सडक अवरुद्ध हुँदा दैनिक उपभोग्यवस्तु अभाव «

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्यवस्तु अभाव


बेमौसमी वर्षाका कारण दुई साता पुग्न लाग्दा पनि बझाङको जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेको छैन । राजमार्गको विभिन्न स्थानमा बाढीले सडक बगाउँदा आवतजावतमा समस्या भएको छ ।
सेती नदीले छबिसपाथीभेरा गाउँपालिकाको जाल्याबगर र केदास्युँको नारुगौडामा सडक भत्काउँदा यातायातका साधन चल्न सकेका छनैन् । यातायातका साधन नचल्दा धनगढी, महेन्द्रनगर र नेपालगन्जबाट औषधि, खाद्यान्न, फलफूल, तरकारी तथा दैनिक उपभोग्य सामान बोकेका गाडी सदरमुकाम भित्रिन नसके पछि बझाङमा दैनिक उपभोग्य वस्तुको अभाव भएको हो ।
यातायात बन्द हुँदा सदरमुकाम चैनपुरलगायत जिल्लाका विभिन्न बजारमा व्यापारीले कृत्रिम अभाव देखाई मूल्य वृद्धि गरेपछि उपभोक्ता मर्कामा परेका छन् । जिल्ला सदरमुकाम चैनपुरमा सबैभन्दा बढी होटल व्यवसायी मर्कामा परेका छन् । दसंै तिहार भएकाले अधिकांश घर गएका र सदरमुकाम चैनपुरमा व्यवसायी मात्र रहेका छन ।
यातायातका साधन चल्न नसकेपछि जिल्लामा दैनिक उपभोग्य वस्तुका साथै फलफूल र तरकारीको अभाव हुनुका साथै मूल्य वृद्धि भएको बुङगल नगरपालिकाका रामबहादुर जाग्रीले बताए । उनले भने, “बजारमा खाना पकाउने ग्यास पाइन छाडेको छ । २५० मा पाइने पिठोको तीन सय तिर्नुपरेको छ । तरकारी देख्न पाइएको छैन । ग्रामीण सडक पनि बाढीले बगाएपछि स्थानीयस्तरमा उत्पादन भएका तरकारी बाटो नहुँदा बजारमा आएको छैन । बजारमा व्यापारीले अभाव भएको भन्दै महँंगोमा सामान बेचिरहेका छन् ।” सामानको भाउ बढे पनि बजारमा सामान नपाएको उपभोक्ताको गुनासो छ ।
पहिरोले जयपृथ्वी राजमार्ग बन्द भएपछि ग्यासको अभाव भएको छ । सदरमुकाम चैनपुरमा होटल व्यवसाय गरिरहेका व्यवसायी निरज बमले होटलमा ग्यास सकिएको तीन दिन भएको र बजारमा ग्यास खोज्दा नपाइएको दुःखेसो व्यक्त गरे । राजमार्ग अवरुद हँुदा बजारमा इन्धन अभाव भई मूल्य बढेको छ । यसअघि पेट्रोल प्रतिलिटर १५० रुपैयाँ र डिजेल १२५ मा पाइने भए पनि राजमार्ग अवरुद्धपछि इन्धन अभाव भएको भन्दै व्यापारीहरूले पेट्रोल प्रतिलिटर १८० रुपैयाँ र डिजेल १५० रुपैयाँमा बिक्री गर्दै आएका छन् । इन्धन अभाव देखाएर विभिन्न बहाना बनाई बढी मूल्य लिई खुलेयाम बिक्री वितरण हुने गरेको भए पनि सरोकारवाला निकायले अनुगमन तथा नियमनमा कुनै चासो नदिएको उपभोक्ताको गुनासो छ ।

दुई साता अघिदेखि गएको बाढीपहिरोले सडक खुल्न नसक्दा यहाँका उपभोक्ता मर्कामा परेका छन् । सेती नदीको बाढीले सडकको डिल नै भत्काएकाले सडक तत्कालै सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । उनले भने, “हामीले वर्षा रोकिएसँंगै राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउने काम गरेका थियौं । केदारस्युँको देउरासम्म आंशिक रूपमा सडक सञ्चालनमा आएको छ । तर जाल्याबगर र नारुगौडामा सडक पूर्णरूपमा बगाएकाले तत्कालै सुचारु हुनसक्ने अवस्था छैन । जाल्याबगरमा करिब तीन सय मिटर सडक सेतीले बगाएको छ । नारुगौडामा बलास्टिङ गरेर सञ्चालनमा ल्याउने तयारी छ । तर ज्याल्याबगरमा त्यो पनि सम्भावना छैन ।”

वैकल्पिक सडकको खोजी हँुदै
बाढी पहिरोले जयपृथ्वी राजमार्ग तहसनहस भएपछि वैकल्पिक मार्गको खोजी सुरु हुन थालेको छ । दुई हप्तासम्म सडक सञ्चालनमा नआएपछि सदरमुकाम जोडन पानकोट, सुतियाँ, मालुमेला झनाना सडक र भाँडेबगर मेल्लेख नौरा चैनपुर सडकमार्फत सवारी सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको छ ।
केदारस्युँको नारूगौडा खोलामा रहेको चट्टानमा एक दुई दिनभित्र विस्फोट गरेर सडक सञ्चालनमा ल्याइने तयारी भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । जाल्याबगर सडक बनाउन महिनौ दिन लाग्न सक्ने भएकाले दुई वैकल्पिक बाटो प्रयोग गर्ने प्रयास भइरहेको छ । जाल्याबगरमा तत्काल सम्भव नभएपछि वैकल्पिक सडकको खोजी सुरु भएको हो ।
छबिसपाथिभेरा गाउँपालिकाले भाँडेबाट ब्यासी, मेल्लेक हुँदै जयपृथ्वी नगरपालिकाको सुवेडा जोड्ने सडक मर्मत गरिसकेको सदरमुकाम चैनपुर जोडने सहज बाटो भएको जिल्ला समन्वय समितिका प्रमुख खडक खडकाले बताए । उनले भने, “हामीले भौतिक पूर्वाधार कार्यालयलाई सेती पारिको सडक पानकोट, सुतियाँ, मालुमेला झनाना सडक मर्मत गर्न भनेका छांै । अबको एक दुई दिनमा वैकल्पिक सडक सुचारु हुन्छन् । साना सवारी सञ्चालनमा आए पनि केही राहत हुन्छ कि भनेर सडक सुचारु गर्ने तयारीमा छौं ।
सेतीले बगाएको जयपृथ्वी राजमार्गअन्तर्गतको जाल्याबगर । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्