाबढ (अक्सन)बाट गर्ने वा नगर्ने भन्ने जानकारीसमेत केही दिनमै सार्वजनिक गर्ने तयारी छ ।
कार्यक्रममा राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताले महिला टोलीमा राम्रो सन्देश प्रवाह हुने बताए । राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीले ठूलो फड्को मार्न सक्ने बताए ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले महिलाका लागि यो ठूलो अवसर भएको उल्लेख गरे । महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि उत्साहित भएको प्रतिक्रिया दिइन् । यसअघि क्विन्स इभेन्ट म्यानेजमेन्टलले पोखरा प्रिमियर लिग (पिपिएल) सफलतापूर्वक आयोजना गरिसकेको छ ।

खेलाडीलाई डेढ करोड पुरस्कार
सरकारले क्रिकेट, साग, फुटबल एवं वल्र्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप एक करोड ५६ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । गएको माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी पनि दिए ।
त्यसैगरी मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियुक्ति गर्नुका साथै नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई प्राधिकरणकै कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको छ । सरकारले पाँच जना सहायकरथीलाई उपरथीमा पदोन्नति गरी पदस्थापन गर्ने तथा पाँच जना उपरथीलाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्