Logo

झिलिमिली बत्ती र फूलैफूलले सजिएको पर्व तिहार

नेपालीहरूको महान् चाड दसैँपछिको ठूलो पर्व तिहार हो, जसलाई हर्ष तथा उल्लासको पर्व पनि भनिन्छ । किनकि उक्त दिन सबैले आफ्नो रिसराग त्यागेर, एकजुट भएर हर्षका साथ पर्व मनाउने गर्छन् । यो पर्व कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि सुरु हुन्छ । तिहार पाँच दिनसम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तर, यस वर्ष कात्तिक १७ गते त्रयोदशी तथा चतुर्दशीको दिनमा कुकुर र काग तिहार एकै दिन परेको हुनाले १८ गते लक्ष्मीपूजा, १९ गते गाई तथा गोरु पूजा र २० गते द्वितीया तिथिमा भाइटीका परेको छ ।
भाइटीका विशेष गरी दिदीबहिनी र दाजुभाइको पर्व हो । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइन्छ । दाजुभाइले दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता पनि रहेको छ । तर, दिदीबहिनी नहुनेका लागि उक्त दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक त्यस दिन मात्र खोल्ने प्रचलन छ । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । त्यसमाथि तिहार भन्नेबित्तिकै मस्तिष्कमा झिलिमिली बत्ती, सयपत्री र मखमली फूलको झझल्को आउने गर्छ । हरेक घर झिलिमिली बत्तीका साथै बलेको दियोले सजिएको हुन्छ । प्रायः सबैको घरमा सयपत्री, मखमली अनि गोदावरी फूल रोपिएको हुन्छ । ती पुष्पहरूबाट आएको सुगन्धले घरवरपरको वातारणसमेत रमणीय बनाउने गर्छ । यदि घरमा नभए किनेर नै भए पनि फूल ल्याएर घरको झ्याल, ढोकाका साथै घरवरिपरि फूलको मालाले सजाउनेदेखि लिएर पूजाअर्चनासमेत गर्ने प्रचलन छ ।
फूलको सुगन्ध र बत्तीको चमकले घरमा अर्कै रौनक ल्याउँछ भने सयपत्री र मखमली फूलको माला बनाउँदा मनमा अर्कै आनन्द आउने गर्छ । त्यसैले सबैले तिहार नजिकिन लागेसँगै घरको सरसफाइ, रंगरोगन र सजावट गर्ने गर्छन् । पहिले–पहिले गाउँघरमा गोबर, रातो माटो र कमेरोले लिपेर, माटाको पालामा दियोबत्ती जलाएर घरलाई उज्यालो पारिन्थ्यो भने अहिलेको आधुनिक समयमा प्रविधिको विकाससँगसँगै अनेक थरीको इलेक्ट्रिक बत्ती, पाला, झिलिमिली बत्तीका साथसाथै सयपत्री फूलको मालाहरूसमेत प्लास्टिकको पाइने गर्छ । प्रविधिको विकासले पनि चाडपर्वहरू मनाउन सजिलो भएको छ ।
त्यस्तै बजारभरि तिहारका भाइमसलाका सामान, फूलका गुच्छा, सप्तरंगी टीका, झिलिमिली बत्ती, लक्ष्मीपूजाका सामान, रातो माटो, माटाका पाला साथै लत्ताकपडा तथा घरायसी सामानहरू बिक्री गर्न राखिएको छ । यति बेला बजार पूर्ण रूपले तात्नुका साथै बजारमा पूरै भीड बढेको छ । तिहारका लागि भनेर व्यापारीहरूले सामानहरूमा छुटको व्यवस्थासमेत गरेका छन् भने जताततै सामानहरूको सेल लागेको छ । किनकि दिदीबहिनीले भाइटीकाको दिन टीका लगाउनुका साथै दाजुभाइलाई भाइमसलाका साथसाथै लत्ताकपडा पनि दिने गर्छन् । लक्ष्मीपूजा आफ्नो घरमा मात्र नगरी सम्पूर्ण व्यवसायीहरूले आ–आफ्ना कार्यालयमा लक्ष्मी माताको पूजा अर्चना गर्ने हुनाले पनि बजारमा सामान किन्नेहरूको भीड बढी हुन्छ । अझै विशेष गरी दसैंमा अधिकांश मानिसहरू गाउँ फर्किनाले उपत्यका सुनसान बन्न पुग्छ । तर, तिहारमा सबैले आफ्नो घर तथा कार्यालयमा लक्ष्मीको पूजा गर्नुपर्ने हुनाले पनि तिहारको समयमा उपत्यकामा अर्कै रौनक हुन्छ । त्यसमाथि लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म सानासाना नानीबाबुहरू देउसी–भैलो खेल्न आएको देख्दा आफ्नो बाल्यपन पुनः ताजा हुने गर्छ । त्यसमाथि तिहारका लागि भनेर विभिन्न प्रकारका सेलरोटीहरू पकाउनुको मिठास अलग्गै छ । वर्षभरि हामी जति नै व्यस्त भएर आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई भेट गर्ने समय नपाए पनि भाइटीकाको दिन हामी जसरी भए पनि टीका अर्पण गर्नका लागि उपस्थित हुने गर्छौं ।

प्रतिक्रिया दिनुहोस्