फोहोर प्लास्टिक किन्दै इलाम नगरपालिका «

फोहोर प्लास्टिक किन्दै इलाम नगरपालिका

इलाम नगरपालिकाले प्रयोग भइसकेका प्लास्टिक खरिद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लास्टिकजन्य फोहोर खरिद गर्न थालेको हो । नगरपालिकाले प्रतिकिलो १५ रुपैयाँका दरले प्लास्टिकजन्य फोहोर खरिद गर्ने भएको हो । माघ १ गतेबाट प्लास्टिकजन्य फोहोर किन्ने ब्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।
प्लास्टिक खरिद गर्न माघ एक गतेबाट सुरु गरिएको भए पनि अहिलेसम्म प्लास्टिकजन्य फोहोर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ । फोहोर प्लास्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रचार प्रसारलाई अगाडि बढाउने बताइएको छ ।
इलाम नगरपालिकाले ०६७ सालदेखि पोलिथिनको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । पोलिथिन झोला भने नगरपालिकाले किन्दैन । खानेपानीको बोतल, खाद्यवस्तुको प्याकेजिङमा भएको प्लास्टिकलगायतका प्यास्टिकजन्य फोहोर खरिद गर्ने भएको हो । नगरपालिकाले खरिद गरेको फोहोर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ साथै अलकत्र बनाउने नगरपालिकाको योजना छ । पूर्वमा नै प्लास्टिक प्रशोधन गर्ने प्लान्ट राख्ने प्रदेश सरकारसहित अन्य नगरपालिकाले तयारी गरिरहेको र यस कार्यलाई सहयोग पु¥याउन पनि प्लास्टिक खरिद गरिन लागिएको नगर प्रमुख बस्नेतको भनाइ छ । प्लान्ट स्थापना भएपछि संकलित फोहोर प्लास्टिक प्रशोधन गरिने, सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्र उत्पादन गरिने बताइएको छ । सिसाजन्य फोहोरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाको तयारी छ । अहिले महिनाको दुई दिनमात्रै सिसाजन्य फोहोर संकलन गर्ने गरेको छ ।
इलाम नगरपालिकामा दैनिक सात टन फोहोर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । त्योमध्ये करिब १० प्रतिशत प्लास्टिकजन्य फोहोर हुन्छ ।

विरोधपछि इनपाले प्रदूषण कर हटायो
जिल्लावासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदूषण कर हटाउने भएको छ । इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो ।
संघीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन । संघीय अर्थ मन्त्रालयमार्फत नै यो कर उठाउन आदेश आएपछि आफूहरूले यो कर उठाउन थालेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । नगरपालिकाले गत भदौ ७ गतेबाट प्रतिलिटर इन्धनबाट ५० पैसा प्रदूषण नियन्त्रण कर लिँदै आएको थियो । अब फागुन १ गतेबाट सो कर नलिने इलाम नगरपालिकाका प्रमुख बस्नेतले बताए । उनका अनुसार प्रतिलिटर ५० पैसाका दरले उठाइएको र उठेको रकमबाट ३१ प्रतिशत नगरपालिकाले खर्च गर्ने र बाँकी १९ प्रतिशत संघीय अर्थ मन्त्रालयमा पठाउँदै आएको थियो ।
हालसम्म तथा करिब पाँच महिनाको अवधिमा अतिरिक्त शुल्कमार्फत पाँच लाख रकम संकलन भएको बताइएको छ । जिल्लावासीले प्रदूषण कर सवारी खरिद गर्दा नै तिरिसकेकाले इलाम नगरपालिकाबाट लिँदै आइएको कर हटाउन माग गर्दै आएका थिए । इलाम नगरपालिकामा दुईवटा इन्धन बिक्री गर्ने पम्प छन् ।
त्यस्तै नगर कार्यपालिकाको बैठकले घरबहाल कर बढाउने निर्णय गरेको छ । हालसम्म इलाम नगरपालिकाले घरबहाल कर भनी ७ प्रतिशत लिँदै आएको थियो । अब आउँदो आर्थिक वर्षबाट घरबहाल कर १० प्रतिशत लिइने नगरप्रमुख महेश बस्नेतले जानकारी दिए । प्रदेश सरकारबाट नै न्यूनतम १० प्रतिशत घरबहाल कर उठाउनु भनेर आदेश आएपछि कर बढाउन लागेको प्रमुख बस्नेतको भनाइ छ । उनले घरबहाल कर १२ प्रतिशतसम्म लिन पाउने प्रावधान रहेको दाबी गरे । घर बहाल करसमेत वबढाउन जिल्लावासीले नगरपालिकासमक्ष माग गर्दै आएका छन् ।

टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्