धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला «

धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला


सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वको लागि आवेदन खोलेको छ ।
पुँजी बजारको नियामक निकाय र बजारको पहिलो नियमनकारी दुवै नेतृत्वविहीन भएको करिब दुई महिनापछि बोर्ड अध्यक्ष र नेप्सेको सिइओ बन्नका लागि अर्थ मन्त्रालयले सूचना निकालेको हो ।
सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा बोर्ड अध्यक्ष छनौट समित गठन गरेको छ । उक्त समितिले जारी गरेको सूचनाअनुसार १५ दिनभित्र आवेदन दिन सकिनेछ । अब नियुक्ति हुने अध्यक्ष र सिईओको पद बाँकी अवधिका लागि मात्र हुनेछ । किनकि धितोपत्र बोर्डको ऐनअनुसार बीचमा अध्यक्ष वा सदस्य पद रिक्त हुन गएमा बाँकी अवधिभरका लागि चयन गरिने उल्लेख छ ।
तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना २०७६ साल पुस २३ गते नियुक्ति भएका थिए । तर, सर्वोत्तम सिमेन्टको बुक विल्डिङ प्रक्रियामा आउने लागेको सेयरमा अनियमितता गरेको भन्दै सरकारले उनलाई २०७८ साल १९ असोजमा बर्खास्त गरेको हो । त्यस्तै, नेप्सेका सिईओ पनि सोही अनियमिततामा मुछिएका थिए । तर, नेप्सेका सिईओ चन्द्रसिंह साउदले अनुसन्धान गर्न बाटो खुला गरेको भन्दै राजीनामा दिएका थिए ।
अध्यक्षमा दाबी गर्ने व्यक्ति धितोपत्र बोर्डको ऐनबमोजिम ३० वर्ष पुगी ६० वर्ष ननाघेको हुनुपर्नेछ भने कुनै पनि फौजदारी अभियोग नलागेको र वित्तीय क्षेत्रमा कम्तिमा ७ वर्ष अनुभव हासिल गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्